समृद्धिका बाहक मानिने इभो मोरालेसले सत्ता त्याग्नुपर्ने अवस्था कसरी आयो ?


-एजेन्सी
बोलिभियाको राजनीतिले यही आइतबार अकस्मात एक नाटकीय मोड लियो । १४ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति मोरालेजले सो दिन पहिले एक महिना अघिको चुनावमा अनियमिता भएको स्वीकारे ।

त्यसपछि उनले नयाँ निर्वाचनको प्रस्ताव गरेका थिए । तर केहीपछि सेनाले राजीनामा दिन भनेपछि उनी सत्तामा टिकिरहन सकेनन् ।आइतबारको नयाँ परिस्थितिले हप्तौँदेखि देशमा चलिरहेको प्रदर्शन साम्य हुने बाटोमा छ । अक्टोबर महिना सम्पन्न राष्ट्रपतीय निर्वाचनको मतपरिणाममा व्यापक धाँधली भएको आशङ्कामा प्रदर्शन सुरु भएको थियो ।६० वर्षका मोरालेसले बोलिभियालाई सन् २००६ देखि शासन गरिरहेका थिए । राजीनामा अघि उनी ल्याटिन अमेरिका सबैभन्दा लामो समय शासन गरिरहेका शासक थिए ।

मोरालेसको १४ वर्षे शासनमा बोलिभियामा गरिबीको सङ्ख्यामा उलेख्य कमी आएको थियो । त्यस्तै देशको इतिहासमै सबैभन्दा ठूलो आर्थिक वृद्धि र सामाजिक समानता लहर आएको मोरालेसकै विरोधी आईएमएफले समेत स्वीकारेको थियो ।

उनी गरिब र आदिवासीमाझ निक्कै लोकप्रिय थिए । आखिर, यही लोकप्रियताले उनलाई तीन पटक सत्तामा पुर्याएको थियो ।

तर पछिल्लो समयमा मोरोलेस विभिन्न विवादमा फस्न थालेका थिए । राष्ट्रपतीय कार्यकालमा संविधानले दुई पटकको सीमा लगाउने व्यवस्था खारेज गर्दा उनको सबैभन्दा ठूलो विरोध भएको थियो ।

संविधानले राष्ट्रपति कार्यकाल दुई पटक मात्र हुने भन्ने व्यवस्था हटाएपछि मोरालेस सन् २०१९ को अक्टाबेरमा भएको निर्वाचनमा चौथो कार्यकालका लागि उठेका थिए ।

उनले जितको परिणाम पनि सार्वजनिक भयो । तरलगत्तै निर्वाचनमा मोरालेजका मुख्य विपक्षी कार्लोस मेसाले निर्वाचनको मत परिणामप्रति प्रश्न गरे । त्यसपछि ठूलो विरोध ¥याली सुरु भयो ।

विरोध प्रदर्शन बढ्दै गएपछि अन्तर्राष्ट्रिय निर्वाचन निगरानी समूहले मत परिणामलाई अमान्य घोषणा गर्यो । त्यसपछि नोभेम्बर १० मा मारालेसले टेलिभिजन सम्बोधन गर्दै राजीनामा दिए ।

१४ वर्ष बोलिभियाको सरकारमा रहेका मोरालेसको राजनीतिक जीवनका उतारचढाव कस्तो थियो त ?

आदिवासी श्रमिक नेतादेखि राष्ट्रपतिसम्म

इभो मोरालेस बोलिभियाको पश्चिमी ओरुरो क्षेत्रको आयिमारा आदिवासी समूहमा जन्मिएका थिए ।

मोरालेसले उनको राजनीतिक जीवन कोका कृषकहरुका युनियन नेताको रूपमा सुरु गरेका थिए । कोकाको पात हजारौँ वर्षदेखि एन्डिज पवर्तशृङ्खलामा बस्ने आदिवासीहरुले धार्मिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । कोका लेक लाग्नेदेखि चिया–कफीजस्तै अल्छीपना हटाउन पनि उपयोगी हुन्छ ।

तर पछिल्लो समय ड्रग्स व्यापारीले यसको पातलाई प्रशोधन गरेर कोकिन नामक नसालु पदार्थ बनाउन थालेका छन् ।

कोका कृषक युनियनका रूपमा लोकप्रियता कमाएका मोरालेस पहिलो पटक सन् २००२ मा राष्ट्रपति उठे । मोरालेसले चुनाव युरोपेलीहरुको दक्षिण अमेरिका आगमनदेखि सीमान्तकृत बनाइएका आदिवासी केन्द्रित गरेका थिए ।

देशको कुल जनसङ्ख्याको ४२ प्रतिशत रहे पनि मोरालेस शासनमा आउनुअघि आदिवासीहरु कैयौँ अधिकारबाट वञ्चित थिए । त्यस्तै देशका सबैजसो राजनीतिक पदमा युरोपेली मूलका धनाढ्य परिवारहरुको अधिपत्य थियो ।

पहिलो प्रयासमा असफल रहे पनि मोरालेस दोस्रो पटक उही चुनावी नाराका साथ सन् २००५ डिसेम्बरमा राष्ट्रपति चुनिए ।

मोरालेसले आफ्नो पहिलो कार्यकालमा आदिवासीहरुको अधिकार प्रत्याभूत गराउन मुख्य ध्यान दिए । यसका लागि उनले पुरानो संविधान त्यागे र नयाँ संविधान लेख्न संविधानसभाको निर्वाचन गराए ।

नयाँ संविधानले आदिवासीहरुको पहिचान स्वीकार्दै बोलिभियालाई ‘बहुल–राष्ट्र’ र ‘धर्मनिरपेक्ष’ घोषणा गर्यो । आदिवासी संस्कृतिलाई कानुनी संरक्षण प्रदान गरेको संविधानले आदिवासी समुदायको अधिकारलाई निक्कै विस्तार गरायो ।

गरिबी निवारण र समृद्धि अभियान्ता
मोरालेस राष्ट्रपति भएपछि कोका कृषकहरुको सङ्घर्षको सम्मान गर्दै कोका व्यवसायलाई वैधानिकता पनि दिए ।ल्याटिन अमेरिका क्षेत्रको कोका खेतीलाई ड्रग्स कार्टेलहरुले प्रयोग गरिरहेको भन्दै अमेरिकाले त्यस क्षेत्रका सरकारमाथि तिनको खेती प्रतिबन्ध लगाउन दबाब र पैसा दिने गर्छ ।

तर आदिवासीहरुमाझ फरक प्रयोजनले प्रयोग हुने भन्दै मोरालेसले कोकालाई प्रतिबन्ध लगाउन अस्वीकार गरे । तथापि मोरालेसले कोकालाई कोकिन बनाउन कार्यमाथि भने प्रतिबन्ध लगाएका थिए ।

कोका खेतीमाथिको वैधानिकताबाट बिग्रेको अमेरिकासँगको सम्बन्ध मोरालेसका पछिका समाजवादी नीतिका कारणले झन् बिग्रँदै गए । उनको कार्यकालभरी नै अमेरिकासँग मोरालेसको राम्रो सम्बन्ध रहेन ।

सन् २००८ मा मोरालेसले अमेरिकी राजदूत फिलिप गोल्डवर्गलाई देश निकाला नै गरिदिएका थिए । त्यस्तै सन् २०१३ मा यूएसएआईडीलाई पनि देश छाड्न आदेश दिएका थिए । उनले दुवै आवस्थामा तिनले सरकार विरोधी काम गरेको आरोप लगाएका थिए ।

मोरोलेस सत्तामा आएलगत्तै आफ्नो र आफ्नो क्याबिनेटका सदस्यहरुको तलब कटौती गरेका थिए । समाजवादी नीतिअन्तर्गत चालिएका उक्त कदमपछि पनि यस्ता कैयौँ अरू कदम उठाइए ।

उनको सरकारले देशका तेल र ग्यास उद्योगहरुलाई पुनः राष्ट्रियकरण गर्ने प्रक्रिया सुरु गर्यो । त्यसमार्फत वृद्धि भएको करको ठूला हिस्सालाई सामाजिक क्षेत्रमा लगानी गरियो ।

यसले विबुली, ढल र पानी सेवाको पहुँचमा निक्कै सुधार भयो र बोलिभिया नागरिकको जीवनस्तरमा उलेख्य परिवर्तन देखिन थाल्यो ।

विश्व चर्चित मध्य–दक्षिणपन्थी म्यागजिन ‘इकोनोमिस्टस्’ले समेत मोरालेसको समाजवादी कार्यक्रमको प्रशंसा गर्दै लेखेको थियो, ‘मोरालेसले बोलिभियाको ग्यास र खनिज उत्खनन्बाट प्राप्त आयलाई ठूलो मात्रामा सामाजिक कार्यक्रम र परियोजनाहरुमा लगानी गर्न प्रयोग गरे । हुन त बोलिभिया दक्षिण अमेरिकाको गरिब देशमध्ये एक थियो तर सन् २००६ मा ६० प्रतिशत रहेको गरिबी सन् २०१७ मा ३६ प्रतिशत झरेको थियो । यो अवधिमा कूल ग्राहस्थ उत्पादनमा पनि १२०० डलरबाट ३३५० डलर पुग्यो ।’

मोरालेसबाट असन्तुष्टहरु

तर राष्ट्रपति मारालेसका यी वामपन्थी नीतिबाट उच्च–मध्यम वर्ग र धनाढ्य वर्ग भने चिन्तित थिए । ती मोरालेसले विस्तारै आफूहरुलाई पनि च्याप्दै जाने हुन् कि भन्ने डर थियो ।

धनाढ्यहरुको बसोबास रहेको पूर्वी प्रान्त सान्ता क्रूजमा मोरालेसका विरोधी पार्टीको गढ हुनुले पनि त्यहीतर्फ सङ्केत गर्छ ।

उनका विरोधीहरु मोरालेसले भ्रष्टचारविरुद्ध प्रयाप्त काम नगरेकोमा पनि असन्तुष्ट थिए । अघिल्लो अक्टोबरको निर्वाचनमा पनि विपक्षीहरुले यसलाई मुख्य मुद्दा बनाएका थिए ।

समुद्रसम्म पहुँच पुर्याउने वाचामा असफलता

बोलिभिया दक्षिण अमेरिकाका दुई भूपरिवेष्टित राष्ट्रमध्ये एक हो । मोरालेसले छिमेकी चिलीसँग आफ्नो देशलाई समुद्रसम्म पहुँच दिलाउन लडे ।

बोलिभियाले सन् १८८४ मा चिलीसँगको लडाइँपछि समुद्रसम्मको पहुँच गुमाएको थियो । त्यसयता उसले निरन्तर त्यो अधिकार पाउने प्रयास गरिरहेको छ ।

मोरालेसले त्यही सङ्घर्षलाई अन्तर्राष्ट्रिय अदालतमा लगेका थिए । तर झण्डै एक वर्ष अघि अर्थात सन् २०१८ अक्टोबरमा अन्तर्राष्ट्रिय अदालतले चिलीको पक्षमा निर्णय सुनायो ।

यसले देशमा मोरालेसको प्रतिष्ठामै ठूलो धक्का पुर्याएको मानिन्छ । उनले यस विवादलाई आफूहरुले जित्ने पक्का भएको बताइरहेका थिए ।

अमेजन संरक्षणमा ध्यान नदिएको आरोप
मोरालेस आफै आदिवासी समुदायको भएकाले ती समुदायको विश्वास अनुरूपको केन्द्रमा रहेको ‘पृथ्वी आमा’को अवधारणालाई अन्तर्राष्ट्रिय फोरममा बारम्बार उठाउँथे ।

तर देशभित्र भने उनी अमेजन जङ्गल हुँदै जाने एक राजमार्ग परियोजना अघि बढाएकोमा विवादमा आए । आदिवासीको बसोबास रहेको र पर्यावरणको हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण उक्त वनबाट ठूलो राजमार्ग नबनाउन देशभित्र र बाहिर ठूलो विरोध भयो ।

सन् २०११ मा ठूलो विरोधका कारण परियोजना रद्द गरिए पनि मोरालेसले फेरि सन् २०१७ मा उक्त परियोजना अघि बढाउने स्वीकृति दिएका छन् । यस परियोजना सम्बन्धमा उठेका अन्तर्राष्ट्रिय आलोचनालाई उनले ‘पर्यावरणीय औपनिवेशीकरण’ भनेर खारेज गरिदिएका थिए|यस घटनाले उनी केही आदिवासी समुदायमा अलोकप्रिय बन्न पुगेका थिए ।

त्यस्तै यही वर्षको सुरुमा बोलिभियाको पूर्वी क्षेत्रको वनमा ठूल–ठूला डढेलो लाग्यो । यस घटनामा मारालेसको ‘नियन्त्रित आगलागी’ नीति जिम्मेवार रहेको भन्दै प्रदर्शन भए ।मोरालेसले ‘नियन्त्रित आगलागी’ गरेर ठूल–ठूला जमिन बनाउने र तिनलाई कृषकलाई बाँढ्ने योजना बनाएका थिए ।

दुई कार्यकालको सीमा विवाद

मोरालेसको प्रतिष्ठामा सबैभन्दा ठूलो दाग लगाउने काम दुई कार्यकालको संवैधानिक उल्लङ्घनले निम्त्यायो।पहिलो कार्यकालमा उनकै विशेष पहलमा बनेको संविधानले देशको राष्ट्रपतिको कार्यकाल दुई पटक मात्र हुने व्यवस्था गरेको थियो ।संविधान लागू भएपछि लागू हुने उक्त व्यवस्थाअन्तर्गत उनी सन् २००९ र सन् २०१४ को निर्वाचन मात्र लड्न पाउँथे । तर उनले संविधानले तोकेको भन्दा थप चुनाव लड्ने चाहना देखाए ।

यसका लागि उनले संवैधानिक नियन्त्रण नै खारेजीको प्रस्ताव गर्दै जनमत सङ्ग्रह गराए । त्यसमा बहुसङ्ख्यक जनताले दुई कार्यकालको सीमा हटाउन नहुने पक्षमा मत दिए ।जनमत सङ्ग्रह हारेपछि पनि उनी चुप लागेर बसेनन् । उनी संवैधानिक अदालतमा गएर त्यस प्रावधानलाई हटाइछाडे ।यो कार्यले बोलिभियाका जनतामा मोरालेसको छावि सत्तालोलुपको बन्यो । तर मोरालेसले भने आफूले सुरु गरेका सुधारहरुलाई पूरा गर्नका लागि आफूलाई थप केही समय चाहिने बताइरहे ।

संवैधानिक प्रावधान खारेज भएपछिको राष्ट्रपतीय निर्वाचनमा उनले जित त हासिल त गरे तर त्यसमा धाँधली भएको आशंकामा ठूलो विरोध भएपछि उनले सत्ता छाड्नु पर्यो । सत्ता त्यागेर इभो मोरालेस अहिले मेक्सिकोमा राजनीतिक शरणमा गएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार