नेपालबाट पोर्चुगल आउँदै हुनुहुन्छ ? ल्याउँदै नल्याउनुस् यी सामानहरु ! कानुनी झंझट मात्रै होइन, जेल सजायसम्म हुनसक्छ !

कुनै पनि ठाउँमा जानुभन्दा पहिला त्यो ठाउँको बारेमा जान्नु बुझ्नु निकै महत्वपूर्ण कुरा मानिन्छ । धेरैजस्ता मानिसहरु भ्रमण गर्नु अगाबै यो कुराको हेक्का राख्दछन तर कतिपयलाई भने यो कुराको ज्ञान नहुँदा ब्यर्थैमा दुःख पाइरहेका छन्।

यदि तपाई पनि काम, व्यापार, परिवार र साथीभाई भेटघाट अथवा यही पढाई तथा कामका का लागि होस् या छुट्टिमा नेपाल गएर फर्कदा होस् सामानसहितको लगेज बोकेर पोर्चुगल आउँदै हुनुहुन्छ भने आफ्नो झोला प्याक गर्नुअगावै यी कुराहरुमा राम्रो ध्यान दिनुहोला ताकि तपाइलाई भन्सारमा झन्झट नहोस र यात्रा सफल रहोस ।

१. फलफुल र तरकारीजन्य बस्तुहरु:

प्राय गरि बनस्पतिजन्य कुराहरु कुनैपनी देशमा लैजानु परेका खण्डमा विशेष स्वीकृति लिनुपर्ने हुन्छ । पोर्चुगलमा पनि विना अनुमति तरकारी तथा फलफुलका बोटबेर्नाहरु ल्याउन पाइँदैन।यदि तपाई पोर्चुगल आउदै हुनुहुन्छ र साथमा ताजा तरकारी, फलफुल, आदि ल्याउदै हुनुहुन्छ भने होस् गर्नुहोस। तपाईले लिएर आउन लाग्नुभएको समानमा पोर्चुगलमा नपाइने हानिकारक किटाणुहरु हुनसक्छन्। अर्को कुरा के पनि छ भने हामीले ल्याउन लागेका सामानहरुमा त्यहाँको माटो पनि संगै आउनेहुँदा विशेष ख्याल राख्नु पर्छ ।

नेपालीहरुको हकमा हेर्ने हो भने थाहा नभएकै कारण भांग मिसिएका अचार लिएर आउँदा समस्यामा परेका उदहारणहरु प्रसस्त छन्, किन कि भांग अन्तराष्ट्रिय कानुनमा लागु पदार्थ ( ड्रग्स ) मानिन्छ। अन्तराष्ट्रिय उडानमा भांग लागेकै कारण कयौ नेपाली बिदेशी जेलमा छन् ।

 

२. मासु :

बाहिरबाट ल्याइएका मासुजन्य पदार्थसंगै रोगका किटाणु पनि पोर्चुगल प्रवेश गर्नसक्ने भएकाले र त्यसले महामारी समेत फैलनसक्ने भएकाले मासु ल्याउन प्रतिन्धित छ । कुनैपनि कुरा जस्तै मासु, अण्डा, हड्डी, रगत, रौँ, भुत्ला, सिङ्ग, दिसा, पिसाब, दुध आदि तपाईको झोलामा भेटिएका खण्डमा एयरपोर्टमा विशेष जाँच गरिन्छ । यस्ता बस्तु छन् भने त्यो सामानसंग सम्बन्धित प्रमाणपत्र अनिवार्य बोक्नुका साथै र एयरपोर्ट क्लियरेन्स गरेकै हुनुपर्छ ।

३. लोपुन्मुख प्रजाति :

तपाईसंग झोलामा कुनै लोपुन्मुख प्रजातिका जनावर तिनका अंग, रौँ, बनस्पति जस्ता कुरा छन भने त्यो पनि गैरकानुनी हो । कुनै एउटा देशमा लोपुन्मुख प्रजातिमा सुचिकृत नभएको अर्को देशमा लोपुन्मुख प्रजाति हुनसक्छ। अन्तराष्ट्रिय हवाईमा विभिन्न देशको यात्रा र ट्रान्जिट गर्दै जानुपर्ने भनेकोले हरेक देशको अवस्था फरक हुनसक्छ । लोपोन्मुख प्रजातिभित्र के पर्छन भन्ने थाहा पाउन चाहानुहुन्छ भने यो वेवसाइट हेर्न सक्नुहुन्छ ।

लोपुन्मुख प्रजाति के के हुन् ?

४. लागुपदार्थ :

तपाईसंग आफ्नो लगेजमा कुनै पनि किसिमका लागुपदार्थ छन् भने होस् गर्नुहोस। पोर्चुगलमा यसको कानुन निकै कडा छ । गाँजा ,हाशिस, कोकिन, मेथ, ब्राउन सुगर जस्ता लागुपदार्थ तपाईसंग भेटिएमा पोर्चुगल र युरोपको कानुन अनुसार सजाय पाउनुहुन्छ । साथीभाईको सामान नेपालबाट विदेश लगिदिने र विदेशबाट साथीभाईको घरपरिवारमा सामान लगिदिने गर्दा सामानको पोकोमा लागुपदार्थ भेटिएपछि विदेशको जेलमा परेका नेपालीहरुको संख्या निक्कै ठुलो छ।

भरसक अन्तराष्ट्रिय हवाई यात्रा गर्दा अरुको सामान बोक्दै नबोक्नुस् , तर पनि साथीभाई आफन्तलाई इमर्जेन्सीमा सहयोग गर्दा औषधि र कागजपत्र बोक्दा पनि निकै ध्यान दिनुपर्छ। कुनै एक देशमा सहजै पाउने औषधि अर्को देशमा बन्देज गरिएको हुन्छ, र कानुनी झन्झट झेल्नुपर्ने हुनसक्छ।

पोको पारेर शिलबन्द भएको अरुको सामान बोक्दै नबोक्नुस। पोकोभित्र के छ , कसलाई के थाहा ? पोको खोलेर सामान एकएक हेरेर अन्तराष्ट्रिय कानुनमा अनुमति भएका सामानहरु मात्रै बोक्नुहोस्। साथीभाईले दुख मान्ला कि भनेर सोच्नुहुन्छ भने पछि आफै दुख पाउनपनि सक्नुहुन्छ।

५. हातहतियार :

पोर्चुगलमा कानुनी प्रक्रिया पुरा गरेर बन्यजन्तु शिकार गर्न हतियार राख्नसक्ने व्यवस्था छ तर सो अनुमति पाउन भने सहज छैन । व्यक्तिगत सुरक्षाका लागि हतियार र बन्दुकहरु राख्न पाउने कानुन पोर्चुगलमा छैन। पोर्चुगल आउँदा तपाईसंग कुनै हतियार, बन्दुक, बम र सो संग सम्बन्ध राख्ने कुनैपनि किसिमका कच्चापदार्थ भेटिएमा निक्कै दुख पाउनुहुनेछ ।

६. नक्कली सामान :

ओरिजिनल जस्तै देखिने तर नक्कली र कमसल सामानहरु जस्तै ब्रान्डेड ब्याग, कपडा, घडी आदि धेरै संख्यामा ल्याउदै हुनुहुन्छ भने पनि सचेत हुनुहोस । तपाईलाइ सजाय मात्र हैन कि तपाईका सामानहरु सबै जफत हुन्छ ।

७. अश्लिल भिडियो तथा किताब :

अश्लिल भिडियो, म्यागेजिन तथा किताब, पत्रिका र बालयौनसंग जोडिएका कुराहरु पोर्चुगल लिएर आउन पाईदैन । साथसाथै पाइरेटेड सिडीहरु, सफ्टवयरहरु पनि पोर्चुगल ल्याउनु गैरकानुनी मानिन्छ । यस्तो भेटिएमा सजायमात्र नभई तपाईले नगद जरिवाना र जेलसम्मको सजाय हुनसक्छ।

 

अघिल्लो बर्ष पोर्चुगलमा रहेका एक नेपालीले ब्राजिलबाट प्रकाशित एक भिडियो सामाजिक संजाल फेसबुकमा शेयर गर्दा बालहिँसालाई बढावा दिएको भन्दै पक्राउ मात्रै परेनन्, महिनौसम्म प्रहरी चौकीमा तारेख धाउन बाध्य भए।

९. नक्कली पैसा र अरुको नामको रेसिडेन्सी कार्ड, पासपोर्ट र क्रेडिट कार्ड :

तपाई जहाँबाट आउन लाग्नुभएको भएपनि नक्कली पैसा वा अरु कसैको नाममा जारि भएको क्रेडिट कार्ड तपाईको साथमा भेटिएमा पोर्चुगलको कानुन अनुसार सजाय पाउने निश्चित छ । यस विषयमा पनि सचेत रहनुहोस् ।

यसबाहेक तरवार, हावामा चलाईने बन्दुक, धेरै मात्रामा औषधी , कस्मेटिक सामान जस्ता सामाग्रीहरुको लागि पनि विशेष अनुमति पत्रको आवश्यकता पर्दछ । त्यसैले तपाईले आफ्नो यात्रा सुरु गर्नु अगावै यी साधारण तर महत्वपूर्ण कुराको जानकारी लिइराख्नुभयो भने तपाईको यात्रा सहज बन्नेछ र अनावश्यक झन्झटबाट बच्नुहुनेछ ।

नेपालदेखि पोर्चुगल र पोर्चुगलदेखि नेपालसम्मको तपाइको यात्रा सफल र सुखमय रहोस् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार