यौन हिंसामा परी आत्महत्याको प्रयास गरेकी सिमा ‘स्टाफ नर्स’ पढ्दै, नेपाली नारी समाज पोर्चुगलले आर्थिक सहयोग संकलन गर्दै

देबकी बिष्ट, नेपाल 

बहादुर त्यो होइन, जो डराउँदैन। बहादुर त त्यो हो, जो डर हुँदाहुँदै निरन्तर अगाडि बढिरहन्छ।’

साहिदुल आलिमको यो भनाई सुदूरपश्चिम बाजुराकी एक महिलाको जीवनसँग ठ्याक्कै मेल खान्छ।

जीवनमा सुखको अनुभूति कहिल्यै गर्न नपाएकी उनी ५ वर्षको उमेरदेखिनै दुःखलाई जित्न निरन्तर संघर्षरत छिन्, जुन आजसम्म पनि यथावत छ।

बाजुरा कोल्टी निवासी सिमा (नाम परिवर्तन) को अब एउटै सपना छ– ‘स्टाफ नर्स’ बन्ने।

उनी त्यो सपना पूरा गर्न अहोरात्र खटिरहेकी छिन्न। उले विगतमा थुप्रै पीडा भोग्नु पर्‍यो। पलपलमा महिला हिंसाको शिकार भइन्। केटाकेटी उमेरदेखि नै बलात्कार जस्तो अप्रिय घटनाबाट गुज्रिनुपर्‍यो, उनले आत्महत्याको प्रयास नगरेकी होइनन्।

भनिन्छ नि–‘काल नआई मरिदैन!’ उनले आत्महत्याका लागि ६ पटक प्रयास गरिन्। तर, काल नआएपछि उनी एकपल्ट फेरि जुरमुराएकी छिन्। उनी यति बेला आफ्नो सपना पूरा गर्ने अभियानमा छिन्। र, उनको आत्मविश्वास हेर्दा उनले सहजै आफ्नो सपना पूरा गर्छिन् भन्नेमा म ढुक्क छु।

 

कुनै बेला समाजबाट पूरै तिरस्कृत सिमाको संघर्ष कहानी औंलामा गनिने उनका साथीभाइ र इस्टमित्र बाहेक धेरै कमलाई मात्र थाहा छ।

विगत १५ वर्षदेखि मनमा गुम्सिएर बसेको आफ्नो व्यथा पहिलो पटक बिएल नेपाली सेवासमक्ष बताएकी छन्।

उनी मिडियासामू प्रस्तुत भएकी यो नै पहिलो पटक हो।

ओम अस्पतालमा बिएस्सी नर्सिङमा अध्ययनरत उनी भन्छिन्–‘मलाई नर्सिङ कोर्ष पुरा गर्नुछ, दिदी। अब म मर्न चाहन्नँ।’

सिमाको जन्म २०५५ सालमा भएको हो। उनी सात दिदीबहिनी र एक दाजुका बीच हुर्किएकी हुन्।

सानैदेखि उनी पढाईमा अब्बल थिइन्। चनाखो पनि। घरको आर्थिक अवस्था कमजोर थियो। बाख्रा चराउनु, आमालाई सहयोग गर्नु, स्कुल जानु गाउँमा उनको दिनचर्या नै थियो।

६ वर्षको कलिलो उमेरमा बाख्रा चराउन गएको बेला एकदिन उनीसँग एउटा अप्रिय घटना भयो। गाउँकै एकजना बुढो मान्छेले घाँसको भारी घचेट्ने निहुँमा उनलाई नजिकै बोलाएका थिए। हजुरबुवा भन्न सुहाउने त्यो मान्छेको दयनीय अवस्था देखेर उनी पनि सहयोगका लागि नजिकै गएकी थिइन्। तर, त्यो मान्छेले उनलाई एकान्त देखेर च्याप्प समात्यो र सुरुवाल खोल्न लगाएर पिट्यो।

यो घटनाबाट आतंकित भएकी सिमा चिच्चाइन्। नजिकै रहेका गाउँले के भयो? भन्दै दौडेर घटनास्थल पुगे।

सिमाको दयनीय अवस्था देखेपछि गाउँलेहरूलाई बुझ्न गाह्रो परेन। उनीहरूले त्यो बुढो मान्छेलाई कुटेर खेदे। यो घटनापछि सिमा कहिल्यै बाख्रा चराउन गइनन्। ६ वर्षको उमेरमा घटेको त्यो घटना आखिर के थियो? सिमाको कलिलो मस्तिष्कले त्यति बेला खुट्याउन सकेन। तर, यति बेला उनी बुझ्ने भइसकेकी छिन्। भनिन्–‘मलाई त सानैमा बलात्कार गर्ने प्रयास भएको रहेछ।’

सिमाले सानै उमेरदेखि आफ्नो पढाइको खर्च आफैं जुटाइन्। निबन्ध लेख्न उनी पोख्त थिइन। स्कुलका हरेक कार्यक्रममा सधै अब्बल। त्यसैले स्कुलमा सबैको प्रिय पनि थिइन्, उनी।

गाउँघरमा छोरी अलिक बोलेको। घरबाहिर हिँडेको। त्यति रूचाइदैन्। त्यसमाथि स्वास्थ्य र शिक्षामा निकै पछाडि परेको र सकभर छोरीको विवाह छिटो गरिदिनुपर्छ भन्ने सोच राख्ने समाजमा स्मृतिको स्वच्छन्दता घरपरिवारलाई पनि पाच्य हुने कुरा थिएन।

उनी कक्षा ८ पढ्दै गर्दा अर्को घटना भयो। यसले उनको मस्तिष्कलाई नै छियाँछियाँ पार्ने काम गर्यो।

उनी निबन्ध प्रतियोगितामा भाग लिन पहिलोपल्ट घर छोडेर बाजुराको सदरमुकाम मार्तडी पुगेकी थिइन्। मार्तडीमा बसोबास गर्न चिनजानका कोही थिएनन्।

बस्ने ठाउँको जोहो गर्न नसक्दा उनले स्कुलकै शिक्षकसँग आग्रह गरेकी थिइन्। स्कुलमा लेखापाल पदमा कार्यरत शिक्षकले बस्नका लागि उनलाई आफ्नै कोठा त उपलब्ध गराए। तर, उनको नियत ठिक थिएन।

कोठामा दुई वटा खाट थियो। राति खाना खाइसकेपछि उनी निबन्ध प्रतियोगिताको तयारीमा जुटेकी थिइन्। शिक्षकले छिटो सुत्न उनलाई सल्लाह दिए।

उनी शिक्षकको आदेश मानेर कपी–कलम बन्द गर्दै ओछ्यानमा पल्टिइन्। तर, रातको मौका छोपेर आफ्नै स्कुलका शिक्षक बलात्कार गर्ने उद्देश्यले उनको खाटमा घुस्रिन आइपुगे।

‘म जसोतसो त्यहाँबाट भाग्न सफल भएँ,’ कहालीलाग्दो त्यो रात सम्झिँदा अहिले पनि भक्कानिने सिमा  भन्छिन्–‘यसपछि म शरण लिन आफ्नै स्कुलका सिनियर दाइ कहाँ पुगेँ। उनको नियत पनि राम्रो रहेनछ। मलाई आश्रय दिएको मौकाको फाइदा उठाउँदै बलात्कार गरे।’

दाइ भनाउँदा ती व्यक्तिले २०६८ सालयता उनलाई पटकपटक धम्की दिँदै दुई वर्षलगातार यौन शोषण गरिरहे। उनले आफ्नो पीडा कसैलाई सुनाउन सकिनन्।

विस्तारै उनलाई डिप्रेसनले गाँज्यो। उनको व्यवहारमा परिवर्तन देखिन थाल्यो। यसको अनुभव सबैले गर्न थालेका थिए। तर, परिवारका कुनै सदस्यले उनीसँग कहिल्यै सोध्ने जरूरी ठानेनन्।

उनको सानैदेखिको सपना थियो, ‘स्टाफ नर्स’ बन्ने। यो सपनाले उनलाई झकझकाई रहन्थ्यो। त्यसैले उनलाई पढाई छोड्ने कल्पना कहिल्यै आएन। शारीरिक र मानसिक रूपमा जतिसकै शोषणको सिकार भए पनि उनले अध्ययनलाई निरन्तरता दिइन्। जसको कारण २०७० सालमा उनले प्रथम श्रेणीमा एसएलसी पास गरिन्।

परिवारले उनलाई थप अध्ययनका लागि काठमाडौं पठाउने निर्णय गर्‍यो। परिवारको यो निर्णयबाट स्मृति दंग थिइन्। किनभने गाउँमा कलियो उमेरमै यौन शोषणको शिकार भएकी स्मृतिलाई लागेको थियो– शहरमा आफू सुरक्षित रहनेछु। फेरि उनको ‘स्टाफ नर्स’ बन्ने सपना पनि पूरा हुँदै थियो!

बुवाले कान्छी बहिनीसँगै उनलाई काठमाडौं पढ्न बाजुराबाट बस चढाइदिए। बुवाआमाको लागि छोराछोरी सधै साना हुन्छन्। बाजुराबाट काठमाडौं हिड्ने क्रममा छोरीहरूको बाटोमा बिचल्ली नहोस् भनेर बुवाले गाडी चालकलाई राम्रो हेरचाह गर्न आग्रह गरेका थिए।

तर, चालकका लागि स्मृतिको बुवाले गरेको आग्रह उनीमाथि यौन दूर्ब्यवहार गर्ने लाइसेन्स पो भएछ।

उसले परिस्थितिको फाइदा उठाउँदै रातभरी सिमा सँग यौनहिंसा गरिरह्यो।

‘त्यो उमेरमा मैले कसलाई भन्ने? बहिनी च्यापेर बसिरहेँ,’ उनी विगतमा फर्किइन्।

बाजुरामै हुँदा उनले काठमाडौंको विषयलाई लिएर एउटा परिकल्पना गरेकी थिइन्। तर, काठमाडौं आइसकेपछि उनले आफूले गरेको कल्पनाभन्दा नितान्त भिन्न पाइन्। जता त्यतै चहलपहल। फरक भाषा शैली। उनले बोलेको यताकाले त्यति नबुझ्ने। यताकाले बोलेको उनले नबुझ्ने। तर पनि बिस्तारै उनी शहरसँग घुलमिल हुँदै गइरहेकी थिइन्।

त्यती बेला उनी दाजुले काठमाडौंमा लिएको डेरा बस्थिन्।

उनले छात्रवृत्तिका लागि नर्सिङमा नाम पनि निकालिन्। काठमाडौंमा बस्न थाले पनि विगतको यौन हिंसा र पढाईको चापले उनमा उकुसमुकुस त भइनै रहेको थियो।

प्रतिकूल अवस्थामा पनि उनले पहिलो वर्षको परीक्षा सहजै उत्तिर्ण गरिन्।

यसै क्रममा फेसबुकमा एकदिन उनको भेट बाजुराकै एक युवा मंगलसँग भयो। विस्तारै उनीहरूको मित्रता प्रगाढ बन्दै गयो।

‘म बिगतको पीडाले कुण्ठित बन्दै गइरहेको थिएँ। कसलाई आफ्नो पीडा सुनाउ भन्ने हुटहुटी थियो। घरमा कसैले मलाई के भयो भनेर सोधेका पनि थिएनन्,’ उनले भनिन्,‘मंगलको व्यवहारले मलाई आकर्षित गर्‍यो। मलाई लाग्यो, यत्तिको इमान्दार केटो दुनियाँमा हुँदैन। मैले आफ्नो विगत सबै उनलाई सुनाएँ।’

सिमाको विगत थाहा पाएपछि मंगलले एकदिन उनलाई होटलमा भेट्न बोलायो। उनी पनि केही नसोचि मंगललाई भेट्न होटल गइन्। ‘तर, उसले पनि मौकाको फाइदा उठाउँदै बलात्कार गर्‍यो। मेरो घाउ झनै बल्झियो’, यसो भनिरहँदा सिमाको अनुहारमा निरासा प्रष्ट झल्किन्थ्यो।

सिमा यति बेला यौन हिंसाको विषयमा धेरै कुरा बुझ्ने भइसकेकी थिइन्। उनले पहिलो पल्ट यो घटना घरपरिवारलाई सुनाइन्। तर, घरका अन्य सदस्यले कानुनी उपचारको बाटो उपनाउनुको साटो परिवारको बेइज्जत हुने डरले उल्टै मंगलसँग उनको विवाह गराइदिए, २०७१ सालमा।

‘वास्तवमा मैले परिवारसँग न्यायका लागि सहयोग मागेकी थिएँ’ उनले भनिन्, ‘पीडामा सहानुभूती व्यक्त गर्ने आफन्त चाहेकी थिएँ।’

तर, परिवारको करकापले उनले बलात्कारीसँगै विवाह गरेर बस्नुपर्‍यो। यसको अपराधबोधले उनी जिउँदो लास भइन्।

सिमा लाई मंगलले दिनुसम्म दुःख दिए। अझ् मंगलका भाइबहिनीले यति धेरै पीडा दिए, कहिले काहीँ सिमा कलेजमै बेहोस् हुन थालिन्।

‘घरेलु हिंसा चरममा पुगेपछि मैले आत्महत्याको बाटो रोजे’, उनले स्मृतिका पाना पल्टाउदै भनिन्।

बिएस्सी दोस्रो वर्षमा अध्ययनरत रहँदा उनलाई बाँच्ने इच्छा भएन। उनी आफ्नो सपना पूरा नहुने निष्कर्षमा पुगिसकेकी थिइन्।

श्रीमान भए पनि मंगल राति उनलाई बाँधेर बलात्कार गर्थे। उनको मानसिक अवस्था बिग्रिन थालेपछि एकदिन कलेजकै सहयोगमा सिमाका भिनाजुले मनोचिकित्सक कहाँ पुर्‍याए।

उनले डाक्टरसँग सबै कुरा खुलस्त बताइन्। डाक्टरले उनलाई समस्याबाट बाहिर निस्कने सुझाव दिए।

‘यसपछि मलाई लाग्यो। म सही छु। नत्र घर, समाज सबैले मलाई पागल भन्न थालिसकेका थिए,’ उनले भनिन्।

सिमा आफ्नो समस्या लिएर थुप्रै सहयोगी संस्था कहाँ नपुगेकी होइनन्। प्रहरीसमक्ष पनि गुहार मागिन्।

तर, बलात्कारी श्रीमानको पहुँचका कारण हरेक पल्ट उनलाई निरास तुल्यायो। तर पनि उनले हिम्मत हारिनन्। एक जना शिक्षिकामार्फत उनको भेट सम्झना शाक्यसँग भयो।

‘यसपछि मलाई भगवान भेटेसरह भयो। उहाँकै आँटले म श्रीमानको त्यो कालकोठीबाट उम्किन सफल भएँ,’ उनले राहतको सास फेरिन्।

यति बेला उनले पढाई पुनः सुचारु गरेकी छिन्। डिप्रेसनबाट मुक्त हुन, ध्यान गर्छिन्। विगतलाई बिर्सेर अगाडि बढ्ने जमर्को गरिरहेकी छिन्। उनीमा आत्मविश्वास चुलिँदो छ। विगतलाई पछाडि फर्केर हेर्ने पक्षमा उनी छैनन्।

अहिले उनी काम गर्दै खर्च जुटाउने तरखरमा छिन्।सिमाले ओम अस्पतालमा बिएस्सी नर्सिङमा नाम निकालिसकेकी छिन्। तर, उनलाई पढाइ अगाडि बढाउन खर्च अभाव छ।

‘मैले पढाइ अगाडि बढाउन विभिन्न बैंकसँग ऋणको लागि निवेदन पनि दिएको थिएँ। तर, कसैले स्वीकार गरेनन्,’ उनी भन्छिन्, ‘नबिल बैंकले मान्यो तर उसले मासिक आम्दानी २२ हजार भएमा ऋण स्वीकार गर्ने भन्यो। ओममा पढ्दै गर्दा काम गर्न नपाइने नियमका कारण मैले बैंकसँग ऋण लिन सकिनँ।’

उनले यस बीचमा शिक्षा मन्त्रालयको चक्कर नकाटेकी पनि होइनन्। उनी भन्छिन्, ‘शिक्षा मन्त्रीले हस्ताक्षर गरिदिए छात्रवृत्ति पाउने सुनेपछि निकै प्रयास गरेँ। मन्त्रीको स्वकीय सचिव हुँ भन्ने रूद्र नामको व्यक्तिलाई निवेदन दिएको थिएँ। उनले म मन्त्रीज्यूलाई दिन्छु अनि खबर गर्छु भनेका थिए। तर, अहिलेसम्म खबर आएको छैन।’

स्मृतिको अबको चाहना छ– बिएस्सी नर्सिङ उत्तिर्ण गरेपछि जागिर गरेर सहयोग गर्ने सबैको ऋण चुक्ता गर्ने। उनी भविष्यमा महिलामाथि बलात्कार किन हुन्छ? महिलाहरू यौन हिंसामा किन पर्छन्? भन्ने विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छिन्।

पछिल्लो समय उनमा देखिएको सकारात्मक सोच र केही गर्छु भन्ने आत्मविश्वासकै कारण उनले यौन हिंसा जस्तो कुरूप अध्यायलाई पछाडि छोडेकी छिन्। उनको संघर्षलाई नमन छ।

 

नेपाली नारी समाज पोर्चुगलले यिनै सिमाको पढाइको लागि सहयोग जुटाउन थालेको छ , समाजकी सदस्य पुनम गौतमका अनुसार समाजले आर्थिक सहयोग गर्दै आएको र यी बहिनीको लागि पनि सहयोग जुटाउन लागि परेको छ ,
कृपया तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने नेपाली नारी समाज पोर्चुगलका पदाधिकारीहरुलाई  सम्पर्क गर्न सक्नुहुनेछ

https://www.facebook.com/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C-%E0%A4%AA%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%97%E0%A4%B2-1140531332744804/

 

 

 

 

तस्बीर र भिडियो सौजन्य
बि यल नेपाली सेवा, देबकी बिष्ट

 

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार