– गणेश पाण्डेय, पोर्चुगल।
पोर्चुगल सरकारले गत बर्ष जुलाईमा नागरिकता सम्बन्धी नयाँ कानुन लागू गरेदेखि पोर्चुगलको नागरिकता आवेदकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नयाँ कानुन लागू भएयता मात्रै १ लाख ५२ हजारले पोर्चुगलको नागरिकताको लागि आबेदन दिएका छन्।
न्याय मन्त्रालयको तथ्यांक अनुसार सन् २०१३ देखि गतबर्षसम्म ५ बर्षको अवधिमा पोर्चुगलको नागरिकताको लागि आबेदन दिनेहरुको संख्या १ लाख ७५ हजार थियो। तर यो वर्ष, अक्टोबर को अन्त सम्ममा मात्रै नागरिकताको लागि आबेदन दिनेहरुको संख्या १ लाख ५२ हजार नाघेको छ।
यद्यपि गत वर्षको बिचमा मात्रै नागरिकता सम्बन्धी राष्ट्रियता कानूनमा परिवर्तनहरू लागू भएतापनि २०१३ देखि नै नागरिकता आवेदकहरुको संख्यामा वृद्धि भइरहेको छ।
पछिल्ला ६ बर्षमा मात्रै पोर्चुगलको नागरिकता लिनेहरुको संख्या ७ लाख ३८ हजार नाघेको छ। यस वर्षको पहिलो १० महिनामा मात्रै पोर्तुगाली नागरिकता पाउनेहरुको संख्या १ लाख ३ हजार नाघेको छ।
सन् २०१३ यता पोर्चुगलको नागरिकता आबेदन दिनेहरुमध्ये ८३ प्रतिशतले नागरिकता पाईसकेका छन् भने अझै १ लाख ७२ हजार आबेदनहरु छानबिनको क्रममा छन्।