काठमाडाैं|
उत्तर कोरियाले शनिवार एक बयान जारी गर्दै जापानका प्रधानमन्त्री शिन्जो आबे इतिहासकै सबभन्दा मूर्ख मानिस भएको बताएको छ।उत्तरले बिहीवार विशाल मल्टीपल लोन्च रकेट सिस्टम परीक्षण गरेको दुई दिनपछि आबेलाई आलोचना गरेको हो । दक्षिण कोरियाले दुईवटा क्षेप्यास्त्रहरू सी अफ जापानमा विसर्जन गरिएको बतायो ।
उत्तर कोरियाली नेता किम जोङ उनले प्रक्षेपणको निरीक्षण गरेका थिए । आबेले उत्तरका ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणबाट संयुक्त राष्ट्रसंघको पारित प्रस्तावको उल्लंघन भएको बताएका थिए ।‘आबे संसारकै एक मात्र बुद्धू मानिस हुन् र इतिहासकै सबभन्दा मूर्ख पुरुष हुन् किनकि उनी क्षेप्यास्त्र र मल्टीपल लोन्च रकेट सिस्टम समेत छुट्ट्याउन सक्दैनन्,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीको बयान सरकारी समाचार संस्था केसीएनएले छाप्यो ।
‘आबेले वास्तविक ब्यालिस्टिक क्षेप्यास्त्र निकट भविष्यमा उनकै नाकमुनि देख्नेछन् । आबे बुद्धिहीन प्राणी हुन्,’बयानमा लेखिएको छ।उत्तरले आबेसँग कुनै सम्झौता नगर्नु नै ठीक हुन् ती अधिकारीले बताए । राजनीतिक उचाइ नभएको व्यक्तिसँग सम्झौता गर्दा बदनामी मात्र हुने उनले भने।केही दिनअघि मात्र उत्तरले आबेलाई मूर्ख तथा खलनायक पनि गाली गरेको थियो । त्यतिखेर पनि आबेले क्षेप्यास्त्र परीक्षणको विरोध गरेका थिए ।
-एजेन्सी