प्रोफाइलभित्र छिरेर, मान्छेभन्दा राम्रो फोटो छानेर, भँगेरे अक्षरमा बधाई नलेख्न अनुरोध गर्दछु ।

– नारायण गाउँले , बेलायत।

एनआरएनएका एनसिसी र आइसिसीले विभिन्न टास्कफोर्स या विषय समिति बनाएको खबर पढ्न पाइन्छ ।

धेरै मान्छे ती समितिमा हुनुहुन्छ । शायद म पनि कुनैमा हुन सक्छु । आफ्नो नाम आउनेबित्तिकै पत्रिकामा समाचार लेख्न लगाउने र त्यसलाई ट्याग र शेयर गरेर बधाई लिँदै रमाउने जमात पनि निकै ठूलो रहेछ । अझ रोचक त के छ भने हिजोसम्म समस्यै समस्या भएको लेख्नेहरू आफ्नो नाम एउटा कुनै समितिमा देख्नेबित्तिकै भयङ्कर सकारात्मक बनेर निस्केका छन् ।

न त्यो आफैमा कुनै उपलब्धि हो, न ती निर्वाचित पद हुन् । यस्ता समिति धेरै वर्षदेखि बन्दै आएका पनि छन् र तिनले धेरै माखा घाइते बनाएको सुनिएको छैन । हामी आफै पनि नयाँ, अनटेस्टेड या फ्रेस नाम होइनौं । हामी अहिंसक भएकाले हाम्रो नाममा पनि ज्यादै नै धेरै माखाको मृत्यु दर्ज छ जस्तो लाग्दैन ।

कुनै टास्क फोर्समा नाम हुनु जिम्मेबारी त हो तर बधाईको विषय हो जस्तो लाग्दैन । बनाउनेले पनि टास्क फोर्स बनाउनु नै ठूलो काम भएजस्तो मानेको पनि देखियो । यहाँ त रमाइलो के भने बनाउनेले बन्नेलाई र बन्नेले बनाउनेलाई प्रसंशा र बधाई बाँडेका छन् । खादा लगाएको तस्बीर टाँसेका छन् । तिनको काममा बधाई दिन पाइयोस् र पो !

गाईंगुईं सुन्दा म पनि कुनै टास्क फोर्समा छु जस्तो लाग्यो र यति लेख्ने हिम्मत आयो । नत्र त आफूले नपाएकाले तुष पोखेको भन्ने पनि कम हुँदैनन् ।

कतै मेरो नाम देखिएन भने हाइसुख्खै भयो, संयोगवश भेटियो भने प्रोफ़ाइलभित्र छिरेर, मान्छेभन्दा राम्रो फोटो छानेर, भँगेरे अक्षरमा बधाई नलेख्न यसै टिप्पणीमार्फ़त अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार