धनुषा बम विस्फोटः पाँचजना पक्राउ

– नवीन सिंह, जनकपुर।

धनुषाको क्षिरेश्वरनाथमा प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान जानेगरी भएको शक्तिशाली बम विस्फोटमा गृह मन्त्रालय र प्रहरीले छुट्टा–छुट्टै टोली बनाएर अनुसन्धान गरिरहेका छन् ।

घटना कसले र किन गरायो ? भन्ने तथ्य सार्वजनिक नभएपनि घटनामा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द समूहका पाँचजना कार्यकर्ता पक्राउ परेका छन् । शुक्रबार राति करिब १२ बजेतिर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित मृतक राजेश साहको घरको ढोकामा शंकास्पद वस्तु झुन्ड्याइएको भेटियो ।

घरमूली राजेश परिवारका सदस्यसहित नजिकै रहेको भाइ राजकुमारको घरमा गए । प्रहरीलाई सूचना गरेपछि प्रहरी निरीक्षक अमिरकुमार दाहालसहितको टोली राजेशको घर पुग्यो ।

झोलामा प्रेसरकुकर देखेपछि प्रहरी निरीक्षक दाहालले तर्साउनका लागिमात्र राखेको हुनसक्ने अनुमान लगाइ झोलालाई लट्ठीले चलाउँदा विस्फोट भएको स्थानीयको भनाइ छ ।

विस्फोटमा परी घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको तत्काल मृत्यु भयो भने प्रहरी निरीक्षक अमिरकुमार दाहालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा मृतक राजेशका पिता ७० वर्षीय भिखारी साह, छोरी अन्दाजी १९ वर्षीया निक्कीकुमारी, कान्छो छोरा १२ वर्षीय प्रकाश साह तथा प्रहरीजवान रिजनाथकुमार महतो घाइते भएका छन् । उनीहरु उपचाररत् छन् ।

यता, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले भने प्रहरीले झोला चलाएपछि विस्फोट भएको भन्ने कुरा भ्रामक रहेको दाबी गरे । विस्फोट हुँदा प्रहरी टोली चार/पाँच मिटर पर रहेको उनको भनाइ छ ।

मृतक राजेश औषधि व्यवसायी भएको र उनले ‘मिटर ब्याज’मा ऋण उपलब्ध गराउँदै आएको स्थानीयको भनाइ छ । व्यवसायी भएकाले लेनदेनको विषय कारण हुनसक्ने प्रहरीको आशंका छ ।

यद्यपि, बम विस्फोटको सम्बन्ध योसँग भए/नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका पाँचजना स्थानीय नेतालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार