नेपाल भ्रमण बर्ष २०२० नाममा मात्रै सिमित नहोस् !

दीर्घराज उपाध्याय ।

बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुदैछ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी योजना छ । योजना र सपना ठूला हुनुपर्छ । सरकारले पनि ठूलै योजना र सपना देखेको छ । त्यही सपना जनतामाझ बाडेको छ । यसलाई सकारात्मक रुपमा लिनपर्छ ।

तर नेपाल भ्रमण वर्ष प्रचार गरिएजस्तै पूर्व तयारीका साथ मनाईदैछ वा छैन ? यो अहम प्रश्न हो । जसले सरकारले भनेको नेपाल, जहाँ २० लाख पर्यटक भित्र्याउने उसको लक्ष्य छ, त्यो भित्र सुदूरपश्चिम अटेको छ कि छैन, हाम्रा लागि यो महत्वपूर्ण विषय हो ।

बिगतका सरकारले पनि भ्रमण वर्ष नमाएको होईन । ती भ्रमण वर्ष र यो भ्रमण वर्षमा भिन्नता छ कि छैन ? यो महत्वपूर्ण प्रश्न हो ।

पर्यटन संसारको त्यस्तो सबैभन्दा ठूलो उद्योग हो, जसका लागि कच्चा पदार्थ छैन । हामीसंग भएका स्रोत, साधन, संरचना र क्षेत्र नै पर्यटन उद्योगका हिस्सा हुन् । चाहे त्यो नदी नाला हुन् । चाहे मानव निर्मित संरचना हुन् । चाहे प्राकृतिक ।

वार्षिक रुपमा संसारमा सबैभन्दा बढि पर्यटक भित्रिने देश हो, फ्रान्स हो । जहाँ २०१८ मा ८२ दशमल ६ मिलियन (८ करोड २६ लाख) पर्यटक भित्रिएका थिए । मानव निर्मित आईफिल टावर फ्रान्सको महत्वपूर्ण आकर्षण हो । यद्दपि त्यस बाहेक थुप्रै प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक धरोहरहरु पर्यटक आकर्षण गर्ने आधार छन् । फ्रान्समा यो अबधिमा हवाई रुट भएर ५ करोड ७५ लाख ५४ हजार ७ सय ९५ पर्यटक भित्रिए । वर्षभरीमा ४ लाख ७१ हजार ८ सय ७२ उडान भए ।

दोस्रो बढि पर्यटक भित्रिने देश अमेरिका हो । जहाँ गत वर्ष ७५ दशमलव ६ मिलियन (७ करोड ५६ लाख) पर्यटक भित्रिएका थिए ।
तेस्रो स्थानमा रहेको स्पेनमा पनि अमेरिकाकै हाराहारीमा पर्यटक भित्रिएको तथ्यांक छ ।

हाम्रो छिमेकी देश चीन सबैभन्दा पर्यटक भित्र्याउने देशहरुको सूचिमा चौथो स्थानमा छ । जहाँ सन २०१८ मा ५९ दशमलव ३ मिलियन( पाँच करोड ९३ लाख) पर्यटक भित्रिएका थिए ।
त्यो सूचिमा ईटली पाँचौ स्थानमा छ । बेलायत छैठौमा । जर्मनी सातौमा । मेक्सिको आठौंमा । थाईल्याण्ड नवौंमा । टर्की १० औंमा । अष्ट्रिया ११ औंमा । मलेशिया १२ औंमा । ग्रिस १३ औंमा । १४ औंमा रसिया छ । १५ औंमा जापान । १६ औं स्थानमा छ,साउदी अरव । १७ औंमा दक्षिण कोरिया ।

युरोपको सानो मुलुक नेदरल्याण्डमा यो संख्या एक करोड ७० लाख भन्दा बढि छ ।

त्यो सूचिको १८ औं स्थानमा छ, नेदरल्याण्ड । राजधानी आम्स्टर्डमको जनसंख्या करीव ८ लाख छ । २०१७ मा नेदरल्याण्डमा उसको जनसंख्या भन्दा बढि १ करोड ८० लाख पर्यटक भित्रिए । जसले करीव १२ दशमलव ९ बिलियन युरो खर्च गरे ।
हंगेरी १९ औं स्थानमा पर्छ ।

संसारकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा चिनिने स्वीट्जरल्याण्डमा झण्डै एक करोड २० लाख मान्छे प्रतिवर्ष भित्रिन्छन । स्वीट्जरल्याण्डको अर्थतन्त्रमा पछिल्लो वर्ष पर्यटकहरुको आगमनबाट ४४ दशमलव ७ बिलियन सिएचएफको योगदान पुग्यो ।

वल्र्ड प्रेस फ्रिडमको २०१८ को तथ्यांक अनुसार नेपाल विश्वका १८० मुलुकमा १०६ औं स्थानमा छ । नेपालमा सन २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक भित्रिएको आकडा छ ।
जवकि नेपाल भन्दा सानो मुलुक कम्बोडियामा ६० लाख भन्दा बढि पर्यटक भित्रिए । जोर्डनमा वार्षिक रुपमा भित्रिने पर्यटकको संख्या कम्बोडियाको हाराहारीमा छ ।

नेपालभन्दा जनसंख्या र भूगोलका हिसावले धेरै सानो मध्यपूर्वको देश जोडर्नमा वर्षेनी ६० लाखभन्दा बढि पर्यटक भित्रिन्छन ।

तर नेपालका लागि २० लाख पर्यटक भित्र्याउने योजना अहिले पनि महत्वकांक्षी मानिएको छ ।

ठूलो संख्यामा पर्यटकहरु नभित्रिनु के नेपालसंग पर्यटकीय आकर्षणका केन्द्रहरु नभएर हो त ?

पर्यटकलाई भित्र्याउने हो, केही उदार हुनैपर्छ । केही खुकुलो हुनैपर्छ । तर हामी एकातिर खुकुलो हुन तयार छैनौ, अर्को तिर पर्यटक आएनन भनेर कोकोहोलो गर्छौ ?

सरकारले पर्यटन प्रबद्र्धनका लागि वर्षेनी अर्वौ रुपमा पर्यटन मन्त्रालय, पर्यटन मन्त्रालय मार्फत खर्च गरिरहेको छ । अहिले प्रदेश अन्तर्गत रहेका पर्यटन मन्त्रालय पनि अर्वौ रुपैया वार्षिक रुपमा खर्च गरिरहेका छन् । स्थानीय तहपनि पर्यटनका नाममा रकम खर्च गरिरहकै छ ।

यति हुदा हुदै पनि किन पर्यटक भित्रिन सकेनन ? यसमा के कहिल्यै छलफल भयो ? के नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा यस विषयमा छलफल भयो ? भएन । पहिले पर्यटन भ्रमण वर्ष भनिन्थ्यो, अहिले नेपाल भ्रमण वर्ष । फगत नाम मात्र फेरियो । न शैली फेरियो । न क्रियाकलाल ।
भ्रमण वर्षहरु कर्मकाण्डीय भए । नाम मात्रका भ्रमण वर्ष ।

पर्यटन प्रबद्र्धन गर्ने नाममा पर्यटन मन्त्रालय, पर्यटन बोर्डका कर्मचारी, मन्त्रीका श्रीमती भाई,भतिजा, सालो, पीएले बिभिन्न देशमा घुम्ने अवसर पाईरहे । हप्तैपिच्छे मन्त्रालय र पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीहरु विदेश घुमिरहेकै छन् । अझ पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको काम त आसेपासे लगेर विदेश घुम्ने मात्र भएको छ । र त त्यो पदमा छदा वा बाहिरिएपछि अख्तियारको फन्दामा परेकै छन् ।

हुदा हुदा केन्द्र सरकार र पर्यटन बोर्डलाई केही काम गरेन भनेर गाली गरिरहनेहरु प्रदेश सरकार र निजी क्षेत्रको नेतृत्व गर्ने अवसर पाए । तर उनीहरुले पनि त्यही गरे । जे केन्द्रका लागि हिजो गरे ।

प्रदेशको पर्यटन नीति कस्तो बनाउने ? पर्यटक कसरी भित्र्याउने ? प्रदेशमा पर्यटकीय गन्तव्यहरुसम्म पुग्ने सहज व्यवस्था, खानपिन र बासको उचित व्यवस्था, पर्यटकहरुलाई सही सूचना दिने विषयमा पटक्कै गम्भीर नदेखिनु प्रदेश सरकारको गैरजिम्मेवारपन हो ।

फ्रान्सको ऐतिहासिक आईफिल टावर, स्वीट्जरल्याण्डको प्राकृतिक ताल, हिमाल, हिमाली वस्तीहरुमा सुन्दर वस्तीहरु, व्यवस्थित शहर पर्यटकीय आकर्षण गर्ने क्षेत्रहरु हुन् । ब्राजिल र अर्जेन्टिनामा फुटवल पर्यटकहरुलाई आकर्षण गर्छ । यी देशको मुख्य पर्यटन भनेकै खेल हो । हंगेरीको नदी सभ्यता, ऐतिहासिक भवनहरु, सफा, सुन्दर र व्यवस्थित शहरले पर्यटकलाई लोभ्याउछ ।

नेदरल्याण्डको राजधानी आम्स्र्टडम भित्र नहरमा क्रुजमा यात्रा गर्नुको मज्जा नै बेग्लै । यहाँको खुला यौन बजार पर्यटकलाई आकर्षण गर्ने एउटा क्षेत्र हो । नेदरल्याण्ड र डेनमार्कमा त साईकल संस्कृतिले नै पर्यटकलाई लोभ्याउछ ।

समुन्द्रमाथि शहर भेनिस हेर्न वर्षेनी करौडौ पर्यटक पुग्छन । ईन्डोनेशियामा खुल्ला चिडियाघर जहाँ आँखा अगाडि,बाघ, हात्ती, शेर र अरु पनि थुप्रै जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटक पुग्छन । बालीको महत्व त बेग्लै छ ।

समुन्द्र हुनेले समुन्द्र बेचिरहेका छन् । थाईल्याण्ड, बाली, गोवाको आकर्षण यहाँको समुन्द्री तट त हो नै । यहाँको रात्री जीवन पनि हेर्न पर्यटकहरु लालायीत हुन्छन ।

युरोपका अधिकांश पर्यटकीय गन्तव्य आकर्षणका केन्द्र यहाँका राजाका दरवार । संसद । र हजारौ वर्ष पुराना कलात्मक र विशाल चर्चहरु पनि पर्यटकीय गन्तव्य हुन् । चीनको बेईजिङ ग्रेटवाल र माओको समाधीस्थलका कारण पर्यटकहरुलाई आकर्षण गर्छ । सांघाईको विकास हेर्नैकै लागि विश्वकै अति विकसित मुलुकका नागरिक पनि पुग्छन ।

र यी सबै पर्यटकीय गन्तव्यहरुको बारेमा गुगलमा पर्याप्त जानकारी छन् । यहाँ जादा कसैले असुरक्षित महशुस गर्दैनन । निर्धक्कसंग यहाँको वातावारणमा पर्यटकहरु रमाउछन । न खानाको चिन्ता हुन्छ । न बासको । न सुरक्षाको ।

खोई भौतिक पूर्बाधार ?

नेपालका मन्त्री, नेता, सांसद, पर्यटन मन्त्रालयका पदाधिकारी, कर्मचारीहरुले यी सवै देशको भ्रमण गरिसकेका छन् । त्यहाँ पुगेपछि उनीहरुले सोच्छन पनि होलान, हाम्रो देश पनि यस्तै बनाउन पाए कस्तो हुन्थ्यो होला ?

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त डेढ दशक अघि नै घोषणा गरेका थिए, नेपाललाई स्वीजरल्याण्ड बनाउछौ भनेर ।

सबैका सबै कुरा गफ मै सिमित भए । विदेशबाट फर्किएपछि र अर्को पटक विदेश नटेक्दासम्म सबै कुरा बिर्सिने बानी बसिसकेको छ, नेपालीहरुको । त्यही कारण पनि नेपालमा पर्यटन प्रबद्र्धन र पर्यटकलाई आकर्षणका लागि ठोस योजना बन्न सकेनन ।

नेपालमा पर्यटकलाई आकर्षण गर्ने क्षेत्रहरु यहाँका हिमाल, नदी, लुम्बिनी, सगरमाथा मात्र भए अहिलेसम्म । यी क्षेत्रमा पर्यटकहरुलाई खानेबस्ने उचित व्यवस्थापनका लागि सुबिधा सम्पन्न होटलहरु पनि खुले । बिमानसेवा पनि छ । सुरक्षा पनि छ ।

तर यी बाहेक के नेपालमा पर्यटक जाने र जानु पर्ने अझ भन्नु पर्दा पर्यटकलाई आकर्षण गर्न सकिने अरु क्षेत्रहरु छैनन र ? छन् । धेरै छन् ।

तर ती पर्यटकीय गन्तव्यसम्म पुग्ने न सडक राम्रो छ । न हवाई यातायातको व्यवस्था छ । न सुरक्षित सडक यातायात छ । न त त्यहाँ खानवस्नको उचित व्यवस्था छ । न सुरक्षाको ग्यारेण्टी छ । खप्तड हाम्रा लागि महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर स्वीजरल्याण्डमा यस्ता क्षेत्रहरु कति छन्, कति ? खप्तडमा केही चिज त फरक हुनुप¥यो । किन त्यहाँको मान्छे वा युरोपको मान्छे यहाँ आउने ?

यसको अर्थ त्यहाँको मान्छेलाई खप्तडमा आकर्षण गर्न सकिदैन भन्न खोजेको होईन । मान्छे आफूसंग जे छैन, त्यसलाई हेर्न चाहन्छ ।

खप्तडको यात्रा सस्तो हुनुप¥यो । जो अहिलेका नेपालका हवाई कम्पनीको चर्को भाडा दरका कारण संभव छैन । यसलाई कम गर्न सरकारले भ्रमण वर्ष भन्दा पहिले पहल गर्नुपथ्र्यो । गरेन ।

समुन्द्रको किनारमा वस्नेलाई समुन्द्र हेर्ने रहर हुदैन । हिमालमा बस्नेलाई हिमाल हेर्ने रहर हुदैन । हामीसंग समुन्द्र छैन । यद्दपि हामीसंग हिमाल छन् । नदी नाला छन् । लुम्बिनी छ । हिन्दुहरुका लागि पशुपतीनाथ र मुक्तिनाथ लगायतका धार्मिक क्षेत्रहरु छन् ।

पर्यटकहरुलाई आकर्षण गर्ने अरु पनि थुप्रै क्षेत्रहरु छन् । यद्दपि नेपालको पर्यटन अहिलेसम्म त्रिभुज आकारमा सिमित छ । विदेशीहरु हवाई यात्रा गरेर काठमाण्डौं झर्छन । त्यहाँ बस्छन । अनि त्यहाँबाट पोखरा,लुम्बिनी सौराहा । अन्नपूर्ण सर्किट । मुस्ताङ । यही सेरोफेरो मात्र नेपालको पर्यटन क्षेत्र बनेको छ ।

गत वर्ष नेपालमा ११ लाख बढि पर्यटक भित्रिदा सुदूरपश्चिममा भने त्यो संख्या हजारमा त के पाँच सयको हाराहारीमा पुग्न सकेन । सरकारको महत्वकांक्षामा अटाएका २० लाख पर्यटकमा केही हजार संख्यालाई पनि सुदूरपश्चिममा पु¥याउने योजना देखिदैन । र केही हजार पर्यटक भित्र्याउन छाटकाट प्रदेश सरकारको गतिबिधि र कामबाट देखिदैन । त्यसैले यो भ्रमण वर्ष सुदूरपश्चिमका लागि कागलाई बेलपाक्यो हर्ष न बिस्मात हुने निश्चित छ । आशा गरौं, त्यस्तो नहोस ।

खोई सूचना ?

संसारका हरेक देशका साना हुन वा ठूला पर्यटकीय गन्तव्यहरु, हरेक पर्यटकीय गन्तव्यका बारेमा गुगलमा जानकारी छ । त्यहाँको सरकार, पर्यटन मन्त्रालयले पनि आफ्ना वेवसाईटहरुमा पर्यटकीय गन्तव्यहरुका बारेमा जानकारी दिएको छ ।

हरेक शहरमा पर्यटकीय सूचना केन्द्र छन् । जसले पर्यटकहरुलाई त्यहाँका पर्यटकीय गन्तव्यहरुका बारेमा हाते बुक उपलब्ध गराउछ । पर्यटकले जान्न चाहेका हरेक पर्यटकीय गन्तव्यका बारेमा सही सूचना र जानकारी दिन्छन ।

कुन पर्यटकीय गन्तव्य जान कति समय लाग्छ ? कति पैसा लाग्छ ? त्यहाँ जाने साधन तथा यातायातको के कस्तो व्यवस्था छ ? होटलको व्यवस्था कस्तो छ ? मौसम कस्तो छ ? त्यहाँको बिशेषता के हो ? छुटाउने नहुने ठाउ के हो ? यी र यस्ता यावत विषयमा पर्याप्त सूचना सहजै मिल्छ ।

तर हामी कहाँ अहिलेसम्म त्यस्तो सुबिधा छैन । यो सुबिधा नभएसम्म कुनै विदेशी नेपालीको हावागफका भरमा नेपाल आउनेवाला छैन । सुरक्षा र सूचनामा विश्वास नभएसम्म विदेशी पर्यटकले कहीको पनि यात्रा गर्दैन ।

सुदूरपश्चिमको हकमा त झन यहाँका कुनै पनि पर्यटकीय गन्तव्यका बारेमा सही सूचना छैन । मन्त्रालयले निकालेको कफि टेबल बुक भ्रमण वर्ष नजिकिएपछि लुकाईएको छ । अनि पर्यटक भित्र्याउने ठूला गफ चाही तिनैले दिईरहेका छन्, जो जो यो पुस्तक प्रकाशनमा संलग्न थिए ।

गफ बेचेर पर्यटक आउदैनन, तिनलाई कसले बुझाउने ?

खोई सुरक्षा ?

युरोपमा तपाई एक्लै हुनुहुन्छ । तपाईको साथमा कोही छैन । फेरि पनि तपाईलाई कुनै डर हुदैन भय हुदैन । खल्तीमा पैसा र दिमागमा सूचना भए तपाई जहाँ पनि, जुन सुकै बेला जान सक्नुहुन्छ । राति होस वा दिन । त्यसले कुनै फरक पार्दैन । के तपाई आफ्नै देश नेपालका कुनै पनि ठाउमा त्यसरी जान सक्नुहुन्छ । त्यस्तै निर्धक्क भएर यात्रा गर्नसक्नुहुन्छ ?

पर्यटकका लागि यो प्रश्न सबैभन्दा अहम प्रश्न हो । हामी जसरी युरोप वा अन्य मुलुकमा जादा जस्तो सुरक्षा महशुस गर्छौ, के यहाँ त्यस्तै महशुस गर्न सक्छौ ?

पोखराका पर्यटनकर्मीहरुले भारतीय पर्यटकहरुलाई भित्र्याउन पटक पटक लखनउ, दिल्ली लगायतका शहरहरुमा चलो पोखरा अभियान चलाए । तर अहिले के भएको छ, त्यहाँ । भारतीय पर्यटकहरुलाई गाडी लगेर जान नदिने । उनीहरुलाई दुःख दिने । सास्ती दिने मात्र काम भएको छ ।

नेपालका अन्य शहरहरुमा पनि प्रहरी र ट्राफिक प्रहरीले भारतीय गाडी देख्नै नहुने । हैरान गर्ने । भारतीय गाडीले अलिकति कही कतै कसैलाई छोयो कि उसलाई अनावश्यक दुःख दिने ।
यस्तै व्यवहार रहीरह्यो भने कसरी भारतीय पर्यटकहरु भित्रिन्छन । पर्यटकका लागि सुरक्षा पहिलो शर्त हो । यस तर्फ पर्यटनव्यवसायी र नेपाल सरकारको ध्यान कहिले जाला ?

खोई योजना ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन २०१८ मा काठमाण्डौं बिमानस्थलले करीव ७२ लाख यात्रुलाई सेवा पु¥याएको थियो । ठाउको सीमितताले गर्दा जस्तो सुकै विस्तार र सुधार गरेपनि यो बिमानस्थलको क्षमता ९० लाख यात्रु नाघ्दैन ।

एकातिर हामीसंग गतिला योजना छैन । अर्कोतिर हामीसंग क्षमता पनि छैन । हवाई सेवा प्रयोग गर्दै झण्डै ६ करोड पर्यटक भित्रिए ।

हाम्रो अन्तर्राष्ट्रिय बिमानस्थलको आकाशमा अहिले नै एयर ट्राफिक जाम हुन्छ । र आधा घण्टा जहाजहरु आकाशमा होल्ड हुनु सामान्य भईसकेको छ । र यस्तो अवस्थामा अन्तर्राष्ट्रिय उडान थप गर्न र विदेशी पर्यटकहरु हवाई मार्ग हुदै भित्र्याउन कति संभव छ ?

आफ्नो अवस्था र क्षमता नहेरी फगत सपना बाड्ने काम भयो ? नेपाल भ्रमण वर्षमा त्यही कुरा दोहरिएको छ ?

नेपालमा गत वर्ष ११ लाख पर्यटक भित्रिएका थिए । अव नौ लाख थप पर्यटक कहाँबाट भित्रिने हुन ? कसरी भित्रिने हुन् ? कुन बाटो भएर भित्रिने हुन् ? र ती भित्रिएका पर्यटकलाई कहाँ लैजाने हो ? कुनै योजना सरकारसंग छैन । युरोपका बिभिन्न देशमा पर्यटन मन्त्रालय र पर्यटन बोर्डले गरेका पर्यटन प्रबद्र्धनका कार्यक्रम रकम खर्च गर्ने उपाय बाहेक केही देखिएका छैनन ।

न भौतिक पूर्बाधार छ । न सही सूचना छन् । न त सुरक्षाको ग्यारेण्टी छ ।

छ त फगत रुमानी सपना । बस सपना । के सपनाले मात्र नेपाल भ्रमण वर्ष सफल होला र ? फेरि पनि आशा गरौं सफल होस ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार