फिलिपिन्समा मास्क नलगाई बाहिर निस्किएका व्यक्तिलाई प्रहरीद्धारा गोली हानी मारियो

एजेन्सी ।

फिलिपिन्समा सरकारले लागू गरेको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई प्रहरीले शनिबार गोली हानेर मारेको छ । ती व्यक्तिले मास्क लगाउने विषयमा त्यहाँका स्वास्थ्य अधिकारी र प्रहरीसँग झगडा गरेका थिए । दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको चेकप्वाइन्टमा मास्क नलगाई बाहिर निस्किएका ती व्यक्तिलाई स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दा उनी आक्रोशित भएका थिए ।

आक्रोशित भएका ती व्याक्तिले अपशब्द बोल्दै कर्मचारीमाथि धारिलो हतियारले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कर्मचारीलाई आक्रमण गरेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए । विश्वमै सम्भवतः भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको नियम उल्लंघन गर्ने व्यक्तिलाई गोली हानिएको यो पहिलो घटना हो ।

राष्ट्रपति रोड्रिगो दुतेर्तेले नियम उल्लंघन गर्ने जोकोहीलाई गोली हान्न सुरक्षाकर्मीलाई बुधबार आदेश दिएका थिए । उनले भनेका छन्, ‘प्रतिबन्धविना भाइरस नियन्त्रण हुँदैन, यदि तिमी यो नियम मान्दैनौँ भने अरू निर्दोष मानिसको ज्यान बचाउन म तिम्रो जीवन समाप्त गर्दिन्छु ।’ फिलिपिन्समा तीन हजार ९४ जना भाइरसबाट संक्रमित भएका छन् भने एक सय ४४ को मृत्यु भएको छ । भाइरसको संक्रमण भएकामध्ये ५७ जना निको भएका छन् ।

त्यहाँको लुजोन प्रान्त एक महिनाभन्दा अगाडिदेखि बन्द गरिएको छ भने यसबाहिरका अन्य प्रान्तहरूले भाइरसको प्रकोप फैलिन नदिन आफैँ लकडाउन गरेका छन् । फिलिपिन्सको एम्नेस्टी इन्टरनेसनलले दुतेर्तेले मानिसको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार