सिड्नी ।
अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले आयोजना गरेको फुटबल लिगको खेलमैदान युद्धभूमिमा परिणत भएको छ । अष्ट्रेलियाली नेपाली समाज गोर्खा नेप्लिज कम्यूनिटीले आइतबार आयोजना गरेको जीएनसी लिगमा दुईपक्षबीच आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
सिड्नीको चेष्टर हिलस्थित मैदान क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्सबीच प्रतिस्पर्धा भइरहेको बेला क्याम्सीका खेलाडीहरुले गोर्खाका एक खेलाडीलाई मरणासन्न हुनेगरी आक्रमण गरेका हुन् । कुटाई खाने खेलाडीको नाम भने सार्वजनिक भएको छैन । हाल उनको उपचार सिड्नीस्थित एक अस्पतालमा भइरहेको छ । उनी हालसम्म पनि आईसीयूमै रहेको बताइएको छ । घटनाको कारणबारेमा थप जानकारी आएको छैन ।
यो प्रतियोगिता नेपालीहरुमाझ लोकप्रिय भए पनि हरेक वर्ष लफडा हुने गरेको छ । अघिल्लो वर्ष पनि यो प्रतियोगितामा लफडा भएको थियो ।