पोर्चुगल : समुन्द्री छालले बगाएर एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु , सिंगो नेपाली समुदाय शोकमा !

लिस्बन।

पोर्चुगलको समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको मृत्यु भएको छ। कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाएर दाजुभाई नै समुन्द्री छालमा बेपत्ता भएका थिए।

घटना आइतवार दिउसोको हो। घटनाको जानकारी स्थानीय प्रहरीलाई दिनको १:४१ बजे प्राप्त भएपश्चात् समुन्द्री छालमा हराएका नेपाली दाजुभाईको खोजीकार्यका लागि कास्काइस लाइफगार्ड स्टेशन र मेरीटाइम पुलिसमार्फत अल्काबिडेचे फायर फाइटरको टोली उद्धारमा खटिएका थिए ।

घटनास्थल निकै नै जटिल र चट्टान नै चट्टानको क्षेत्र भएकोले उद्धारमा निकै कठिनाई भएको र स्पीडबोटहरूको प्रयोग गर्न पहुँचयोग्य नभएको उद्धारकर्मीहरुले जनाएका छन् ।यसै कारणले गर्दा उद्धारको लागि समुद्री प्राधिकरणको वाटरक्राफ्ट परिचालन गरिएको थियो।

समुन्द्री छालमा हराएका दुबै दाजुभाईलाई खोजी गरेर पानीबाट बाहिर निकाल्दा दुबैको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धादिङ थानेबास गाउँपालिका घर भै हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइबा रहेका छन् ।

कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु नाै महिनाअघि पोर्चुगलमा आएर रेष्टुरेन्ट व्यवसाय गर्दै आईरहेका थिए ।

तामाङ् दाजुभाईको मृत्युले पोर्चुगलको सिंगो नेपाली समुदाय शोकमा डुबेको छ।

झण्डै एक किलोमिटर वरसम्म छाल आउने यो क्षेत्रलाई पोर्चुगिजले ‘नर्कको मुख’ भन्ने गर्छन् । त्यसैले ठाउँको नाम नै ‘बोका दि इन्फेर्नो’ राखिएको छ। पोर्चुगिज भाषामा बोका भनेको मुख हो भने इन्फेर्नो भनेको नर्क हो। यसअघि पनि गर्मीको बेला माछा मार्न र पौडी खेल्न आउनेलाई छालले लगेका कयौ घटना घटेका थिए।

बोका डो इन्फर्नो पर्यटन स्थल हुनुका साथै माछा मार्न पनि त्यत्तिकै प्रख्यात छ। स्थानीय प्रशासनले सो क्षेत्रमा जाने सबैलाई आधिक सावधानी अपनाउन सचेत गरेको छ। झट्ट हेर्दा सामान्य लाग्ने पोर्चुगलका समुद्री किनारमा जान हुने नहुनेबारे राम्रोसँग बुझेर मात्रै छेउछाउमा रमाइलो गर्न, हिँड्न, गर्मीको बेला पौडिनु पर्छ। शँकै नभएको ठाउँमा ठूलठूला छाल आएर वर्षेनी धेरे पोर्चुगिजले ज्यान गुमाउँनु परेको छ।

Photo: Bruno Colaço

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार