विदेशी दानले को समृद्ध भएको छ ?

विदेशी दानले को समृद्ध भएको छ ? भनेर 'मोटिभेश्नल स्पिकर' बन्नुअघि निम्न कुराहरूमा स्यानो नजर पुऱ्याउनुहोला है !

– नारायण गाउँले

विदेशी दानले को समृद्ध भएको छ ? भनेर ‘मोटिभेश्नल स्पिकर’ बन्नुअघि निम्न कुराहरूमा स्यानो नजर पुऱ्याउनुहोला है !

-जापानी सहयोगमा बनेको कर्णाली पुलमा फोटो खिचेर फेसबुकमा राख्नुहुन्छ, जापानी सहयोगकै विपि राजमार्ग हुँदै उसैको सहयोगमा बनेको नयाँ बसपार्कमा झर्नुहुन्छ । बिरामी हुनुभो भने उसैको सहयोगमा बनेको टिचिङ् हस्पिटल पुगेर उपचार गर्नुहुन्छ । अनि भन्नुहुन्छ, दानले कोही समृद्ध हुन्छ ?

-भारतको सहयोगमा बनेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वभ्रमण गर्नुहुन्छ । भारत, बेलायत र रसियाजस्ता देशको सहयोगले बनेको महेन्द्र राजमार्गबाट काठमाडौं आउनुहुन्छ । भारतकै सहयोगमा बनेको त्रिभुवन राजमार्गबाट पहिलोपल्ट तराई र काठमाडौं जोडिएको पढ्नुभएको छ । त्यो बाटो अमलेखगञ्जको ट्रेन स्टेशनसम्म पुग्थ्यो र त्यहाँ अलि अस्तिसम्म नेपाली रेल चल्थ्यो । भारतकै सहयोगमा त्यो रूटमा फेरि रेल चल्दै छ । भोलि ठूलो अक्षरमा फूलबुट्टा भरेर बधाई लेख्ने तपाईं नै हो । वीर हस्पिटल त पुग्नुभएकै छ । इण्डियाकै सहयोगमा बनेको सिद्धार्थ राजमार्गबाट बुटवलदेखि स्याङ्जा हुँदै पोखरा पुग्नुहुन्छ र फेसबुकमा लेख्नुहुन्छ, विदेशी सहयोगले कुन देश समृद्ध भएको छ ?

-आज पनि नेपालमा ट्रली बस चल्थ्यो भन्ने सुनेर गर्व लाग्छ । त्यसले काठमाडौंलाई भक्तपुरसँग जोड्थ्यो । चीनले गिफ्ट दिएको ट्रली बस होस् या उसैको सहयोगमा बनेको खासा जोड्ने अरनिको राजमार्ग होस्, तपाईंको नजरमा समृद्धिका आधार होइनन् भने चीनकै सहायतामा बनेको एकमात्र अन्तर्राष्ट्रिय सभागृहलाई हेर्नुहोस् । राष्ट्रिय सभागृह पनि त्यतैको दानले बनेको रहेछ । कति धेरै रोडहरू उसले बनाइदिएको छ । जुत्तादेखि ईंटा बनाउनेसम्म कति धेरै फ़्याक्ट्रीहरू चिनियाँ सहयोगमा बनेका थिए जसलाई हामीले राजनैतिक स्वार्थको साधन बनायौं । अनि भरतपुर क्यान्सर हस्पिटल ?

-अमेरिकी सहयोगमा बनेको बालाजु औद्योगिक क्षेत्रदेखि आज उन्मूलन भएका महामारी फैल्याउने रोगहरूबारे हामीले पढेकै छौं । सानोभन्दा सानो विकासका लागि पनि वैदेशिक सहायता प्रयोग हुँदै आएको छ । कति धेरै जलविद्युत् आयोजना, कति धेरै सड़क, कति धेरै शहरी आधारभूत संरचना र कति धेरै स्वास्थ्य क्षेत्रका पूर्वाधार विदेशी सहयोगमा बनेका छन् भन्ने यो सानो टिप्पणीमा पक्कै अटाउने कुरो भएन ।

-देशको विकास बजेट आज पनि पूर्णतः ऋण र वैदेशिक सहायतामा निर्भर छ । देशको आम्दानीले तलबभत्ता जस्तो चालू खर्च पनि धान्दैन । अलिकति सहयोग त तलबमैं पनि जान्छ ।

-नेकपाको हुनुहुन्छ भने आज भयङ्कर समृद्धि आएजस्तो लाग्छ, कांग्रेसको हुनुहुन्छ भने आज ठप्प भए पनि हिजो विकासको गण्डकी नै बगेजस्तो लाग्छ । के त्यो विकास या विश्व चकित पर्ने समृद्धि नेताको गोजीबाट आएको हो ?

के सड़क, एअरपोर्ट, विद्युतीकरण, एम्बुलेन्स, खानेपानी, सिञ्चाइ, हस्पिटलजस्ता माथिका पूर्वाधारहरू समृद्धि होइनन् ? समृद्धि भनेको के हो ? हामीले देश बनाउने भनेर विचार त बाहिरबाट ल्याएका छौं । जर्मनीबाट मार्क्सवाद, रसियाबाट लेलिनवाद र चीनबाट माओवाद व्यक्तिको तस्बीरसहित आएका छन् । बेलायतदेखि इण्डियासम्मबाट संसदीय मोडलहरू आएका छन् ।

समृद्धि दानले मात्रै हुँदैन । भए पनि त्यो क्षणिक हुन्छ । गर्ने आफैले हो । तर, कम्तिमा कसैबाट लिएका छौं भने धन्यवाद भन्न कन्जुस्याइँ गर्नु हुँदैन । आँखा चिम्लेर नेताको होमा हो मिलाउँदै मागेर को धनी भएको छ र ? भन्ने भावुक र सस्तो नारा लगाउनुअघि सत्य त थाहा हुनै पर्छ । आज हामी उभिएको समृद्धि मागेरै आएको समृद्धि हो । राजाले मागेर सड़क नबनाएको भए हामी इण्डिया हुँदै हिँड्नुपर्थ्यो । राजाले मागेर हस्पिटल नबनाएको भए शायद तपाईं या ममध्ये कुनै उपचार नपाएर अघि नै..। सोच्नुस् त राजाले मागेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नबनाएको भए हाम्रो जम्बो संसद कहाँ बस्थ्यो ? झन्डै तीन खर्ब नमागेको भए धरहरालगायतका पुनर्निर्माण कसरी हुन्थ्यो ?

हो, जापान, भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रसिया, अस्ट्रेलिया जस्ता देशले हामीलाई धेरै क्षेत्रमा सहयोग दिँदै आएका छन् । हामीले पूर्ण सदुपयोग गर्न नसकेकाले त्यसबाट सोचे जति समृद्धि नआएको होला, तर अहिलेसम्म जे जति भएको छ, त्यसमा मागेकै अंश बढ़ी छ । भोलि माग्न नपरोस् र दिन पाइयोस् ।

भनेर ‘मोटिभेश्नल स्पिकर’ बन्नुअघि निम्न कुराहरूमा स्यानो नजर लगाऔं।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार