दैलेखको प्रमुख धार्मिकस्थल पञ्चकोसी घुम्नुभयो ?

– रमेश ढुंगाना

पञ्चकोसी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो। यो क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकाले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ, बन्नी तीर्थ पनि भनिन्छ। हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई वैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ।

प्राचीनकालका खसमल्ल राजाहरूले यस तीर्थलाई पञ्चकोसी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरेयता यस तीर्थको नाम पञ्चकोसी रहन गएको अनुमान छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीले यस क्षेत्रमा देव कर्म, पितृ कर्मलगायतका धार्मिक अनुष्ठान गर्नाले सिद्धि प्राप्त हुने विश्वास गर्दछन्।

भौगोलिक विकटताका कारणले उजागर हुन नसकेको पञ्चकोसीले धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्वसमेत ओगटेको छ।
नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिञ्जालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख यसै पञ्चकोसी क्षेत्रको दुल्लुमा रहेको छ।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपालद्वारा शाक्य ९ सय ३ तदानुसार विक्रम संवत् १०३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ। यसका साथै विक्रम संवत् १४१४ को पृथ्वी मल्लले बनाएको सातहात लामो कीर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ।

यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्व राख्दछन्। तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्व बोकेको स्थानका रूपमा लिइन्छ।

यस क्षेत्रको प्राकृतिक सौन्दर्यता, यहाँको संस्कृति र यस क्षेत्रमा रहेका अगण्य धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूले यस क्षेत्रमा आउने कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकको मन लोभ्याउन सफल भूमिका निर्वाह गर्ने भएकाले यस क्षेत्रले पर्यटकीय महत्वलाई पनि त्यत्तिकै अंगालेको छ। धार्मिक महत्वको कुरा गर्नुपर्दा यस क्षेत्रलाई संसारका सबै तीर्थभन्दा पनि पुण्य क्षेत्र मानिएको छ।

वाराणस्याः प्रयागश्च मायापुर्याः विशेषतः।
इदं क्षेत्रं महापुण्यं कलौ कल्मषनाशनम्।।

अथवा वाराणसी, प्रयाग, मायापुरी (हरिद्वार) भन्दा विशेष गरेर यो ज्वाला क्षेत्र महापुण्यदायक र यो कलियुगमा पापनाशक पनि छ। पादुका, नाभीस्थान, कोटिला, श्रीस्थान र धुलेश्वरलाई पाँचथान पञ्चकोसीको नाम दिइएको छ। कसै–कसैले कोटिलास्थानलाई छोडेर डुंगेश्वरलाई पञ्चकोसीभित्र समेटेको पनि पाइन्छ। हुन त डुंगेश्वर पनि दैलेख जिल्लाको एक पीठ नै हो।

पञ्चकोसी शब्द (पञ्चकोसी) को अर्थ पाँचकोश भन्ने हुन्छ। धुलेश्वर मन्दिरलाई पञ्चकोसी क्षेत्रको केन्द्र मानिन्छ। धुलेश्वर मन्दिर वरिपरिको पाँच कोशको परिधिभित्र पर्ने क्षेत्रलाई पञ्चकोसी भनिन्छ।

अर्को अर्थमा भन्नुपर्दा धुलेश्वर मन्दिरबाट पाँच कोश पूर्व, पाँच कोश पश्चिम, पाँच कोश उत्तर र पाँच कोश दक्षिणभित्र पर्ने सम्पूर्ण भूभाग पञ्चकोसी क्षेत्र कहलाइन्छ।

पञ्चकोसीको नामकरण

पौराणिक कालमा दैत्यले त्रिलोकमा अन्याय र अत्याचार गर्न थालेपछि ध्यानमा बसेका भगवान् शिवलाई जगाउनका लागि देवताले कामदेवलाई पठाए। आफ्नो ध्यान भंग भएकाले क्रोधमा आएर ध्यानमग्न शिवले आफ्नो तेस्रो नेत्र खोल्दा नेत्रबाट निस्केकी अग्निज्वालाले कामदेवलाई भस्म पारिन्।

यो देखेर भगवान् शिवलाई पश्चाताप भयो र आफ्ना ज्वालालाई एकत्रित गरेर फालिदिए। यो अग्निज्वाला हिमालय खण्डमा रहेको दुर्लभ पर्वतमा गएर खस्यो।

यसरी खसेका ज्वालाका तीन स्थान भए शिरस्थान, नाभिस्थान र पादुकास्थान। यसरी शिव अंगको बासस्थान भएकाले यहाँ सम्पूर्ण देवता, तीर्थ तथा नदी आएर बसे। यस क्षेत्रको बीचमा धुलीस्थान अथवा धुलेश्वर छ यहाँ सम्पूर्ण देवताको बास रहेको छ।

महाभारतका पात्र पाँच पाण्डव बनवास गएका बेला भीमसेनलाई सर्परूपी राजा नहुषले बाधा गर्दा पाण्डवका जेठा भाइ युधिष्ठिरले सर्परूपी राजा नहुषलाई सर्प रूपबाट मुक्त गरेका थिए।

यसै बेला सर्परूपी राजा नहुषको पादुकामा पाउ खसेको, नाभीस्थानमा नाभी खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धूलो (बाँकी रहेको अंग) खसेको, भन्ने भनाइ छ।

पञ्चकोसीको धार्मिक महत्व

ज्वालादेवी महापुण्या ज्वाला क्षेत्रं महद्भूतम्।
ज्वालाक्षेत्रस्य स्थानानी सर्वमेतत्सुदुर्लभम्।।
कोटीजन्मोद्भवं पुण्यं यस्य देहे प्रतिष्ठितम्।
स एव पावके ह्यस्मिन् क्षेत्रे प्राप्नोति संस्थितिम्।।

(महापुण्यदायी ज्वालादेवी, अद्भूत ज्वाला क्षेत्र र यस क्षेत्रमा रहेका सबै स्थानहरू अद्भूत भएकाले समस्त ज्वाला क्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ। त्यस कारण जसले कोटीकोटी जन्मसम्म पुण्यदायक कार्य गरेको छ, त्यसले मात्र ज्वाला क्षेत्रमा जन्मने र निवास गर्ने सौभाग्य प्राप्त गर्दछ।

हुन त दैलेख जिल्लाका हरेक कुनाकन्दरा, पहाडका चुचुरा मन्दिर र देवस्थलले सिंगारिएका छन्। यसैले दैलेख जिल्लालाई पौराणिक कालमा देवलोक भनिन्थ्यो। आजकाल पञ्चकोसी क्षेत्रलाई मात्र ज्वाला क्षेत्र भनिए पनि पुराणहरूमा समग्र दैलेख जिल्लालगायत भेरी र कर्णालीभित्रको सबै क्षेत्रलाई ज्वाला क्षेत्र भनेर वर्णन गरिएको छ।

वैश्वानर पुराणका अनुसार यहाँका प्रत्येक तीर्थस्थललाई अग्निदेवताको प्रतीक मानिन्छ। परापूर्व कालदेखि एक पवित्र तीर्थस्थलका रूपमा मानिने यस क्षेत्रमा श्राद्ध, पूजा, होम, जप, तप र दान इत्यादि कर्म गर्नाले महापुण्यदायक फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ।

पञ्चकोसीका मुख्य सम्पादन

खास गरेर पाँचवटा स्थानहरूलाई मात्र पाँचथान पञ्चकोसीको नाम दिइएको भए पनि पञ्चकोसी क्षेत्र भित्र अनेकौं धार्मिकस्थल पर्दछन्। मुख्य पाँच स्थानमा पनि प्रमाणिक आधारमा कोटिलास्थानलाई पञ्चकोसीको पाँचौं स्थान मानिएको छ भने केही व्यक्ति पञ्चकोसीको पाँचौं स्थान कोटिलास्थान नभएर डुंगेश्वर हो भनी दाबी गर्दछन्।

पञ्चकोसीमा गरिने हरिशंकरी यात्रामा र अन्य धार्मिक यात्रामा कोटिलास्थान र डुंगेश्वर दुवै स्थानलाई समेटिने गरिन्छ। यी मुख्य स्थानका साथै पञ्चकोसी तीर्थस्थलभित्र बालेश्वर मन्दिर, ब्रह्मकुण्ड, लामादुवाला, भैरवीकुण्ड, वाणगंगा, ललाट, ज्वालपादेवी, दुग्धेश्वर, शिवलिंगी, माधव पर्वत, क्षेत्रपाल भूमी, त्रिपुष्कर, शिखर मालिका, धर्मगद्दी, आदि अगण्य धार्मिकस्थल रहेका छन्। यीमध्ये मुख्य तीर्थस्थल यस प्रकार छन्।

१. पादुकास्थान

पञ्चकोसीको मुख्य स्थलमध्ये पादुकास्थान एक हो। यस क्षेत्रको शिलामा खुट्टाको छापलाई भगवान् विष्णुको पदचिह्न भएको स्थानीयको विश्वास छ। जसमा भक्तले रातो रंग र फूल अर्पण गर्छन्।

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेखको पादुका गाविसमा पर्दछ। यो स्थानमा भगवान् विष्णुका पदचिह्नको छाप भएको शिला प्राप्त भएकाले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ।

पहिले यहाँ शिरस्थान र नाभीस्थान जस्तै पानीमाथि ज्वाला बलेको देखिन्थ्यो त्यसैले यहाँ एक ज्वालाघर रहेको छ। तर, विसं २०२८ मा पादुका खोलामा आएको बाढीले ज्वाला पुरेकाले अब ज्वाला देखिँदैन।

पादुका खोलाको किनारामा भएको मन्दिरसहित उक्त बाढीले बगाएर लगेकाले खोलैभरि शिलालेख, मूर्ति, खम्बा, देवलका भग्नावशेष आदि पुरातात्विक वस्तु यत्रतत्र छरिएका छन्। कसैकसैले यस खोलाबाट मट्टितेल निकालेको पनि सुन्न पाइन्छ।

२. धुलेश्वर

यो स्थल दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्छ। यहाँ मन्दिरभित्र जमिनबाट धूलो निस्किन्छ। वैज्ञानिकहरू यसलाई मृत ज्वालामुखी बताउँछन् भने धार्मिक मान्यताअनुसार यो एक दैविक शक्तिद्वारा धूलो निस्केको मानिन्छ। धुलेश्वर मन्दिरलाई पञ्चकोसी तीर्थस्थलअन्तर्गत पर्ने पाँच स्थान पादुकास्थान, शिरस्थान, नाभीस्थान, कोटिलास्थान र धुलेश्वरमा मुख्य स्थान मानिन्छ।

वैश्वानर पुराण र ज्वाला पञ्चकोसी तीर्थयात्राको नियमअनुसार पादुकास्थान, शिरस्थान र नाभीस्थान मन्दिरको यात्रा गर्न धुलेश्वरबाट गएर बेलुका धुलेश्वरमा नै आएर बास बस्नुपर्ने नियम छ।

वैश्वानर पुराणको हिमवत् खण्डमा दुल्लुवरिपरि सवालाख पर्वतको बीचमा छरिएर रहेको ज्वाला पर्वत बद्रीनाथ र केदारनाथभन्दा पनि बढी पुण्यदायक छ भनेर वर्णन गरिएको छ। धुलेश्वर मन्दिर परिसरमा ज्वालाघर, भैरव मन्दिर, मष्टा मन्दिर, गाधीघर र शिव मन्दिर रहेका छन्। ज्वालाघरमा दुईवटा नेपाली भाषाको शिलालेख रहेका छन्।

३. नाभीस्थान

नाभीस्थान पञ्चकोसीअन्तर्गत पर्ने पाँच स्थानमध्यको एक स्थान हो। यो स्थान भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमानामा रहेको छ। नाभीस्थानमा मन्दिरभित्र पानी माथि इन्द्र ज्वाला र वडी ज्वाला नामका दुईवटा आगोको ज्वाला निरन्तररूपमा बलिरहेका देखिन्छन्। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मिक मान्यताअनुसार यी ज्वाला दैविक शक्तिद्वारा देखिएका हुन् भन्ने भनाइ रहेको छ।

श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्र तत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सतीदेवीको नाभी पतन भएकाले यस स्थानलाई नाभीस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने स्थानीय जनश्रुति रहेको छ। मन्दिर परिसरमा इँटा, काठ र माटोले बनेका तथा झिंगटीका छाना भएको दक्षिणाभिमुख दुईवटा सत्तल रहेका छन्। एउटा सत्तललाई कोठार (भण्डार) भनिन्छ भने अर्को सत्तललाई धर्मधुनी भनिन्छ।

नाभीस्थान मन्दिर पनि दुईपाखे झिंगटीको छानो भएको, इँटा काठ र माटोले बनेको तथा पश्चिमतर्फ फर्केर रहेको छ। मन्दिरको गजुर पित्तलको रहेको छ। मन्दिरको प्रवेशद्वारमा प्रस्तरको गणेश मूर्ति रहेको छ। मन्दिरको ढोकाको खापा विसं १९९७ मा तामाले मोडेको देखिन्छ।

४. शिरस्थान

श्रीस्थान पञ्चकोसीअन्तर्गत पर्ने पाँच स्थानमध्यको एक स्थान हो। यो स्थल दैलेख जिल्लाको भैरवी गाउँपालिकामा पर्दछ। श्रीस्थानमा मन्दिरभित्र पानीमाथि आगोको ज्वाला निरन्तररूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मिक मान्यताअनुसार यो ज्वाला दैविक शक्तिद्वारा देखिएको हो भन्ने भनाइ रहेको छ।

श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ।

नाभीखोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, कालभैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्।

ज्वालाघरभित्र निरन्तररूपमा बलिरहने आगोको ज्वालालाई शिवज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लोपट्टि कालभैरव मन्दिर रहेको छ। काल भैरव मन्दिरमा सधंै सेतो पर्दा लगाइएको हुन्छ।

कालभैरव मन्दिरमा पूजा गर्ने पुजारीबाहेक अरूलाई प्रवेश निषेध छ। कालभैरवमा बालब्रह्मचारीलाई मात्र पुजारी भएर पूजा गर्न पाउने प्रचलन छ। ज्वाला घरको पारिपट्टि नाभीखोलाको अर्को किनारामा अर्को ज्वाला मन्दिर रहेको छ। जसलाई कालज्वाला भनेर पूजा गरिन्छ। शिरस्थान मन्दिरमा नाथ सम्प्रदायका संन्यासीले पुजारी भएर पूजाआजा गर्ने प्रचलन रहेको छ।

५. डुंगेश्वर

डुंगेश्वर पनि पञ्चकोसीअन्तर्गत पर्ने दैलेख जिल्लाको एक धार्मिक पीठ हो। यो स्थान दैलेख जिल्लाको सबैभन्दा होचो स्थान तल्लो डुंगेश्वरमा अवस्थित छ। लोहोरे खोला र कर्णाली नदीको संगममा पर्दछ।

डुंगेश्वरमा सिद्धेश्वर महादेवको र डुंगेल मन्दिर गरेर दुईवटा मन्दिर रहेका छन्। पञ्चकोसीभित्र कोटिला र डुंगेश्वरमध्येको कुन स्थान पर्छ भन्नेमा विवाद छ। यो दुल्लु नगरपालिकामा जोडिएको नाउलेकटुवाल गाउँमा अवस्थित छ।

कर्णाली नदी र लोहरेखोलाको दोभानमा अवस्थित यो शिवालय कर्णाली राजमार्गको छेउमा छ। यो पीठको प्राचीनताको सम्बन्धमा रोचक ऐतिहासिक प्रसंग प्रचलित रहेको छ।

कोटिलास्थान

कोटीलास्थान पञ्चकोसीका पाँच स्थानअन्तर्गत पर्ने भए पनि तर कतिपयको मतअनुसार यो स्थान पञ्चकोसी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा महादेवकी पत्नी सतीदेवीको कोठी पतन भएकाले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाइ रहेको छ।

अर्को मतअनुसार यो स्थानमा देवताका राजा इन्द्रले कोटीहोम चलाएकाले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाइ रहेको छ। संसारको कुनै ठाउँमा पनि नपाइने इन्द्रजौ नामको वनस्पती यस ठाउँमा पाइन्छ।

सिमीको कोसाजस्तै फलेको फलको भित्र जौका दाना देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोमबाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ।

हरिशंकरी यात्रा गर्न नियम

हिन्दू मान्यताअनुसार भगवान् विष्णुलाई हरि भनिन्छ भने भगवान् शिवलाई शंकर भनिन्छ। हरि र शंकर अथवा विष्णु र शिवको संयुक्त पावन भूमिमा गरिने यात्रालाई नै हरिशंकरी यात्रा भनिन्छ।

वैश्वानर पुराणका अनुसार शिरस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर र पादुकास्थानलाई पञ्चकोसी भनिएको छ। हरेक वर्ष मंसिर महिनोको १ गतेदेखि यो क्षेत्रमा हरिशंकरी यात्राको शुरू गरेर पाँचैवटा तीर्थस्थानको विधिअनुसार पूजापाठ, दान, जपतप आदि कार्यहरू गरेर अन्तमा तल्लो डुंगेश्वरमा गएर विसर्जन गरिन्छ।

हरिशंकरी यात्राको शुरूमा पहिले नाभीस्थान स्थित भैरवी नदीमा स्नान, पूजापाठ र तर्पण आदि कार्य गरी यात्रा प्रारम्भ गरिन्छ। भैरवी नदी उत्तरतिर बगेकी छन्। त्यसपछि नाभीस्थान नजिकै रहेको सिद्धेश्वर पर्वतको दर्शन गरेर यात्रा अगाडि बढाइन्छ। नदीमा स्नान र पूजापाठ गरिन्छ। यो क्षेत्रमा रहेका सम्पूर्ण तीर्थहरू जस्तै भृगु तीर्थ, क्षेत्रपाल, ललाट, ब्रह्मशिला आदि तीर्थको दर्शन तथा पूजा गरिन्छ।

त्यसै स्थानको नजिकमा रहेका गंगा र यमुना भनिने नदीमा स्नान गरेर देह शुद्ध गरिन्छ। देहसुद्धीपछि अग्निपूजा तथा हवन गरेर वैश्वानर ज्वालाको दर्शन गरिन्छ। त्यसै गरी शिरस्थानमा गएर रुद्रावती र पद्मावती नदीको बीचमा रहेको प्रेतशिलामा पितृका लागि पिण्डदान गरेर शिरस्थानस्थित वैश्वानर ज्वालाको दर्शन गरिन्छ।

त्यसपछि त्यहाँ रहेका सम्पूर्ण तीर्थ जस्तै ललाट तीर्थ, नासिका तीर्थ, चक्षु तीर्थ कर्ण तीर्थ र शिखा तीर्थको दर्शन गरिन्छ। त्यहाँ नजिकै रहेको गन्धमादन पर्वतमा मालिका मन्दिरको दर्शन गरेर मालती नदीमा स्नान र जलपान गरिन्छ।

त्यसपछि सिद्धगंगा नदीमा स्नान गरेर कोटिलास्थानमा जानुपर्छ। त्यहाँ गएर कोटेश्वर महादेवको दर्शन गरेर तल्लो डुंगेश्वरस्थित सिद्धेश्वर महादेवको दर्शन पूजापाठ गरिन्छ। त्यसपछि स्वामी कार्तिकको दर्शन, पादुकास्थानको दर्शन गरेर धुलेश्वमा गएर हरिशंकरी यात्राको विसर्जन गरिन्छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार