काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दूर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनु भएको छ । पछिल्लो समय सडक दूर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भावुक रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दूर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका थिए ।
‘सिन्धुपाल्चोकको सडक दूर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खवर पढेँ, विरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता दूर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु प¥यो ।’
प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दूर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए ।
‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबललेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा समग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’ हवाई दूर्घटनामा जस्तै हरेक सडक दूर्घटनाका कारणहरुको छानविन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दूर्घटनाको छानविन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ ।
छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दूर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमूख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरेका थिए ।