व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग


भानुभक्त आचार्य/ओटावा युनिभर्सिटि, क्यानडा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) पत्रकारिता विभागमा विभागीय प्रमुखको जिम्मेवारी पाएका प्राध्यापक चिरञ्जीवी खनालको चार वर्षे पदावधि हालै सकिएको छ र अर्को नियुक्त नहुन्जेलका लागि उनी नै कार्यवाहक तोकिएका छन्। नयाँ प्रमुखको खोजी चलिरहेका बेला विभागमा हिजो भएका कमीकमजोरी सच्याई नयाँ ढंगले अघि बढ्नु अपरिहार्य छ। तसर्थ, विगत चार वर्षमा पत्रकारिता केन्द्रीय विभागको शैक्षिक अवस्था कस्तो रह्यो? स्रोतसाधनका हिसाबले विभाग कुन अवस्थामा छ? विद्यार्थीले अध्ययन–अध्यापन र ज्ञानोपार्जनमा कस्तो अनुभव हासिल गरे? विभागको शैक्षिक पूर्वाधार र कार्यक्षमता कस्तो थियो? यी प्रश्नको जवाफ खोज्ने र त्रिवि पत्रकारिता विभागको गतिविधि र कार्यशैलीमाथि मिहिन ढंगले समीक्षा गर्ने प्रयास यस आलेखमा गरिएको छ। यो समीक्षात्मक आलेख तयार पार्ने क्रममा ३७ जना बहालवाला एवं पूर्वविद्यार्थी लगायत अन्य सरोकारवालासँग कुराकानी गरिएको छ।

१.कहीँ नभएको एकाङगी संकाय

सिद्धान्ततः पत्रकारिता विषय अन्तरसांकायिक (इन्टर डिसिप्लिनरी) हुनुपर्छ। संसारभर यही प्रचलन छ। सन् २००७ मा विश्व पत्रकारिता शिक्षा परिषद्को सिंगापुर सम्मेलनले जारी गरेको सिद्धान्तको ११ बुँदे घोषणापत्रको पहिलो बुँदामा ‘पत्रकारितालाई अन्तरसांकायिक ज्ञानको क्षेत्र भनेर बुझ्नुपर्छ, यो अरु संकायभन्दा पृथक छ’भन्ने उल्लेख छ i। यो कुरालाई सन् २०१३ मा जारी भएको युनेस्को नमुना पत्रकारिता पाठ्यक्रममा समेत समावेश गरिएको छ ii। साथै, युनेस्कोबाट सन् २०१४ मा प्रकाशित नेपाली विश्वविद्यालयमा पत्रकारिता पाठ्यक्रमको पृष्ठ ३९ मा पत्रकारिताका विद्यार्थीका लागि ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र सामाजिक संस्थाहरूको ज्ञानका साथै, वर्तमान अवस्था र मुद्दाहरूको ज्ञान, इतिहास र भूगोलको साधारण ज्ञान’ आवश्यक पर्छ भनी औंल्याइएको छ iii ।

संसारभरिका राम्रा विश्वविद्यालयमा पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययन गर्न स्नातक तह छुट्टै अध्ययन गर्नैपर्ने बाध्यता हुँदैन। तल्लो तहदेखि पत्रकारिता नै मूल विषय बनाइ पढ्दै गएका विद्यार्थी भन्दा अन्य पृष्ठभूमिका विद्यार्थीले पत्रकारितामा झन् राम्रो गरेको विभिन्न अध्यनहरूले देखाएका छन्

तर, त्रिवि पत्रकारिता विभागले पत्रकारितामा स्नातक नगरेका विद्यार्थीलाई अन्य कुनै सर्तमा स्नातकोत्तर गर्न दिँदैन, जबकि नेपालभित्र र बाहिरका कैयौं विश्वविद्यालयमा त्यस्तो बाध्यकारी प्रावधान छैन। अझ प्रवीणता प्रमाणपत्र तह समेत त्रिविअन्तर्गत भएको समयमा उक्त तहमा पत्रकारिता मूल विषय लिई पढेपछि स्नातक तहमा पत्रकारिता पढ्न पाइन्थ्यो। अनि स्नातक तहमा पत्रकारिता पढेपछि मात्रै स्नातकोत्तर तहमा पत्रकारिता पढ्न पाइन्थ्यो। तर, त्रिवि पत्रकारिता केन्द्रीय विभागमा विभागीय नेतृत्वलाई मन परेको व्यक्ति प्राध्यापक/प्रशिक्षकमा नियुक्त गर्न/गराउन त्यस्तो बन्देज छैन। उदाहरणका लागि प्राध्यापक पी खरेल इतिहासका स्नातकोत्तर हुन् भने प्राध्यापक खनाल समाजशास्त्र विषयका स्नातकोत्तर हुन्।

अहिले त्रिवि सेवा आयोगले हालै लिएको पत्रकारिताको उपप्रध्यापकको परीक्षामा आवेदकले स्नातक तहमा पत्रकारिता नपढेको भए स्नातकोत्तर वा विद्यावारिधिमा पत्रकारिता पढेको भए पनि आवेदन गर्नै नपाउने मापदण्ड बनाएको छ। यो बाहिरी प्रतिस्पर्धा रोक्न जानाजान लादिएको सिन्डिकेट हो।

