काठमाडौं|
पार्टीको आन्तरिक विवाद समाधानमा कांग्रेस सभापति सभापति शेरबहादुर देउवा गम्भीर नहुँदा शुक्रबारको केन्द्रीय समिति बैठक रामचन्द्र पौडेल पक्षले बहिष्कार गर्यो।पार्टी केन्द्रीय कार्यालयमा देउवा पक्षका केन्द्रीय सदस्यको उपस्थितिमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तय गरेको छ। पार्टीको आगामी महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ। असन्तुष्ट पक्षसँग बिना छलफल निर्णय आएको भन्दै पौडेल पक्षले आपत्ति जनाएको छ।
नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको असन्तुष्ट पक्षको छलफलले देउवाको एकल निर्णयको प्रतिवाद गर्ने बताएको छ। ‘एकलौटी निर्णय हामीलाई स्वीकार्य छैन’, नेता सिंहले अन्नपूर्णसँग भने, ‘एकल निर्णयको हामी प्रतिवाद गर्छौँ।’
त्यसैगरी शुक्रबारको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिको म्याद एक वर्ष थप गरेको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय कार्य समितिको म्याद ०७७ फागुन १९ गतेसम्म थप भएको हो। महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको म्याद थप भएको हो।
सँगै सानेपा बैठकले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने कांग्रेस केन्द्रीय विभागको संख्या २८ बाट ४१ पुर्याउने निर्णय गरेको छ।
पौडेल पक्षले अघि सारेका केही माग सम्बोधन भए पनि एकल निर्णय भएको भन्दै असन्तुष्ट पक्षले चर्को आपत्ति जनाएको छ। पौडेल पक्षले बटमलाइनको रुपमा अघि सारेको नेविसंघको विषयमा भने शुक्रबारको सानेपा बैठकले कुनै निर्णय गर्न सकेन। पौडेल पक्षले यी दुई भातृसंस्थामध्ये एकमा आफूले नेतृत्व पाउनु पर्ने दाबी गरेको छ भने देउवाले दुबैको नेतृत्व आफूलाई राखेर अन्य पद पौडेल पक्षलाई दिन सकिने बताएका छन्। यो विषयमा भने सानेपा बैठक मौन छ।