सिड्नी – गोर्खा नेप्लिज कम्युनिटी क्लबले आयोजना गरेको फुटबल खेलमा खेलाडीहरूबीच झडप हुँदा एक खेलाडी गम्भीर घाइते भएका छन् । हाल उनको सिड्नीस्थित वेष्टमिड अस्पतालमा उपचार भइरहेको छ ।
अस्ट्रेलियाको नेपाली समुदायमा सबैभन्दा पुरानो र पहिलो फुटबल लिग गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको एक खेलमा प्रतिद्वन्द्वी खेलाडीहरू एकआपसमा मैदानमा भिड्दा उक्त घटना भएको हो ।
गत आइतबार १५ डिसेम्बरका दिन दिउँसो सिड्नीको चेष्टर हिलस्थित मैदानमा सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली सामुदायिक क्लबहरू बीचको खेलपछि क्याम्सी एफसीका खेलाडीहरूले गोर्खा स्पर्सका एक खेलाडीलाई मैदानबाहिर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । उक्त घटनामा ती खेलाडीको टाउकोमा चोट लागेको थियो ।
घटनापश्चात् मैदानमा प्रहरी तथा एम्बुलेन्स बोलाइएको थियो । घाइते खेलाडीलाई उपचारार्थ सिड्नीको अबर्न हस्पिटल लगिएकोमा आन्तरिक रक्तश्राव भएकाले त्यहाँबाट वेष्टमिड अस्पतालमा लगिएको बताइएको छ । हाल उनी अस्पतालमैँ रहेको बुझिएको छ भने घटनासम्बन्धी प्रहरीले छानबिन गरिरहेको छ ।
नेपाली सामुदायका टोली बीचको प्रतिष्पर्धामा त्यो पनि प्रवासमा यस्तो घटना हुनु सम्पूर्ण नेपाली समुदायको लागि दुःखद् कुरा भएको समुदायका अग्रजहरू बताउँछन् । “यस्ता दुर्घटना रोक्न अब आधिकारिक सुरक्षाकर्मी लगायतका आवश्यक प्राविधिक टोलीको व्यवस्था गर्नुपर्छ ।” नाम उल्लेख गर्न नचाहने एक अधिकारीले भने ।
गत वर्षको लिगमा सगरमाथा फुटबल क्लब र सेन्ट जोर्ज नेप्लिज क्लब बीचको खेलका क्रममा खेलाडीहरू मैदानमा कुटाकुटमा उत्रिएपछि त्यस घटनाको सर्वत्र निन्दा गरिएको थियो ।
फुटबल वा अन्य कुनै पनि प्रकारका खेलकुदका दौरान वा खेलपश्चात् खेलमैदान बाहिर हुने साधारण झै झगडानै किन नहुन् त्यसलाई अष्ट्रेलियाको कानुनले आपराधिक कार्य मान्ने गरेको छ । यदि दोषी ठहर भएमा अस्ट्रेलियाको कानूनवमोजिम कारवाही हुने कानुनविद्हरू बताउँछन् ।