पछिल्लो समय नियुक्त भएका प्रशिक्षक देवराज अर्याल र कुन्दन अर्यालले पनि अरु नै विषयमा स्नातक गरी पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका हुन्। अहिले त्रिवि सेवा आयोगले हालै लिएको पत्रकारिताको उपप्रध्यापकको परीक्षामा आवेदकले स्नातक तहमा पत्रकारिता नपढेको भए स्नातकोत्तर वा विद्यावारिधिमा पत्रकारिता पढेको भए पनि आवेदन गर्नै नपाउने मापदण्ड बनाएको छ। यो बाहिरी प्रतिस्पर्धा रोक्न जानाजान लादिएको सिन्डिकेट हो। यस्तो व्यवस्थाले विभिन्न विश्वविद्यालयहरूबाट पत्रकारिता अध्ययन गरेका अब्बल प्रतिस्पर्धीलाई रोक्छ। परिणामस्वरुप त्रिविको पत्रकारिता शिक्षा अझै यथास्थितिमा रहने सम्भावना हुन्छ।

अब प्राध्यापकहरू अरु संकाय पढेको भए पनि हुने तर विद्यार्थीहरू तल्लो तहदेखि नै पत्रकारिता पढेको हुनु पर्ने व्यवस्था आफैंमा विभेदकारी छ। विद्यार्थीले पढ्नै पर्ने, प्राध्यापक/प्रशिक्षकले नपढे पनि हुने तर नयाँ प्रतिस्पर्धीले फेरि पढ्नै पर्ने व्यवस्थाले त्रिवि पत्रकारिता विभागलाई सधैं गिज्याइ रहन्छ। पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डले पत्रकारितालाई सकेसम्म अन्तरसांकायिक बनाऊ भन्छ। विभागीय प्रमुख खनालले चाहेको भए त्यो प्रावधान सहजै लागू गराउन सक्थे, तर गरेनन्। आफू पत्रकारितामा स्नातकोत्तर हुँदै नभए पनि हुने तर विद्यार्थीलाई स्नातक तहदेखि नै अनिवार्य पत्रकारिता पढेको हुनुपर्ने भनी अड्डी कस्नु आफैंमा हाँस्यास्पद छ।

२. उधारोमा प्राध्यापक पद

पत्रकारिता विभाग प्रमुख खनाल प्राध्यापकमा बढुवा हुनका लागि कार्यानुभव बाहेक दुईओटा आवश्यक सर्त थिएः पिएचडी र प्राज्ञिक प्रकाशन। उनी २०६७ सालमा त्रिविको आफ्नै विभागमा विद्यावारिधि तहमा विद्यार्थीका रुपमा भर्ना भए। प्राध्यापकमा बढुवा हुनकै लागि दुईओटा पुस्तक आफैं प्रकाशन पनि गरे। आफ्नो कार्य अनुभव, पुस्तक प्रकाशन र विद्यावारिधिमा भर्ना समेतलाई आधार बनाएर प्राध्यापकमा बढुवा भए। प्राध्यापकमा बढुवा भइसकेपछि खनालले ‘मिडिया एन्ड पब्लिक ट्रस्ट’ शीर्षकको आफ्नो पिएचडी आठ वर्षसम्म पनि पूरा गर्न सकेनन्। त्यो अवधिसम्म पनि विद्यावारिधि पूरा नगर्ने विद्यार्थी त्रिविको नियमअनुसार स्वतः खारेजीमा पर्छ। निर्धारित आठ वर्षमा पनि उनको विद्यावारिधिको ‘लिट्रेचर रिभ्यु’ समेत पूरा गर्न नसकेर त्यत्तिकै अलपत्र छ।

अर्कातिर, खनालले प्राध्यापक पदमा बढुवा हुन आफैं पैसा खर्च गरेर २०६८ मा प्रकाशन गरी पेस गरेका दुइओटा पुस्तक थिए। तीमध्ये ‘विश्वविद्यालयमा पत्रकारिता’ शीर्षक पुस्तकमा विभिन्न मितिमा पहिल्यै प्रकाशित कार्यपत्र वा त्यसै क्याम्पसको स्मारिकामा प्रकाशित लेख छन् v। ‘पत्रकारिता सन्दर्भ’ शीर्षकको अर्को पुस्तकमा विभिन्न पत्रपत्रिकामा प्रकाशित मानवअधिकार, पत्रकारिता शिक्षा, पत्रकारिता तालिम शीर्षक लेख छन् vi। प्राध्यापक पदमा बढुवा हुन आधार मानिएका यी दुवै पुस्तकमा प्राज्ञिक लेखनको छनकसमेत पाइदैन। उदाहरणका लागि के विषयमा रिसर्च गरिएको हो? त्यसको उद्देश्य के हो ? रिसर्च सवाल के थियो? कस्तो शोधविधिबाट अनुसन्धान गरियो? यसले के नयाँ कुरा पत्ता लगायो? आगामी रिसर्चका लागि मार्गनिर्देश के हो? जस्ता कुनै पनि प्रश्नको उत्तर आउने कुरै छैन। हरेक लेखको अन्त्यमा झारा टार्न राखिएका दुईचार सन्दर्भ सामग्रीमध्ये कतिको मूलपाठसँग कुनै साइनो छैन।

