काठमाडौं।
पौडीकी चर्चित किशोरी गौरिका सिंहले नेपालका लागि पौडीमा अर्को स्वर्ण पदक दिलाएकी छिन् ।लतिलपुरको सातदोबाटोस्थित पौडीपोखरीमा जारी खेल अन्तर्गत आज भएको महिलाहरुको २ सय मिटर व्याकस्ट्रोकमा सिंहले नेपालका लागि अर्को स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
उनले उक्त स्पर्धाको दूरी २ मिनेट १७ दशमलव ७३ सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतीय खेलाडीको हातमा रजत र तेस्रो स्थान श्रीलंकाली खेलाडीले हात पारे ।यो स्पर्धामा भारतकी मन्नु राजीव पटेलले २ मिनेट २० दशमलव ७१ सेकेन्डको टाइमिङ निकाल्दै रजत जित्दा श्रीलंकाकी पौडीबाज गंगा एसडी सेनले २ मिनेट २७ दशमलव २५ सेकेन्डको टाइमिङमा कास्य पदक हात परिन् ।
गौरिकाले यस अघि बिहीबार भएको २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन । सागको खेलकुदमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी बन्न पनि गौरिका विहीबार सफल भएकी थिइन् ।