गगन थापाको आरोप: ‘प्रधानमन्त्री यताबाट हेरेपनि, उताबाट हेरेपनि यतीबादी’ ( भिडियो सहित )

काठमाडौँ |

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो घटनाक्रम तथा अडियो प्रकरणका बारे संसदमा आएर प्रष्ट्याउन आग्रह गरेका छन् । उनले मंगलबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् ।

सांसद थापाले प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिको सम्पादित अंश –

हामीले फागुन ९ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीचको लेनदेनको वार्तालापको अडियो सुन्यौं। यो वार्तालाप प्रधानमन्त्रीले दुई महिना अगाडि सुन्नुभएको थियो भन्ने दाबीसहित सञ्चार माध्यममा समाचार आइरहेका छन्। यस विषयमा संसदमा उभिएर आँखामा आँखा जुधाएर, नागरिक र हाम्रा प्रश्नको जवाफ दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन।

प्रधानमन्त्रीसँग हिम्मत नभएपनि संसदसँग यो हिम्मत हुनुपर्छ। सभामुख महोदयलाई मेरो ध्यानाकर्षण मात्रै होइन, संसदले यो सामर्थ्य राख्नैपर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन, ताल तलैया हेरेर बस्ने होइन, सदनमा आउनुपर्छ। संसदको रोष्टममा उभिएर हाम्रा प्रश्नको सामना गर्नुपर्छ। हामीले उहाँलाई निम्छरो होइन, गम्भिर प्रश्न सोध्नेछौं। सभामुख महोदयलाई प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन रुलिङ गर्न आग्रह गर्न चाहन्छु।

प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन। तर, उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ, प्रधानमन्त्रीको तुलो चलाउने, तुलोमा राख्दैगर्दा कसैले नभ्याउने र प्रधानमन्त्रीकै भनाईलाई आधार मान्ने हो भने काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली उहाँ नेतृत्वका सरकारका प्रवक्ताले गरेका कार्य उहाँलाई थाहा छैन भनेर हामीले पत्याइ दिनुपर्ने? हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न छ, ‘सबै कुरा तपाईंलाई थाहा छैन भने कसलाई थाहा छ?’

नागरिकहरु के भन्दैछन् सेक्युरिटी प्रेसको मात्रै होइन, स्याटेलाइट, फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सामुदायिक विद्यालयलगायत सरकारी संघसंस्थामा फ्री इन्टरनेट पुर्याउने ठेक्काका बारेमा सबै कुरा थाहा थियो। परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ।

प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक–पटक दोहर्याउनु भएको छ। तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्, ‘बालुवाटारमा ऐना छ कि छैन्?’ तपाईका पार्टीका कार्यकर्ताहरु ठुलो स्वरले बोल्न सक्दैनन्। तर, संसदको लबीमा भेट्दै गर्दा हामीलाई झिनो स्वरमा कानेखुसी गर्दै भन्छन्, ‘हाम्रो प्रधानमन्त्री पहिला पहिला मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोली यताबाट हेरेपनि, उताबाट हेरेपनि यतिवादी मात्रै देखिनुहुन्छ।’

प्रधानमन्त्री जी तपाईंले पत्तो पाउनुभयो, एमसीसीको प्रकरणमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई कसरी तह लगाइदिए? अहिले जति जालझेल गरेर होइन, होइन भनेपनि दुई दिन अगाडि मात्रै एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने विषयमा तपाईं जसरी कमजोर देखिनुभयो। त्यो देखिपछि तपाईंलाई बाहिर भन्दैछन्, ‘देखिँदा फेरी सुरो यथार्थमा विचरो हुनुहुन्छ।’

प्रधानमन्त्री जी म तपाईंको जन्मदिनको बारेका केहि भन्न चाहन्न त्यो तपाईंको व्यक्तिगत विषय हो। तर, नागरिकहरु भन्दैछन् राष्ट्रिय ठाटका साथ मनाइएको जन्मदिनले हामीलाई २०६०/०६१ सालको पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ। पूर्वराजा यसैगरी हिडिबक्सन्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो।विद्यार्थीहरुलाई आफ्नो जय जयकार गर्न लगाइबक्सन्थ्यो। र, आफ्ना भारदारलाई सोधिबक्सन्थ्यो एक दुई जना मानिसहरु यता उता विरोध गरिरहेका त छैनन् नि? भारदारले भन्थे, ‘महाराज सबै ठिक छ, एक दुई जना मानिस मात्रै विरोध गरिरहेका छन्।’

अहिले प्रधानमन्त्रीले जन्मोत्सव मनाउँदा पछि लागेको भिडभाडले पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएका छन्।

यस्ता विषय प्रधानमन्त्रीले थाहा पाउनु भएको छ कि छैन मलाई थाहा छैन। तर, थाहा पाएर पनि न थाहा पाए जस्तो गर्नुभएको छ भने त्यो पाप हो। यी कुरा थाहा पाउनु भएको छैन् भने तपाईंको अक्षमता हो। संख्या तपाईंसँग होला प्रधानमन्त्री जी। तर, शासन गर्ने बलिदान, योग्यता, क्षमता भने अब गुमाइसक्नुभयो। तसर्थ सम्माननीय प्रधानमन्त्री जी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाई स्वास्थ्यलाभ गर्न गइदिनुस्। धन्यवाद !

(थापाले मंगलबारको प्रतिनिधिसभाको बैठकमा व्यक्त गरेको धारणाको सम्पादित अंश)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार