पौडेल, सिटौला र सिंहद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको बैठक उनीहरुले बहिस्कार गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु बढाउन लागेको, १४औं महाधिवेशनको कार्यतालिकाको प्रस्ताव ल्याउन तयार नभएको भन्दै बैठक बहिस्कार गरेको जनाइएको छ ।

बैठक बस्नुअघि भएको शीर्ष नेताहरुबीचको छलफलमा संस्थापनपक्ष महाधिवेशन सार्ने पक्षमा देखिएपछि असन्तुष्ट नेताहरुले बैठक बहिस्कार गरेको बुझिएको छ।
बहिस्कारकाबीच सुरु भएको बैठकमा सभापति देउवाले केन्द्रीय विभाग बढाउने प्रस्ताव गरेको जनाइएको छ ।

कांग्रेसको विद्यमान विधानमा २८ ओटा केन्द्रीय विभाग रहने व्यवस्था भएपनि देउवाले त्यसमा १७ ओटा विभाग थपेर ४७ ओटा पुर्‍याउने प्रस्ताव गरेको जनाइएको छ ।

यस्तै, सभापति देउवाले बैठकमा अरु ९ ओटा एजेन्डा पनि प्रस्तुत गरेको र आउँदो पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको विषयमा छलफल भएको जनाइएको छ ।

अर्को बैठक आउँदो आइतबारका लागि तय गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार