लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनको कम्पो ग्रान्देमा २४ बर्षीय एक युवालाई छुरा प्रहार गरी हत्या गरिएको छ। उनलाई ३ जनाको समुहमा आएका व्यक्तिहरुले पहिले लुटपाट गरी त्यसपछि छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार हत्या गरिएका युवा भूपू प्रहरी इन्स्पेक्टरका छोरा भएको बुझिएको छ। राजधानी लिस्बनको कम्पो ग्रान्देमा रहेको बिश्वबिद्यालयको बिज्ञान संकाय भवन अगाडी रहेको पार्किङ् स्थलमा छुरा प्रहारबाट घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाका संदिग्ध व्यक्तिहरुको प्रहरीले खोजीकार्य जारी राखेको छ। घटना शनिवार रातिको हो।
छुरा प्रहारबाट मृत्यु भएका युवा लिस्बनको कम्पो ग्रान्देमा एक रेस्टुरेन्टमा खाना खाएर पार्किङ्मा राखिएको आफ्नो कारतर्फ जादैगर्दा आक्रमणमा परेका थिए। संदिग्ध व्यक्तिहरुले उनलाई लुटपाट गरी छुरा प्रहार गरेर भागेका थिए।
छुरा प्रहारबाट मृत्यु भएका युवा युनिभर्सिटी अफ लिस्बनको इन्जिनियरिंग संकायमा अन्तिम बर्षका बिद्यार्थी थिए। लिस्बन महानगरीय प्रहरी कमाण्डले सोमबार पत्रकार सम्मेलन गरी थप जानकारी दिने बताएको छ।
घटनाका संदिग्ध व्यक्तिहरुको नजिक प्रहरी पुगेको र छिट्टै नै पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।