– एजेन्सी
आफ्ना मन्त्रीले विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनलाई ‘सेल्स गर्ल’ भनेपछि इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छन्।
केही दिनअघि एक रेडियो अन्तरवार्तामा इस्टोनियाका आन्तरिक मन्त्री मार्ट हेल्मीले फिनल्याण्डकी ३४ वर्षीया प्रधानमन्त्री मरिनलाई ‘सेल्स गर्ल’ भनेका थिए। ‘हामी देख्न सक्छौ कसरी एक सेल्स गर्ल प्रधानमन्त्री बन्छिन्’, हेल्मीले भने,’कसरी केही सडक अभियान्ताहरु र अन्य अशिक्षित व्यक्तिले उनको मन्त्रिपरिषदमा सामेल हुन्छन्।’
मरिनको मन्त्रिपरिषदमा अधिकांश महिला मन्त्री छन् भने चार जनाको उमेर ३५ वर्षभन्दा कम छ। राष्ट्रपति कालजुलेडले हेल्मीका तर्फबाट माफी मागेकी हुन्। साथै उनले हेल्मीको भनाइले आफू लज्जित भएको बताएकी छन्।
मरिनले ट्वीटरमा विश्वविद्यालय जानुअघि आफूले क्यासियरको काम गरेको लेखेकी थिइन्। सामान्य आर्थिक अवस्था भएका बच्चाले पनि फिनल्याण्डमा कसरी आफ्नो सपना पूरा गर्न सक्छन् भन्नेमा उनको ट्वीट केन्द्रीत थियो।
सोही कुरालाई लिएर रूसका लागि पूर्वराजदूतसमेत रहेका हेल्मीले मरिनको खिल्ली उडाएका हुन्। तर अहिले उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। विपक्षी सांसदहरूले हेल्मीको राजीनामासमेत मागेका छन्।
को हुन् मरिन्?
जन्म सन् १९८५ नोबेम्भर १६ मा फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भएको थियो। अहिले उनी टाम्परमा बस्दै आएकी छिन्।
मरिन आमा र आमाकी गर्लफ्रेन्डबाट जन्मिएकी हुन्। यद्यपी उनकी आमा को हुन् भन्ने कतै खुलाइएको छैन। न्यून आर्थिक अवस्थाका मरिनका आमाहरूले मरिनलाई भाडाको कोठा बिताएका थिए।
मरिनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी छिन्। मरिनको परिवारमा स्नातकोत्तर गर्ने उनी नै पहिलो हुन्। मरिनकी एक वर्षीया छोरी छन्। मरिनले किशोरावस्थामा प्रधानमन्त्री त के राजनीतिमै लाग्छु भन्ने पनि सोचेकी थिइनन्। मरिनले आफ्नो राजनीतिक यात्रा सामाजिक लोकतान्त्रिक पार्टीमा आवद्ध भएर २७ वर्ष हुँदा सुरू गरेकी थिइन्।
टाम्पर शहरमा सन् २०१२ मा स्थानीय परिषदको चुनावबाट राजनीतिमा प्रवेश गरेकी मरिनले आफ्नो राजनीतिक यात्राको छोटो समयमै फिनल्याण्डको प्रधानमन्त्री बन्ने मौका पाएकी हुन्। सन् २०१० देखि २०१२ सम्म सामाजिक लोकतान्त्रिक पार्टीमा मरिन उपसभापति भएकी थिइन्। ३० वर्षको उमेर उनी फिनल्याण्डका सासंदका रुपमा निर्वाचित भएकी थिइन्।
सन् २०१४ मा उनी पार्टीको उपाध्यक्षमा निर्वाचित समेत भइन्। सांसद बनिसकेपछि उनले ‘समानता, स्वतन्त्रता र शान्ति’लाई नारा बनाएकी थिइन्। यही वर्ष उनी यातायात तथा सञ्चार मन्त्री बनेकी थिइन्। फिनल्यान्ड पाँच दलको गठबन्धनमा सरकार गठन भएको छ।
मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका छन्। मरिन राजनीतिसँगै सामाजिक सञ्जालमा समेत सक्रिय छन्। धेरै कम प्रधानमन्त्रीमात्र इन्स्टाग्राम प्रयोग गर्छन्। त्यसमध्ये मरिन एक हुन्।
उनी आफ्ना प्रायस् सबै क्रियाकलापका तस्बिर इन्स्टाग्राममा राख्ने गर्छिन्।