त्रिविले त्यस्तो व्यक्तिलाई उधारोमा प्राध्यापकको उपाधि दियो, जसका पुस्तक बजारमा पुग्नै नपाई फिर्ता ल्याउनु पर्‍यो। यो विषय आफैंमा प्राज्ञिक लज्जाको हो।

अर्कातिर, अन्तर्राष्ट्रिय प्रचलनअनुसार पहिल्यै प्रकाशित लेखहरूको संकलनलाई नयाँ पुस्तक भन्नै मिल्दैन किनभने त्यहाँ कत्ति पनि बौद्धिक योगदान भएको हुँदैन। प्राज्ञिक प्रकाशनका लागि वागर र क्लेइनर्टले नौ बुँदे अन्तर्राष्ट्रिय मापदण्ड vii तयार पारेका छन्, जसमा नयाँपन, मौलिकता र गुणस्तरीय सन्दर्भ सामग्रीमा आधारित हुनुपर्ने लगायतका मान्यता छन्। अझ रोचक त के छ भने प्राज्ञिक पदोन्नतिका आधार मानिएका ती दुई पुस्तकहरूको निर्मम समीक्षा मार्टिन चौतारीको जर्नलमा प्रकाशन हुन लागेको सुनेपछि खनालले आफ्नो च्यानल प्रयोग गरेर त्यो समीक्षा रोक्न लगाएनन् मात्र, त्यसका लागि बजारमा पठाइसकेका सबै पुस्तक पुनः फिर्ता ल्याएर घरमै थन्क्याए। अब अनुमान गरौं, ती पुस्तकहरूको हविगत के होला?

पिएचडीमा भर्ना भएको (निकट भविष्यमा पूरा गर्ने सर्तमा) र प्राज्ञिक प्रकाशनलाई आधार बनाएर प्राध्यापक पदमा बढुवा गरिएका खनालका दुवै आधार खोटो साबित भए। तै पनि प्राध्यापक पद पाउनेबित्तिकै त्यसैलाई आधार बनाएर खनालले पिएचडीका अन्य समकक्षी विद्यार्थीलाई पढाए। आफैं पिएचडीको विद्यार्थी भएर आफ्ना समकक्षीलाई पढाउन पाउने त्रिवि पत्रकारिता विभागभन्दा यो धर्तीमा अर्को कुनै शैक्षिक संस्था छैन। त्यस्तै, त्रिविले त्यस्तो व्यक्तिलाई उधारोमा प्राध्यापकको उपाधि दियो, जसका पुस्तक बजारमा पुग्नै नपाई फिर्ता ल्याउनु पर्‍यो। यो विषय आफैंमा प्राज्ञिक लज्जाको हो। जे कुरालाई आधार बनाएर खनाललाई उधारोमा प्राध्यापक पदमा बढुवा गरियो, त्यही कुरा खारेज भएपछि त्यो पद धरापमा पर्छ कि पर्दैन? त्रिविले छानबिन गरोस्।

३. सुपरभाइजरबिनाको पिएचडी कार्यक्रम

पिएचडी कार्यक्रमको अवस्था झन् जर्जर छ। पत्रकारिता विभागमा पिएचडीका योग्य र पर्याप्त प्राज्ञिक जनशक्ति नहुँदा त्रिविमा पत्रकारिता विषय लिएर पिएचडी गर्दै गरेका २२ जना शोधार्थीका लागि त्रिवि मानविकी तथा समाजशास्त्र संकायले मुख्य सुपरभाइजर र सहायक सुपरभाइजर तोक्न सकेको छैन। त्रिविको नयाँ पिएचडी कार्यविधि अनुसार पिएचडी अध्ययनरत विद्यार्थीको मुख्य र सहायक सुपरभाइजर हुनका लागि पिएचडी गरेकै हुनुपर्छ। तर विभागमा पिएचडी गरेका एकजना प्राध्यापक पनि छैनन्, बरु एक जना उपप्रध्यापक छन्। तर उनी प्राध्यापक वा सहप्रध्यापक नभएकाले त्रिविको नियमअनुसार मुख्य सुपरभाइजर हुन मिल्दैन। यस्तो अवस्थामा मुख्य र सहायक सुपरभाइजरहरू अन्य विभागबाट ल्याउनु पर्ने हुन्छ। त्यसैले अहिले पत्रकारिता विभागमा पिएचडी अध्ययनरत विद्यार्थीहरूका लागि अन्य संकायबाट पिएचडी उपाधिप्राप्त प्राध्यापकलाई जिम्मेवारी तोकिएको छ।

पत्रकारितामा विभागमा विज्ञ व्यक्तिको अभाव भएको अवस्थालाई मनन गर्दै डिनको कार्यालयले दुई वटा निर्णय गर्‍यो। एक, कोर्समा आधारित पीएचडी कार्यक्रम हाललाई स्थगित गरियो। दुई, पिएचडी कार्यक्रममा भर्ना भएर अध्ययनरत विद्यार्थीका हकमा भने वर्तमान कार्यविधि अनुसार नमिल्ने भए पनि एक पटकका लागि पिएचडी उपाधि बिना प्राध्यापकमा बढुवा भएको व्यक्तिलाई अपवादका रुपमा पिएचडीको सुपरभाइजर बनाउन प्रयास गर्‍यो। यसका लागि पत्रकारिताका पिएचडी नगरेका प्राध्यापकको सूची र उनीहरूको प्राज्ञिक योगदान झल्किने बायोडाटा मागियो। ‘पिअर रिभ्युड जर्नल’मा एउटै पनि लेख नछापेका प्राध्यापक खनालका लागि त्यो नयाँ सर्त पनि घाँडो बन्यो। संसारका सबै प्राज्ञहरूको योगदान छिनभरमै निकाल्न सक्ने गुगल स्कलरले प्राध्यापक खनाललाई चिन्दैन। उनका पुस्तकहरू बजारमा भेटिँदैनन्। एउटा प्राध्यापक आफ्नै विश्वविद्यालयमा पिएचडी पूरा गर्न नसक्ने विद्यार्थीका रुपमा सूचीकृत हुनु परेको छ। योभन्दा लाजमर्दो अवस्था अरु के होला?

तै पनि विभागीय प्रमुख खनालले आफू प्राध्यापक भएकाले पत्रकारितामा पिएचडी गर्ने विद्यार्थीका लागि सुपरभाइजर हुन पाउनुपर्ने दाबी छाडेका छैनन्। त्रिवि मानविकी तथा समाजशास्त्र डिनको कार्यालयले पिएचडी गर्न नसकेको आधारमा खनाललाई त्यस्तो सुविधा दिन चाहेको छैन। विभागीय प्रमुख खनालले डिनको कार्यालयबाट मुख्य वा सहायक सुपरभाइजर तोकिएको पिएचडी उपाधिप्राप्त प्राध्यापकलाई पत्रकारिता विभागमा काम गर्न असहयोग मात्रै गरेका छैनन्, ‘पत्रकारिता विभागमा तपाईंलाई राम्रो हुन्न है’ भन्दै चेतावनी दिने गरेका छन्। विभागीय प्रमुखले नै असहयोग गरेपछि आमन्त्रित प्राध्यापकहरू पत्रकारिताका पिएचडी विद्यार्थीलाई गाइड गर्न हच्किएका छन्। खनालको व्यक्तिगत महत्वाकांक्षाले सिर्जना गरेको द्वन्द्वको सबैभन्दा ठूलो मार लाखौं रुपैंया तिरेर पिएचडी अध्ययनरत विद्यार्थी माथि परेको छ। उनीहरूलाई अहिलेको पिएचडी निल्नु न ओकल्नु भएको छ।

४. अयोग्यलाई प्राथमिकता

विभागीय प्रमुख प्राध्यापक खनालले तिहारपछि आफ्ना विश्वासपात्र देवराज अर्याललाई निमित्तको जिम्मेवारी तोके, जो आफैं पत्रकारिताको दरिलो व्यवसायिक तथा प्राज्ञिक ‘ब्याकअप’ नभएका पात्र हुन्। तर खनालको आशीर्वादमासोझै पत्रकारिता केन्द्रीय विभागमा स्थायी उपप्रध्यापकको नियुक्तिसहित आए। यसअघि उनी ताहाचल क्याम्पसमा भूगोल पढाउँथे। नियुक्तिको करिब एक वर्षपछि प्राध्यापक खनालकै छनोटमा उनलाई चीनको बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइनामा एक वर्षे अध्ययनका लागि अध्ययन बिदासहित पठाइयो। उनलाई के आधारमा छनोट गरेर अध्ययन बिदासहित पठाउने निर्णय गरियो भन्ने कुरा विभागका अन्य सहकर्मीलाई थाहा दिइएन, एकैचोटि निर्णय सुनाइयो।

विभागलाई आएको अवसरमा आफूहरूले प्रतिस्पर्धा गर्न नपाएको भनी केहीले दुःखमनाउ पनि गरे। तर त्यसरी सिफारिस गरेर छात्रवृत्तिमा अध्ययन गर्न गएका उनी करिब साढे तीन महिना पुग्दा नपुग्दै पढाइ छाडेर नेपाल फर्किए र बाँकी पढाइ पुरा गरेनन्। विभागले बल्ल–बल्ल पाएको अवसर खेरमात्र गएन, उक्त चिनियाँ विश्वविद्यालयले अर्को वर्ष यस्तो कोटा नै विभागलाई दिएन। अन्य समकक्षीलाई स्वच्छ र प्राज्ञिक प्रतिस्पर्धाको अवसरसमेत नदिई एक्कासी पठाइएका व्यक्तिले विभागीय प्रमुख र विभागको समेत नाक राख्न सकेनन्।

हुन त विभागमा अर्यालमात्रै त्यस्ता पात्र होइनन्। प्राध्यापक खनालकै ‘विश्वविद्यालयमा पत्रकारिता’ पुस्तकको पृष्ठ ५६ मा एउटा प्रसङ्ग उल्लेख छ-त्रिविमा पत्रकारिताको स्नातकोत्तर तह सञ्चालन भएलगत्तै पत्रकारिता विभागका शिक्षकहरूको प्राज्ञिक उन्नयनका लागि डिनको कार्यालयले जापानको क्योटो युनिभर्सिटीमा तीन जनालाई विद्यावारिधिका लागि छात्रवृत्ति कोटा मिलाइदियो। त्यसअन्तर्गत विभागका एकजना उपप्राध्यापक पाँच वर्ष जापान बसे र पनि पिएचडी अध्ययन पूरा गर्न सकेनन्। परिणामस्वरुप बाँकी दुईओटा कोटासमेत खारेज भए। प्राध्यापक खनालको पुस्तकमा नाम गोप्य राखिएका ती व्यक्ति थिए विभागकै तत्कालीन उपप्राध्यापक प्रबलराज पोखरेल। अवसर पाउँदा समेत अध्ययन गर्न नसक्नेहरूका कारणले पत्रकारिता विभागको अन्तर्राष्ट्रिय छवि धुमिल छ।

विभागीय प्रमुख नै राजनीतिक वा विभिन्न बहानामा अयोग्यलाई काखी च्याप्ने, आकांक्षीबीच प्रतिस्पर्धा गराउने र अपारदर्शी गतिविधिमा संलग्न हुनाले यो प्राज्ञिक संस्था आफैंभित्र रुमल्लिइरहेको देखिन्छ।

कुनै पनि प्राज्ञिक संस्थामा पदोन्नति र अवसर प्राप्तिको आधार उच्चतम शैक्षिक उपाधि (पीएचडी वा पोस्ट डक्टरल डिग्री), पिअर रिभ्युड जर्नलमा प्रकाशित शोध लेखहरू, शोधमा आधारित गुणस्तरीय पुस्तक प्रकाशन, अनुसन्धानमूलक रिपोर्टिङ आदि हुनुपर्ने हो, ताकि पत्रकारिता शिक्षाको उनन्नयनमा उनीहरूको योगदान स्पष्ट देख्न सकियोस्। तर त्रिवि पत्रकारिता विभागमा राजनीतिक निकटताका आधारमा कुनै खास व्यक्तिलाई जिम्मेवारी र अवसरहरू दिइएको देखिन्छ। विभाग प्रमुख खनालले राजनीतिक झुकावका आधारमा प्रशिक्षक अर्याललाई आगामी नेतृत्वमा स्थापित गराउन भूमिका खेलेका छन्, जसप्रति विभागकै उनीभन्दा वरिष्ठ सहकर्मीहरू असन्तुष्ट छन्। विभागीय प्रमुख नै राजनीतिक वा विभिन्न बहानामा अयोग्यलाई काखी च्याप्ने, आकांक्षीबीच प्रतिस्पर्धा गराउने र अपारदर्शी गतिविधिमा संलग्न हुनाले यो प्राज्ञिक संस्था आफैंभित्र रुमल्लिइरहेको देखिन्छ।

५. खनालको ‘बालिघरे’ प्रथा

पत्रकारिता विभागमा बिहान स्नातकोत्तर तह र बेलुका एमफिल तथा पिएचडीको अध्यापन हुन्छ। विभागीय प्रमुख खनाल बिहान विभागमा प्रायः उपस्थित हुँदैनन्। यसको एउटा कारण हो, बालीघरे प्रथा-अर्थात् घरघरै बाली उठाउन जाने प्रथा। पत्रकारिता विभाग र पत्रकारबीचमै यो शब्द चर्चित छ। त्रिविअन्तर्गत देशभरि करिब ७५ वटा कलेजले स्नातक तहमा पत्रकारिता अध्ययन–अध्यापन गराउँछन्। ती कलेजमा हुने प्रयोगात्मक परीक्षा (भाइभा) का लागि केन्द्रीय पत्रकारिता विभागले तोकेको व्यक्ति पठाइन्छ। त्यसरी उपस्थित भएबापत सम्बन्धित कलेजले अनुगमनमा आएको व्यक्तिलाई कलेजअनुसार सामान्यतः दुइ–चार हजारदेखि १० हजार रुपैयाँसम्म दिने परिपाटी चलेको जानकारीमा आएको छ। तर कलेजले कति पैसा दिनुपर्छ भन्ने कुनै सीमा छैन।

उपत्यकाभित्रका क्याम्पसमा भाइभाका लागि सकेसम्म विभागीय प्रमुख आफैं जान्छन्, भाइभा लिइदिएबापत पैसा थाप्छन्। यो स्तम्भकारले जाउलाखेलस्थित क्यास्पियन भ्याली कलेज र कोटेश्वरको कोटेश्वर बहुमुखी क्याम्पसमा भाइभाका लागि आएवापत कलेजका तर्फबाट खनाललाई पैसा बुझाएको छ। आफू जान नसक्ने स्थानमा उनले आफ्ना एकजना विश्वासपात्रलाई पठाउँछन्। कमजोर विद्यार्थी धेरै भएका कलेजले भाइभाका लागि खटिएको व्यक्तिलाई धेरै पैसा दिएर राम्रो नतिजाको अपेक्षा गर्दछन्। पैसामा नतिजा प्रभावित हुने अवस्था आउनु भनेको प्राज्ञिक भ्रष्टाचार हो।

भाइभामा मात्रै होइन, त्रिविको अन्तिम परीक्षामा समेत नम्बर बढाएर पास गरिदिन्छु भनेर चितवनका एक विद्यार्थीसँग ४० हजार रुपैंयाँ लिएको आरोप विभागकै एकजना प्रशिक्षकमाथि लागेको थियो। पैसा दिएको दाबी गर्ने ती विद्यार्थी फेल भएपछि त्रिविको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा उजुरी पर्‍यो। तर राजनीतिक निकटताका आधारमा सफाइ दिइयो। भाइभामा जाने र नगदै पैसा माग्ने/उठाउने प्रवृत्तिले त्रिवि पत्रकारिता विभागको प्रतिष्ठा र हैसियत धुलिसात पारेको छ।

यसरी भाइभामा उपस्थित भइदिएबापत मनमौजी रुपमा उठाइने यस्तो पैसा वैधानिक रकम हो कि होइन? यदि हो भने एउटा कलेजमा उपस्थित भई भाइभा गराइदिए बापत पाउनु पर्ने रकमको दरभाउ कति हो? त्रिविका हरेक विद्यार्थीले परीक्षा दस्तुर बुझाइसकेको अवस्थामा कलेजसँग मनलाग्दी रुपमा लिइने यस्तो रकम उठाउने काम पक्कै पनि वैधानिक नहुनु पर्ने हो। पैसाको लोभमा भाइभा गर्न भन्दै विभागीय प्रमुख हिड्नाले बिहानको स्नातकोत्तर तहमा पढाइको अनुगमन, अध्यापन र व्यवस्थापन चौपट भएको छ। त्रिविले यस्तो बालिघरे प्रथाको वैधानिकताबारे स्पष्ट पारोस्। पैसा लिने काम अवैधानिक रहेछ भने आजसम्म उठाइएका त्यस्तो अवैधानिक रकम सम्बन्धित व्यक्तिबाट असुलउपर गराओस्।

६. कोचाकोच विद्यार्थी, कमजोर पूर्वाधार

विगत चार वर्षमा प्राध्यापक खनालको नेतृत्वमा पत्रकारिता विभागमा देखिएको विद्रुप दृश्य भनेको विद्यार्थीप्रति विभागले गरेको गैरजिम्मेवार व्यवहार हो, जसले स्नातकोत्तर, एमफिल र पीएचडीका विद्यार्थीहरू आजित छन्। त्रिविको सेमेस्टर सिस्टममा ४० जनासम्म विद्यार्थी एउटा कक्षामा राख्न पाइन्छ। पछिल्लो पटक झण्डै १२० जना विद्यार्थीलाई भर्ना लिइएको थियो। यस हिसाबले कम्तिमा तीनओटा सेक्सन हुनु पर्ने हो तर दुई वटामात्र सेक्सन छ। अझ केही वर्षदेखि त चौथो सेमेस्टरमा पुगेपछि ती दुवै सेक्सनका सबै विद्यार्थीलाई एउटै कक्षामा कोचेर पढाउने गरिएको छ। यस्तो कोचाकोचमा पढ्न सकिन्न भनेर विद्यार्थीहरूले तीब्र विरोध गरे पनि विभागीय प्रमुखले कहिले कक्षा कोठा नपुग भएको समस्या देखाउँछन् त कहिले ‘सेमेस्टर प्रणाली भनेको विभागको हातमा हुन्छ, बढी बोल्ने होइन’ भन्दै थर्काउने गरेको भुक्तभोगी विद्यार्थीहरूले बताएका छन्।

स्नातकोत्तर तहमा झन्डै २०० जना, एमफिलमा हरेक वर्ष २५ जना र पिएचडीमा २२ जना विद्यार्थी रहेको त्रिवि पत्रकारिता विभागसँग एउटा लाइब्रेरी छैन, कुनै प्राज्ञिक जर्नल प्रकाशन हुँदैन, विभागको आफ्नो वेबसाइट छैन, आधिकारिक इमेल छैन, मल्टिमिडियायुक्त कक्षाकोठा छैन, अन्तर्राष्ट्रिय जर्नलहरूको डाटाबेसमा पहुँच छैन।

निजी लगानीमा खुलेका पत्रकारिता कलेजहरू अहिले छुट्ट्रै पत्रकारिता विश्वविद्यालय चाहियो भनेर ऐन निर्माण गर्न माग गरिरहेका छन्। तर त्रिवि पत्रकारिता विभाग भने आफैं विश्वविद्यालय सरहको शैक्षिक केन्द्र बन्न सक्ने योग्यता भएर पनि आरआर क्याम्पसमा मुन्टो घुसारेर बसेको छ। देशभरिका ७५ कलेजमा पत्रकारिता पढाउन सम्बन्धन दिएको त्रिविमा स्नातक तहमा मात्रै सबै वर्षमा गरेर करिब ८-१० हजार विद्यार्थी होलान्। प्राध्यापकले गर्वसाथ पत्रकारिता केन्द्रीय विभाग भने पनि दुनियाँले बुझ्ने भनेको त्यही आरआर क्याम्पस हो। अर्थात्, पहिचान विनाको ठेगाना – न कुनै रंगरुप, न कुनै पूर्वाधार। अहिले त्रिविले पत्रकारिता विभाग बनाउनका लागि बल्खुमा जग्गा र २५ करोड बजेट छुट्याएको छ। विभागीय प्रमुखका नाताले त्यो बजेटको भान्से हुने पाइने आशामा खनाल राजनीतिक च्यानल प्रयोग गरी पुनः फर्किने दाउ खोजिरहेको त्यही पत्रकारिता अध्ययन गरेको एकजना पूर्वविद्यार्थी बताउँछन्।

स्नातकोत्तर तहमा झन्डै २०० जना, एमफिलमा हरेक वर्ष २५ जना र पिएचडीमा २२ जना विद्यार्थी रहेको त्रिवि पत्रकारिता विभागसँग एउटा लाइब्रेरी छैन, कुनै प्राज्ञिक जर्नल प्रकाशन हुँदैन, विभागको आफ्नो वेबसाइट छैन, आधिकारिक इमेल छैन, मल्टिमिडियायुक्त कक्षाकोठा छैन, अन्तर्राष्ट्रिय जर्नलहरूको डाटाबेसमा पहुँच छैन। यी सबै पूर्वाधार स्नातक तहदेखि नै नभइ नहुने आधारभूत आवश्यकता हुन्। तर यी पूर्वाधारहरूको अभावमा हुने पत्रकारिताको पढाइ स्विमिङ पुल बिनाको पौडी तालिमजस्तो भएको छ। तर विभागको ध्यान भने यस्ता प्राज्ञिक अनुसन्धान र अभ्यासमा लाग्नुभन्दा बैंकमा मुद्दती खाता खोलेर कराडौं रकम जम्मा गर्दै ब्याज खान केन्द्रित देखिन्छ।

७. विद्यार्थीको तीतो अनुभव

पत्रकारिता विभागमा अध्ययनरत धेरै विद्यार्थीले विभागीय प्रमुखको कार्यशैलीका कारणले शैक्षिक वातावरण निकै जटिल बन्दै गएको अनुभव सुनाए। उनीहरूका अनुसारपत्रकारिता कक्षामा प्रश्न सोध्नसमेत निरुत्साहन गर्ने गरिएको छ। अझ कतिपय प्रश्न पाठ्यक्रम, परीक्षा व्यवस्थापन र विभागीय नेतृत्वप्रति उठेमा त तिनलाई विभिन्न हिसाबले धम्क्याइन्छ। कुनै गुनासा लिएर विभागमा पुग्दा, तलाई फेल गरिदन्छु, नम्बर घटाइदिन्छु, थेसिसमा दुःख पाउँछस् भनेर त्रसित पार्ने गरिएको छ। त्रिवि पत्रकारिता विभागकै एक पूर्व विद्यार्थीले आफूसँगको ‘मिसअन्डरस्ट्याडिङ’का कारण विभाग नेतृत्वले आफ्नो परिवारका सदस्यलाई समेत दुःख दिएको भन्दै गुरुपूर्णिमाका अवसरमा फेसबुकमा लेखेको स्टाटसले निकै चर्चा पाएको थियो।

पिएचडी कक्षाको पहिलो दिनको अनुभव सुनाउँदै एकजना विद्यार्थीले मसँग भने– ‘सुरु दिन विभागीय प्रमुखले केही नयाँ कुरा भन्लान् भनेको, पिएचडी भए पनि अरु विद्यार्थीसरह कडा अनुशासनमा बस्ने नत्र नम्बर घटाइदिने चेतावनी दिएर गए।’ जुनसुकै तहको होस्, विद्यार्थीले आफ्नो क्षमता र कार्यकुशलताका आधारमा आफ्नो योग्यताको मापन होस् भन्ने चाहेका हुन्छन्। तर, आफूले भनेको नमाने नम्बर घटाइदिने भय उत्पन्न गरेर हामी कस्तो शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छौं ? एउटा प्राज्ञिक क्षेत्रमा विद्यार्थीले बहस गर्छ, आफूलाई पढाउने शिक्षकभन्दा अझ निख्खर कौशल लिएर अघि बढ्छ किनभने शिक्षक इतिहास हो, विद्यार्थी भविष्य। त्यसै ‘गुरु गुड, चेला चिनी’ भनिएको होइन। अब गुरुले भनेको सुन्नेमात्रै, कुनै प्रतिवाद नगर्ने, कुनै प्रश्न नसोध्ने हो भने हामी शैक्षिक जनशक्ति होइन, दासहरू उत्पादन गरिरहेका छौं।

एउटा प्राज्ञिक क्षेत्रमा विद्यार्थीले बहस गर्छ, आफूलाई पढाउने शिक्षकभन्दा अझ निख्खर कौशल लिएर अघि बढ्छ किनभने शिक्षक इतिहास हो, विद्यार्थी भविष्य। त्यसै ‘गुरु गुड, चेला चिनी’ भनिएको होइन।

त्रिवि एमफिल कार्यक्रममा अनुबन्धित एकजनाले गजब अनुभव सुनाए– ‘रिसर्च पढाउने व्यक्ति नभएको भन्दै खनालले इतिहास विषयका प्रा.डा. राजकुमार पोखरेल (हाल रिटायर्ड) लाई मिडिया रिसर्च पढाउन दिए। इतिहासको प्राध्यापकले मिडिया रिसर्च कसरी पढाउनु? तै पनि रिसर्चमा दख्खल राख्ने त्रिविबाटै पत्रकारितामा पिएचडी गरेका र रिसर्चको पुस्तक समेत लेखेका डा. टंक उप्रेतीलाई ल्याइएन जबकि उनलाई ल्याउन धेरैले सुझाव दिएका थिए र उनी पनि अवसर पाए सघाउन तयार रहेको जनाइरहेकै थिए। पछि थाहा भयो, प्रा.डा. पोखरेल नेपाल खुला विश्वविद्यालयका मानवश्रोत विभागका प्रमुख रहेछन्, जसले खनाललाई खुला विश्वविद्यालयको पत्रकारिता विषय समितिको अध्यक्ष बनाउन मद्दत गरे। आफू एउटा विश्वविद्यालयको विभागीय प्रमुख हुँदाहुँदै त्यस्तै प्रकृतिको जिम्मेवारीका लागि अर्को विश्वविद्यालयमा रहँदा स्वार्थ बाझिन्न?’ उनले प्रतिप्रश्न गरे।

अन्त्यमा, त्रिभुवन विश्वविद्यालय अहिले विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयको सूचीभित्र आफूलाई कायम राखिराख्न प्रयासरत छ viii। भर्खरै नियुक्त उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले शैक्षिक गुणस्तरका लागि कुनै सम्झौता नगरिकन एवम् विगतका त्रुटिसमेत सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, वर्तमान नयाँ नेतृत्वको त्रिविलाई अब्बल गराउने संकल्पमा त्रिविकै पत्रकारिता विभागको अप्राज्ञिक कार्यसम्पादनले कसरी प्रतिकूल असर पारेको रहेछ भन्ने बुझ्न यो समीक्षा काफी छ। नारायण गोपालले गाएको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगी’ मा भन्ने चाँदनी शाहको गीत त सुन्नु भएकै होला। एउटा मान्छेको महत्वाकांक्षा र अहमले कति फरक पार्दछ शैक्षिक संस्थामा भन्नेचाहिँ त्रिविको पत्रकारिता केन्द्रीय विभाग र त्यसका विभागीय प्रमुखको गतिविधि हेरे पुग्छ। पत्रकारिता विभागमा भइरहेको व्यक्तिकेन्द्रित मनपरितन्त्रलाई नसच्याउने हो भने गुणस्तरीय पत्रकारिता शिक्षा सम्भव छैन।

(प्रस्तुत आलेख लेखक आचार्यको पत्रकारितामा शिक्षा र अभ्यासमा देखिएका कमिकमजोरी केलाउने प्रयत्नको एक हिस्सा हो। पत्रकारिता शिक्षा बहसको अर्को भाग चाँडै प्रकाशन हुनेछ)

सन्दर्भ सामग्रीहरू
[i] Declaration of Principles (2007). World Journalism Education Council. Retrieved from, https://wjec.net/about/declaration-of-principles/

[ii] Banda, Fackson. (2013). Model curricula for journalism education: A compendium of new syllabi. Retrieved from,
https://www.comunesco.com/wp-content/uploads/2012/11/Model-Curricula-for-Journalism-Education.pdf
[iii] अधिकारी, निर्मलमणि र पन्त, लक्ष्मणदत्त (सन् २०१३),नेपाली विश्वविद्यालयहरूका पत्रकारिता पाठ्यक्रम। काठमाडौंः युनेस्को/काठमाडौं र सोडेक नेपाल।

[iv] Zhu, L., & Du, Y. R. (2018). Interdisciplinary learning in journalism: A Hong Kong study of data journalism education. Asia Pacific Media Educator, 28(1), 16-37.
[v] खनाल, चिरञ्जीवी, (२०६८), विश्वविद्यालयमा पत्रकारिता। काठमाडौंः प्रकाशक आफैं।
[vi] खनाल, चिरञ्जीवी, (२०६८), पत्रकारिता सन्दर्भ। काठमाडौंः प्रकाशक आफैं।
[vii] Wager, E., & Kleinert, S. (2010). Responsible research publication: International standards for authors. Promoting Research Integrity in a Global Environment. Singapore, 309-16. Retrieved from,
https://publicationethics.org/files/International%20standards_authors
_for%20website_11_Nov_2011.pdf
[viii] The World University Ranking. (2019). The Times Higher Education World University Rankings 2019. Retrieved from, ,
https://www.timeshighereducation.com/world-university-rankings/2019/world-ranking#!/page/0/length/-1/sort_by/rank/sort_order/asc/cols/stats

साभार -नेपाल लाइभ डट कम
@भानुभक्त आचार्य

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार