काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ८ जना खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ट्वेन्टी–२० क्रिकेट लिगको ‘ड्राफ्ट’मा परेका छन् ।पहिलोपटक नेपाली ८ खेलाडी कुनै अन्तर्राष्ट्रिय लिगको ड्राफ्टमा पर्न सफल भएका हुन् ।
पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप लामिछाने, पारस खड्का, सोमपाल कामी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल समावेश भएका हुन् ।
सन्दीप न्यूनतम् एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार अमेरिकी डलर रहेको ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीपले पीएसएलको गएको संस्करण पनि खेलेका थिए ।
अरु सात खेलाडी न्यूनतम् १५ हजारदेखि अधिकतम् ३५ हजार अमेरिकी डलर रहेको ‘सिल्भर’ श्रेणीमा परेका हुन् ।ड्राफ्ट यही मंसिर २० र २१ गते हुनेछ । एक टोलीले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
एक टोलीले प्लाटिनम, ‘गोल्ड’ र ‘डायमन्ड क्याटगोरी’का तीन/तीनजनामात्र किन्न पाउने नियम छ । त्यस्तै, सिल्भर क्वाटगोरीका पाँच र ‘इमर्जिङ’ दुई खेलाडी राख्नुपर्ने हुन्छ ।
पीएसएलमा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।