काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा नेताहरुको ‘अस्वाभाविक व्यवहार देखिएको’ बताएका छन् ।
विभिन्न देशका राजदूतहरु आउने–जानेक्रम चलिरहने र त्यो स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरेका छन् ।
शनिबार बिहान आफ्नो ट्वीटमा उनले लेखेका छन्–‘तर, अहिले भारतीय राजदूतको बिदाइको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वाभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ ।’
देशमा ठूलो परिवर्तन भएपनि ‘नेताहरुको राणाकालीन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गएको’ उनको आरोप छ ।
राजदुतहरु आउने जाने क्रम चलिरहन्छ।त्यो स्वभाविक हो।तर,अहिले भारतिय राजदुतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ।देशमा ठुलो परिवर्तन भयो,गणतन्त्र आयो भनिन्छ तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन बढेर गयो।
— Kamal Thapa (@KTnepal) December 28, 2019
बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसित राजदूत पुरीले यही पुस ८ गते राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका थिए ।
सोही दिन बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसित पनि राजदूत पुरीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री ओलीले उनलाई करुवा उपहार प्रदान गरेका थिए ।
दुवै भेटमा पुरीकी श्रीमती पनि साथमै थिइन् ।
यस्तै, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसित उनीहरुकै निवासमा पुगेर पुरीले बिदाइ भेट गरेका थिए ।
ती भेटहरुकाबारेमा सामाजिक सन्जालमा विभिन्न टीका–टिप्पणी भएको थियो ।
कार्यकाल समाप्त गरि स्वदेश फिर्ता हुन लागेका भारतिय राजदुतलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसले सानो बसाईको आयोजना गरेछ ।सम्बन्ध सुमधर हुनु, शिष्टाचार ब्यक्त गर्नु राम्रो कुरा हो ।यसमा कुनै आग्रह पुर्बाग्रह वा सानो मन गरिरहनु आबश्यक छैन।
तस्बिरमा बसाई हेर्दा चाहिँ अलि खसखस हुने क्या! pic.twitter.com/kpJudGS2oo— Rajaram Bartaula (@rrbartaula) December 25, 2019
नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी आफ्नो कार्यकाल सकाएर आउँदो जनवरी १ तारिखमा स्वदेश फर्कंदैछन् । उनी सन् २०१७ मार्च २६ देखि यहाँ भारतीय राजदूतकारुपमा रहेका छन् ।