एभरेष्ट एकेडेमीको नेपाल स्टीम एक्पो एण्ड च्यालेन्जको दोश्रो संस्करण सम्पन्न !

कैलाली।

गोदावरी नगरपालिका कैलालीको आयोजना तथा एभरेष्ट एकेडेमीको आयोजनामा नेपाल एक्पो एण्ड च्यालेन्जको दोश्रो संस्करण सम्पन्न भएको छ । एक्पो एण्ड च्यालेन्ज तीन दिन सम्म सञ्चालन भएको हो ।

माघ २९ गते पहिलो दिन स्टीम सेमिनार तथा फागुन १ र २ गते दोस्रो र तेस्रो दिन एक्पो एण्ड च्यालेन्ज सञ्चालन भएको हो । कैलाली तथा कञ्चनपुर जिल्लाका निजि तथा सामुदायिक गरी २२ वटा विद्यालयका ११५ भन्दा वढी विद्यार्थीहरु सहभागि भएका थिए ।

स्टीम शिक्षा सेमीनार :

माघ २९ गते नेपाल एक्पो तथा च्यालेन्जको पहिलो दिन स्टीम शिक्षा सेमिनारको एभरेष्ट एकेडेमीको हलमा आयोजना गरियो । सेमिनारका मुख्य प्रस्तोता राष्ट्रिय विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ बैज्ञानिक सुरेन्द्र कुमार ढुंगेल, स्टीम विज्ञ तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बाल चन्द्र लुँइटेल तथा माइ स्टेम ल्याब दिल्लीका रवि झा रहेका थिए ।
सेमिनारमा स्टीम शिक्षा के हो तथा यो एक्काइसौं शताव्दीमा किन आवश्यक छ भन्ने बिषयमा छलफल गरियो । सेमिनारमा विभिन्न विद्यालयका प्रधानाध्यापक, विज्ञान, गणित तथा अन्य विषयका शिक्षकहरु, अभिभावक तथा विद्यार्थीहरु सहभागी थिए ।

यस कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका मेयर हसि सिंह साउँदले गर्नु भएको थियो भन् अध्यक्ष्यता प्रवक्ता शर्मानन्द भट्टले गर्नु भएको थियो । विशिष्ट अतिथिमा उप मेयर रत्ना कठायत रहनु भएको थियो ।

स्टीम एक्पो तथा च्यालेन्ज परियोजना :

स्टीम एक्पो तथा च्यालेन्जमा सहभागी भएका २२ विद्यालयका नानीहरुले विभिन्न विधाका योजनाहरु प्रदर्शनीमा राखेका थिए । जस अन्तरगत विभिन्न किसिमको समस्या समाधान गर्न नयाँ खाल सिर्जनाहरुलाई विज्ञान प्रविधि कला मार्फत प्रस्तुत गर्ने जमर्को गरेका थिए ।

हाइड्रोलिक ढिकी, स्मार्ट सीटी, एग्रीकल्चर तथा मेडीकल ड्रोन, स्मार्ट वाटर सेभिङ्ग प्रविधि, ट्री हाउस, स्मार्ट हाउस, टुरिजम सीटी, स्मार्ट स्कुल, सडक दुर्घटना न्युनीकरण प्रविधि, औद्योगिक ठोस फोहोर नियन्त्रण, फुड सर्भिङ्ग रोवोट, लाइफाइ, सुधारिएको चुलो, स्मार्ट फार्म हाउस आदि परियोजना प्रस्तुत गरेका थिए ।

‘अल आर युनिक’ सिद्धान्त अनुसार पुरस्कारको व्यवस्था :

सबै बालबालिकाहरु कुनै न कुनै किसिमको क्षमता निहित हुन्छ । सबैको आफ्नै खालको विशेषता हुन्छ भन्ने सिद्धान्तलाई आधार मानी पहिलो दोस्रो स्थान तेस्रो हुने परम्परागत मुल्याँकन गर्ने तरीका भन्दा विधा अनुसार मुल्याँकन विधि अपनाइयो ।

जसका लागि स्टीम एक्पो तथा च्यालेन्ज गरी दुई किसिमका प्रतियोगिता सामेल गरिएको थियो । स्टीम एक्पो अन्तरगत विद्यार्थीहरुले विद्यालयमै परियोजना तयार पारेको योजना प्रदर्शन गर्नु पर्ने तथा स्टीम च्यालेन्ज अन्तरगत कार्यक्रम स्थलमै योजना तयार पार्नु पर्ने रहेको थियो ।

स्टीम एक्पो अन्तरगत साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ्ग तथा आर्टस गरी चार विधामा पुरस्कारको व्यवस्था रहेको थियो । त्यसै गरी स्टीम च्यालेन्ज अन्तरगत कम्युनिटी इम्प्याक्ट, टीम वर्क, क्रियटीभीटी, कन्सेप्ट,पे्रजेन्टेशन तथा प्रोव्लम सोल्भिङ्ग गरि ६ विधामा पुरस्कारको व्यवस्था रहेको थियो ।

प्रतियोगितामा सक्रियता पुर्वक सहभागि भइ पुरस्कार जित्ने विद्यालयहरु दशवटा रहेका छन् । एक्पो अन्तरगत पुरस्कृत हुने विद्यालयहरुमा विज्ञान विधामा बाल रुपान्तरण विद्यालय आइवीआरडी, कञ्चनपुर, प्रविधि विधातर्फ सार्क एजुकेशन फाउण्डेशन, महेन्द्रनगर, कला विधातर्फ कैलाली मोडेल स्कुल, धनगढी, ईञ्जिनीयरीङ्ग विधातर्फ सरस्वती मावि, गेटाले पुरस्कार हात पारेका छन् ।

अर्को च्यालेन्ज विधा अन्तरगत पुरस्कृत हुने विद्यालयहरुमा कम्युनिटी इम्प्याक्ट तर्फ समैजी मा वि, मजगाउँ, टीम वर्क तर्फ सरस्वती मा.वि. गेटा, क्रियटीभीटी तर्फ जेके माध्यमिक विद्यालय अत्तरीया, कन्सेप्ट तर्फ कञ्चनजंघा माध्यमिक विद्यालय, गुलरीया, प्रेजेन्टेशन तर्फ क्यास्पियन एकेडेमी, प्रोव्लम सोल्भिङ्ग तर्फ पञ्चोदय मा वि, धनगढी विजेता भएका छन् ।

त्यसै गरि मोष्ट इन्टरप्राइजिङ्ग अवार्ड अन्तरगत स्टीम एक्पो तर्फ एक्सीस विद्या आश्रम धनगढी तथा स्टीम च्यालेन्ज तर्फ सरस्वती मा वि, गेटा विजयी भएका छन् ।

स्टीम एक्पो अन्तरगतका हरेक विधाहरुमा तीन हजार ५ सय, स्टीम च्यालेन्ज अन्तरगतका हरेक विधाहरुमा पाँच हजार रुपैयाँ तथा मोष्ट इन्टरप्राइजिङ्ग विधा अन्तरगत पाँच हजार रुपैयाँ पुरस्कार राशि रकम विजेता विद्यार्थीहरुले प्राप्त गरेका थिए ।

त्यसै गरि रोवोटिक्स कार रेसिङ्ग अन्तरगत सरस्वती माध्यमिक विद्यालय प्रथम तथा रिज एकेडेमी कलुवापुर द्धितिय स्थान प्राप्त गरेका छन् ।

निर्णायक मण्डल :

प्रतियोगितालाई निष्पक्ष बनाउन एक दर्जन बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुको समिति युवा बैज्ञानिक डा. प्रेम साउँदको संयोजकत्वमा गठन गरिएको थियो । जसमा राष्ट्रिय विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका वरिष्ठ बैज्ञानिक सुरेन्द्र कुमार ढुंगेल, स्टीम विज्ञ तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बाल चन्द्र लुँइटेल, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका बैज्ञानिक विरेन्द्र चौधरी, माइ स्टेम ल्याव दिल्लीका रवि कुमार झा, कैलाली बहुमुखी क्याम्पसका अध्यापक प्रकाश पन्त, विज्ञान शिक्षक गोविन्द धामी, संचार प्रविधि विज्ञ पुष्कर शर्मा जोशी, सीटीएफका प्रशिक्षक हरिश डीसी, विज्ञान शिक्षक गोविन्द भट्टराई, स्टीम इन्ट्रक्टर किरण भट्ट आदि रहेका थिए ।

तीन सय बढीलाई भोजनको व्यवस्था:

सहभागी विद्यार्थी, शिक्षक, निर्णायक मण्डल, स्वयंसेवक लगायत केही विषेश पाहुनाहरुलाई दुई दिन सम्म तीन सय जनालाई नास्ता तथा खानाको व्यवस्था गरिएको थियो । बेलौरी तथा पुनर्वास कञ्चनपुरबाट सहभागीहुने चार वटा विद्यालयका सहभागीहरुलाई बासको पनि व्यवस्था गरिएको थियो ।

तीन हजार बढीले गरे स्टीम एक्पो एण्ड च्यालेन्ज अवलोकन :

विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक, अभिभावक तथा स्थानीय शिक्षाप्रेमी गरी करीब तीन हजार भन्दा बढी दर्शकहरुले एक्पो तथा च्यालेन्ज कार्यक्रमको अवलोकन गरेका छन् । दुई दिनको अवधिमा १४ वटा विद्यालयले विद्यार्थीहरुलाई कार्यक्रम अवलोकन गराएका छन् । अवलोकन गर्ने विद्यालयहरुमा सिद्धबाबा माध्यमिक विद्यालय गेटी, सरस्वती माध्यमिक विद्यालय गेटा, विद्याभुषण माध्यमिक विद्यालय गेटा, घण्टेश्वर माध्यमिक विद्यालय अत्तरीया, गुहेश्वरी माध्यमिक विद्यालय बसन्तपुर, राष्ट्रिय माध्यमिक विद्यालय बल्मी, राष्ट्रिय माध्यमिक विद्यालय बासकोटा, महाकाली माध्यमिक विद्यालय गुलरिया, दुर्गालक्ष्मी माध्यमिक विद्यालय दहल, लिटल च्याम्प अत्तरीया, समैजी माध्यमिक विद्यालय मजगाउँ, अत्तरीया टेक्नीकल कलेज अत्तरीया , कञ्चनजंघा माध्यमिक विद्यालय गुलरीया र दुर्गा भवानी माध्यमिक विद्यालय जमुनानगर रहेका छन् ।

सहयोगी संस्थाहरु :

यस स्टीम एण्ड एक्पो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्ने सहयोगीहातरुमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), माइ स्टेम ल्याव दिल्ली, प्यावसन गोदावरी, रोबोटिक्स एशोसियसन अफ नेपाल फारवेष्ट, क्लासिक ग्रुप,हेल्पिङ्ग हेण्डस्, सीटीएफ नेपाल तथा सहयोगी हातहरु धनगढी रहेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार