अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी भरे जस्तै गरी भर्न मिल्ने भएको छ ।कामदारका लागी अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको हो । आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।कामदार भिसा एचवानबीमा दर्ता गर्नका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ ।
गत नोभेम्बरमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्दै कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क १० डलर लिने जानकारी गराएको थियो।
यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको हो ।
विद्युतीय रुपमा दर्ता हुने बाहेक अरु नियम सन् २०१९ देखि नै लागु गरिएको थियो । यसै बर्षदेखि लागु नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन समेत थप मुस्किल बनाएको छ ।
तर अमेरिकन डिग्री होल्डरका लागि भने विगतको तुलनामा निकै सहज भएको हो । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।
एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ ।श्रमिकले भने भिसाका लागि भने रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने भएको छ । आवेदनबाट छनौटमा परेका श्रमिकले भने अमेरिकी रोजगारदाता कम्पनीमा सिधै सम्पर्क गर्न सकिने जनाइएको छ ।