एजेन्सी ।
पत्रकार जमाल खासोग्जीको हत्या गरेको अभियोगमा साउदी अरेबियाको अदालतले पाँच जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ ।गत वर्ष टर्कीको इस्तानबुलमा रहेको साउदी महावाणिज्य दूतावासमा खासोग्जीको हत्या गरिएको थियो । सोही घटनामा संलग्न रहेको भन्दै अदालतले सोमबार उनीहरुलाई दोषी ठहर गरेको हो । पाँच जनालाई मृत्युदण्ड र तीन जनालाई २४ वर्षको कैद सजायँ सुनाइएको हो ।
साउदी सरकारका कडा आलोचक खासोग्जीको हत्यामा युवराज मोहम्मद बिन सलमानको समेत हात रहेको आशंका गरिएको थियो । अमेरिकी पत्रिकाहरूमा कोलम लेख्ने खासोग्जीको हत्यापछि अन्तर्राष्ट्रिय संस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए ।
खासोग्जीको सन् २०१८ अक्टोबर २ मा पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागज लिन खासोग्जी टर्की, इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास छिरेका थिए । आफ्नी टर्किस प्रेमिका हटिजिया सेन्गिजलाई बाहिरै छाडेर भित्र छिरेका उनी घन्टौंसम्म पनि बाहिर निस्किएनन् ।
त्यसपछि खासोग्जीले नै दिएको राष्ट्रपतिका एक सल्लाहकारको नम्बरमा प्रेमिकाले फोन गरेर राजदूतावासभित्र छिरेका खासोग्जी बाहिर ननिस्केको जानकारी दिएकी थिइन् । त्यसपछि हत्या प्रकरण सार्वजनिक भएको थियो ।
हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा गरिएको आशंका गरियो भने साउनदीले त्यसको खण्डन गदै हत्या नै नभएको र महावाणिज्य दूतावास छिरेका उनी केहीबेरमै निस्केको झुटो प्रचार गरेको थियो ।
तर टर्कीस्थित साउदी महावाणिज्य दूतावासभित्रै खासोग्जीको हत्या भएको खबर त्यहीका कर्मचारीहरुले लिक गरिदिएपछि घटना सार्वजनिक भयो । हत्याको नेतृत्व राजकुमार सलमानका सल्लाहकार तथा विश्वासपात्र साउद अल खतानीले रियादमै बसेर गरेको खुलेको थियो । खासोग्जीलाई टुक्रा टुक्रा बनाएर काटेर क्रूरतम रुपमा हत्या गरिएको खुलेको थियो ।