काठमाडौं।
जलपरी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा तहल्का मच्चाउँदै कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।आइतबार ललितपुरको सातदोबाटोस्थित पौडीपोखरीमा भएको महिलातर्फको ४ सय मिटर फ्रिस्टाइल स्पर्धामा अर्को स्वर्ण जित्दै एउटै साग खेलकुदको एकै संस्करणमा ३ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
गौरिकाले ४ सय मिटर फ्रिस्टाइलको दूरी चार मिनेट २५ दशमलव २८ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारतकी चर्चित प्रतिद्धन्द्धी सिवांगी शर्माले रजत पदक जितिन । सिवांगीले चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पूरा गरेकी थिइन ।
श्रीलंकाकी रामुदी नुलाराको नाममा काँस्य पदक रहयो । नुलाराले चार मिनेट ४१ दशमलव नौ सेकेण्डमा पूरा गरेकी थिइन ।गौरिकाले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भएकी थिइन ।
लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यस अघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा रजत पदक दिलाएकी थिइन ।
रियो ओलम्पिकमा सहभागी खेलाडी मध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी थिइन ।गौरिका एएसलसीमा बोर्ड फस्ट ल्याउन सफल गरिमा राणा तथा पारस सिंहकी पुत्री हुन् ।