भोईस अफ नेपाल टि.भी
लिस्बन
बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ । आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जनाए ।नेपालमा मध्यम व्यापार गरेको उक्त चलचित्रले युरोपमा भने प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ । युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ । त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनयमा डेब्यु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह–नायिकाको भूमिका देख्न सकिनेछ ।
चलचित्रका लाईन प्रोड्युसर प्रकाश कडरिया युरोपेली मुलुक पोर्चुगल निवासी भएकोले युरोपमा चलचित्रको राम्रो प्रदर्शन हुने निर्माण पक्षको बिश्वास छ। लोहनीले भने,‘हाम्रो चलचित्रको लाईन प्रोड्युसर नै युरोप निवासी हुनुहुन्छ, युरोपमा गैरआवासी नेपाली र ईनासको बाक्लो उपस्थिति छ, त्यसैले युरोप शो व्यापक हुने हाम्रो विश्वास छ ।’
नेपालमा पनि राम्रो व्यापार गर्ने अपेक्षा हुँदाहुँदै पनि रिलिज मिति राम्रो नहुँदा र चलचित्रकर्मीहरुबीच नै अस्वस्थ प्रतिष्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकिएको लोहनीको गुनासो छ । यद्धपी उनले उक्त चलचित्र हेर्ने दर्शकहरुले राम्रो चलचित्र बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए । उनले थपे,‘चलचित्रकर्मी र समिक्षकहरुले पनि राम्रो चलचित्र बनेको भनेर भन्नुभएको थियो ।’
अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको टाईटल गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ गीत अत्यधिक रुचाईएको थियो । चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको थियो । चलचित्रको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए ।
लोहनी यही नोभेम्बर २७ तारिख युरोप टुरमा जाँदैछन् । युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए । चलचित्रको प्रस्तुतकर्ता प्रदीप उदय हुन् ।