नेपाली विद्यार्थीद्वारा अमेरिकामा नेपाल भ्रमणको प्रचार

न्युयोर्क । अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

अमेरिकाको मिसौरी राज्यस्थित रहेको ड्रुरी युनिभर्सिटीमा आर्किटेक्ट इञ्जिनियरिङ अध्ययन गरिरहेकी काठमाडौंकी आशिका श्रेष्ठ र सोही युनिर्भसिटीमा वित्तशास्त्र अध्ययन गरिरहेका काठमाण्डौंका ननिश श्रेष्ठले युनिर्भसिटीमा आयोजित कार्यक्रममा नेपालको बिषयमा जानकारी दिदैं नेपाल भ्रमण गर्न आह्वान गरेका हुन् ।

अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा युनिर्भसिटीद्वारा आयोजित ग्लोब हब कार्यक्रममा नेपाल सम्बन्धि जानकारी मूलक प्रस्तुती दिँदै उनीहरुले विदेशीहरुलाई नेपाल भम्रण गर्न आग्रह गरेका हुन् ।

अमेरिकनसहित झण्डै २० मुलुकका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा नेपालको भाषा, कला, लोक संस्कृति, सांस्कृतिक र पुरातात्विक सम्पदा, नेपालका हिम श्रृंखला, बुद्ध जन्मस्थल लुम्बिनी लगायत नेपालका पर्यटकीय क्षेत्रका बिषयमा जानकारी दिइएको आशिका श्रेष्ठले बताइन् ।

नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि भएको देशका रुपमा चिनाउँदै उनीहरुले नेपाल सांस्कृतिक र पुरातात्विक सम्पदाले भरिपूर्ण रहेको जानकारी दिएका थिए ।

सो अवसरमा आशिका र ननिशको प्रस्तुतीमाथि जिज्ञासा राख्दै कार्यक्रममा सहभागी अमेरिकनहरुले नेपाल भ्रमण गर्ने प्रतिक्रिया दिएको आशिकाले बताइन् ।

नेवारी भेषभूषामा सजिएकी आशिका र दौराशुरुवालमा प्रस्तुत भएका ननिशले नेपालको राष्ट्रिय झण्डाका साथमा नेपालसम्बन्धी जानकारीमूलक पोस्टर, तस्बिर, ब्यानरसहित प्रस्तुती दिएका थिए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न तथा विदेशीहरुलाई नेपालको बिषयमा जानकारी दिने र नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालसम्बन्धी जानकारीमूलक प्रस्तुती दिँदै नेपाल भ्रमण गर्न आह्वान गरिएको आशिकाले बताइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार