इमिरेट्सले ५० एयरबसका विमान थप्दै

दुबई (यूएई) । संयुक्त अरब इमिरेट्स (यूएई)को वायु सेवा प्रदायक इमिरेट्सले एयरबसको ५० ए३५० मोडलका विमान खरीद गर्ने भएको छ । सोमवार इमिरेट्सले १६ अर्ब डलरमा उक्त विमानहरू खरीद गर्ने घोषणा गरेको हो । दुबईमा आयोजित ‘दुबई एयर शो’मा उक्त जानकारी दिइएको हो ।

यसअघि इमिरेट्सले ७० विमानको अर्डर दिने गरी वार्ता शुरू भएको थियो । जसमा ४० ए३५० मोडलको र ३० ए३३०–९०० नियो मोडलका विमान थिए । तर, यसमा परिवर्तन गर्दै इमिरेट्सले थप १० ओटा ए३५० विमान खरीद गर्ने निर्णय गरेको हो । एयरबसका अधिकारीले उक्त प्रदर्शनीमा बोल्दै इमिरेट्सका लागि ए३८० मोडलको विमान उपयुक्त हुने भनाइ राखे । सो क्रममा बोल्दै इमिरेट्सका अध्यक्ष तथा सीईओ शेख अहमदले कम्पनीका लागि ए३५० मोडलको विमान नै उचित हुने विचार व्यक्त गरे ।

उनले कम्पनीका लागि यो मोडलको विमानले यसअघि राखिएको लक्ष्यअनुसारको ए३५० र ए३८० दुवै मोडलको आवश्यकता पूर्ति गर्ने धारणा व्यक्त गरे । यसबाट कम्पनीले महत्त्वपूर्ण सेवा विस्तारको मौका पनि पाउने उनको भनाइ छ ।

इमिरेट्सका सीईओले ए३३० मोडलको विमानको अर्डर रद्द गरिनुको कारण भने खुलाएनन् । अहिले भएको सम्झौताअनुसारको अन्तिम अर्डर सन् २०२१ सम्ममा आउने बताइएको छ । बोइङको विमानमा देखिएको समस्याको कारण एयरबसलाई फाइदा पुगेको समाचारको भने एयरबसले खण्डन गरेको छ । बोइङको विमानमा देखिएको समस्याले कसैलाई पनि फाइदा नपुग्ने एयरबसको भनाइ छ । यसैबीच शारजहाँमा रहेको एयर अरेबियाले पनि एयरबसका १२० विमान खरीद गर्ने घोषणा गरेको छ । कम्पनीले एयरबसको ए३२० नियो परिवारको विमान खरीद गर्न लागेको हो ।

दुबई एयर शोकै क्रममा एयर अरेबियाले ७० ए३२० मोडलका विमान तथा बाँकी ए३२१ एक्सएलआर र ए३२१ नियो मोडलको विमान रहने बताइएको छ । एयर अरेबियाका सीईओ अदेल अलीले अहिले घोषणा गरेअनुसारको विमानको समग्र मूल्य १४ अर्ब डलर रहेको बताए । उनका अनुसार पहिलो डेलिभरी सन् २०२४ सम्ममा हुनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार