एनआरएनए युकेमा ब्रम्हलुट : १३ हजार सदस्यको नाम र ठेगाना कम्प्युटर इन्ट्री गर्न ४५ लाख खर्च !

– नारायण गाउँले , बेलायत।

१३ हजार सदस्यको नाम र ठेगाना कम्प्युटरमा चढ़ाउन कति समय र खर्च लाग्दो हो ? त्यो पनि गैरनाफामूलक सामाजिक संस्थामा ?

एनआरएनए युकेले तीस हजार पाउण्ड भन्दा बढ़ी अर्थात् करिब ४५ लाख रुपियाँ यसै शीर्षकमा खर्च देखाएको छ । त्यसमा डिजिटलाइज्ड एनआरएनको नाममा खर्च गरिएको दश लाख पनि जोड्ने हो भने यो ५५ लाख रुपियाँ हुन्छ ।

एक मिनेटमा एउटा मात्रै नाम कम्प्युटरमा राख्न सकिन्छ भन्ने हो भने पनि १३ हजार नाम चढ़ाउन २२० घण्टा जति लाग्दो रहेछ । घण्टाको £१० पाउण्डका दरले करिब £२२०० मा यति काम हुनुपर्ने हो । नाम र एक लाइनको पोस्टकोड (ठेगाना) मात्रै इन्ट्री गरिएको छ र सामान्यतया ढिलोमा पनि एक मिनेटमा तीनवटा इन्ट्री गर्न सकिन्छ । समग्रमा £७५० मा हुनसक्ने कामका लागि त्यति ठूलो रकम खर्च देखाइएको रहेछ ।

र यस्तो भुक्तानी प्रोफेशनल संस्थालाई नभएर चिनजानका आफन्त या व्यक्तिका नाममा गएको देखिन्छ । चार हजार पाउण्ड भन्दा बढ़ी त ‘विविध खर्च’ भनेर एउटै व्यक्तिले बुझेका छन् । त्यो विविध के हो भन्ने खुलेको छैन ।

अझ रोचक त त्यत्रो पैसा खर्चेर पनि जहाँ त्यो इन्ट्री हुनुपर्ने हो त्यहाँ भएको छैन । त्यो अन्तै गरिएको इन्ट्रीले केन्द्रमा मान्यता नपाउने भनेर केन्द्रले भनेको छ र केन्द्रबाट प्राप्त हुने आइडी कार्ड पनि इन्ट्री नै नभएपछि पाउने कुरो भएन । अहिले छापिएको आईडी कार्ड सामान्य पेपरबाहेक केही होइन । न त्यसमा बारकोड छ, न सिरियल नम्बर छ, न त्यसलाई केन्द्रको मान्यता छ ।

मुछेन्द्र गुरुङ जीको कार्यकालले थोरै आम्दानी गरे पनि नेपाल हाउसको फण्डसहित झन्डै ८० हजार पाउण्ड नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेको थियो । आइडी कार्ड छाप्ने प्रिन्टर पनि किनिएको थियो र त्यसबाट सस्तो र सुलभ रूपमैं कार्ड छाप्न सकिन्थ्यो । धेरै जसो सदस्यता अनलाइन नै भएकाले त्यो डिजिटलाइज्ड नै थियो । त्यो बेला संस्थाको पैसा एक रुपियाँ पनि जथाभावी खर्च गर्न हुन्न भनेर आफै खटिएर डेटा इन्ट्रीदेखि चुनाबको तयारीसम्म साह्रै थोरै ख़र्चमा सम्पन्न गर्न कार्यसमिति सदस्य मिलन गुरुङ जी लाग्नुभएको याद छ ।

पछि आएको कार्यसमितिले उहाँले मिहिनेतपूर्वक केन्द्रको एमआईएस सिस्टममा निःशुल्क बनाएको वेवसाइट र डेटालाई बाईपास गरेर नयाँ डिजिटलाइज्ड एनआरएनए बनाउने र अनलाइन चुनाब गर्ने भनेर दश लाख रुपियाँ खर्चेर नयाँ वेवसाइट बनायो । तर परिणाम उल्टो डेटा इन्ट्रीका नाममा लाखौं खर्च गर्ने गरी आयो ।

शुरुमा कोषाध्यक्ष सचिन श्रेष्ठ जी लड्नुभो । अनावश्यक खर्च नगरौं भन्ने मात्रै होइन, कति भुक्तानिका अनुरोधलाई उहाँले अस्वीकार पनि गर्नुभो । म त्यसको साक्षी छु । तर सधैँ अध्यक्ष र सहकर्मीसँग लड्ने र दबाब झेल्ने कुरो पनि भएन । अन्तिमतिरको एक लाख पाउण्ड भन्दा बढ़ी रकम त ब्याङ्कमैं नगई अध्यक्ष योग फगामीजीबाट सोझै खर्च भएको देखिन्छ । कार्यसमिति विघटनकै अवस्थामा रहेकाले र कार्यालय छिर्ने अनुमति नभएकाले अध्यक्षकै विवेक र अधिकारमा भुक्तानीहरू भएको रिपोर्ट हेरेपछि थाहा भयो ।

म पनि सोही कार्यसमितिको सचिब भएकाले यस विषयमा केही लेख्नु मेरो दायित्व सम्झेर लेख्दै छु । कुनै अमुक व्यक्तिप्रति आरोप या लाञ्छना लगाउने उद्देश्य मेरो छैन । तर, एउटा सामाजिक संस्थामा केही पनि उल्लेख्य काम नगरी खाना, चुनाब, खादा, भोज, विविध खर्च, स्पोन्सरसिप, पर्सनल खर्च जस्तो शीर्षकमैं दुई करोड़भन्दा बढ़ी रकम खर्च हुनु दुःखलाग्दो छ ।

अझ धेरै मान्छेले बुझाएको रकम त कतै देखाइएको छैन । सदस्यता फार्म र पैसा बुझाएका तर सदस्यता नपाएका मान्छे सयौं छन् । सदस्यता भएर पनि चुनाबको अघिल्लो रात लिस्टबाट हटाइएका र भोट हाल्न नपाएका धेरै सदस्य छन् । कतिले त यो पोस्ट पढेर कमेन्ट पनि गर्लान् ।

आर्थिक रिपोर्ट आएको छ । कसले कहाँ कुन शीर्षकमा कति रकम बुझेको छ भन्ने त्यहाँ स्पष्ट छ । रकम बुझेको भन्नु ‘खाएको’ भन्ने नै नहुन सक्छ तर अस्वाभाविक देखिने खर्चमा प्रश्न उठाउनु साधारण सदस्यदेखि शुभचिन्तकसम्म सबैको कर्तव्य हो । वर्तमान अध्यक्ष पुनम गुरुङ जी पनि अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । चर्को नभए पनि उहाँको आबाज मसँग मिल्थ्यो । अनावश्यक खर्च नगरौं भन्ने उहाँको पनि लाइन थियो । अब निगेटिभ ब्यालेन्ससितको संस्था उहाँसँग छ । उहाँले कत्तिको साहस देखाउनुहुन्छ र छानबिन गर्नुहुन्छ भन्ने हेर्न बाँकी छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार