दीर्घराज उपाध्याय ।
सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको सबैभन्दा महत्वपूर्ण अस्पताल हो । यो भन्दा ठूलो अस्पताल सुदूरपश्चिममा अर्को छैन । बिशेषज्ञ चिकित्सक, दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी र कर्मचारीहरुको संख्याका दृष्टिकोणले पनि योसंग तुलना गर्न मिल्ने अरु अस्पताल यस प्रदेशमा छैनन । अस्पतालसंग भएका उपकरण पर्याप्त छैनन, तर जति उपकरण यो अस्पतालसंग उपलब्ध छन्, त्यति उपकरण पनि अन्यत्र छैनन ।
यति हुदा हुदै पनि अस्पतालको सेवा किन प्रभावकारी हुन सकेन ? र सेवा प्रभावकारी बनाउन के कुरामा ध्यान दिनुपर्ला ? यस तर्फ राजनैतिक दल, संघीय, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान कहिल्यै गएन ।
बरु यसलाई भर्ती केन्द्र बनाईयो । राजनीति गर्ने अखाडा बनाईयो । यसको पछिल्लो उदाहरण हो, मेसु डा. हेमराज पाण्डेयलाई हटाउने प्रदेश सरकारको हर्कत । प्रदेश सरकारको चिन्ता मेसुले राम्रो काम गर्न सकेनन वा गलत गरे भने त्यसमा हुनुपथ्र्यो । एउटा मेसुका तर्फबाट गर्नुपर्ने वा गर्न सक्ने सबै कार्य डा. पाण्डेयले गर्न नसकेका हुन सक्छन । काम गर्ने क्रममा कही कतै कमजोरी हुन सक्छ । र कमजोर भएका ठाउमा सच्याएर अघि बढ्न प्रदेश सरकारले सचेत गर्न सक्थ्यो । सुझाव दिनसक्थ्यो । अझ जुन बेला पाण्डेयलाई मेसुको जिम्मेवारी दिईएको थियो, त्यो बेला कोही चिकित्सक मेसु बन्न तयार थिएन । तर मेसुको जिम्मेवारी सम्हालेयता डा. पाण्डेयले अस्पतालको सुधारका लागि जुन कार्य गरे । त्यो सह्रानीय छ । हो, उनको व्यबहारमा कही समस्या हुन सक्छन । कसैलाई उनको बोली वा उनको काम गर्ने तरिका मन मन नपर्न सक्छ । यो महत्वपूर्ण विषय होइन । महत्वपूर्ण विषय त यो हो, उनले जिम्मेवारी ईमान्दारीपूर्वक निर्बाह गरेकी गरेनन ? उनी जिम्मेवारी निर्बाह गर्ने क्रममा चुके कि चुकेनन ?
पछिल्लो एक वर्षमा डा. पाण्डेयले अस्पतालको सेवा,सुबिधा, व्यवस्थापकीय पक्ष सुधारका लागि निकै प्रयासहरु गरेका छन् । लथालिंग र अस्तव्यस्त अस्पताललाई व्यवस्थित बनाउने कोशिस गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई अस्पताल प्रति जवाफदेही बनाएका छन् । कोही सधैभरी जिम्मेवारी पाईरहने र कोही भने सधैभरी जिम्मेवारी र सुबिधाबाट बञ्चित भईरहने व्यवस्थाको अन्त्य गरेका छन् । तर यी कुनै कुरालाई नहेरी उनलाई हटाएर अरु कसैलाई जिम्मेवारी दिन खोज्नु प्रदेश सरकारको दुराशयपूर्ण व्यबहार हो । अझ त्यो ठाउमा डा. पाण्डेयभन्दा राम्रो, सिनियर र अनुभवी ल्याउन खोजिएको भए त्यसलाई जायज मान्न सकिन्थ्यो । र अस्पतालमा कार्यरत अन्य चिकित्सकभन्दा जुनियर र नयाँ चिकित्सकलाई मेसुको जिम्मेवारी दिन गरिएको चलखेल गलत मात्र होईन । गैरजिम्मेवार छ ।
प्रदेश सरकारले त अस्पतालको सेवा कसरी जनमैत्री बनाउने, उत्कृष्ट बनाउने तर्फ ध्यान दिनुपथ्र्योे । र सेती प्रादेशिक अस्पताललाई नमूना अस्पताल बनाउन भूमिका निर्बाह गर्नुपथ्र्यो ।
पहिलो कुरा चिकित्सक र स्वास्थ्यकर्मीले ढुक्क भएर काम गर्ने वातावरण हुनुपर्छ । त्यो वातावरण बनाउने जिम्मेवारी, स्थानीय र प्रदेश सरकारको मात्र होईन,यहाँको राजनैतिक नेतृत्व, नागरिक समाज सबैको हो । अप्रेशन गर्दा चिकित्सकका हात डरले नकापुन ।
दोस्रो कुरा, चिकित्सक र स्वास्थ्यकर्मीहरुले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्बाह गरुन । क्लिनिकलाई भन्दा बढि अस्पताललाई महत्व दिउन । अस्पतालको समयमा डाक्टरहरु क्लिनिकमा नभेटिउन । र सबै बिरामीलाई समान ढंगले व्यवहार गरुन । प्रदेश सरकार र अस्पताल विकास समितिले यसतर्फ ध्यान दिनुपथ्र्यो । हो, काम गर्ने क्रममा कहिल्यै त्रुटी हुन सक्छ । तर चिकित्सकका हातबाट हुने त्रुटीले मान्छेको ज्यान जान सक्छ । त्यसैले कुनै पनि अप्रेशन गर्दा चिकित्सकबाट त्रुटी नहोस । जानाजान वा नियतबश चिकित्सकहरुले त्रुटी गर्छन भन्ने चाही होईन ।
तर यी कुनै कुरामा अस्पताल विकास समितिको चासो देखिएन । प्रदेश सरकारको चासो देखिएन ।
हदभन्दा बढि राजनीति भएका कारण सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालहरुको अवस्था अहिले दारुण र दयनीय छ । त्यही राजनीतिको शिकार भईरहेका चिकित्सक र स्वाथ्यकर्मीहरु फर्केर ती अस्पतालमा पाईला टेकेका छैनन । त्यसको उदाहरण महाकाली अस्पताल हो । महाकाली अञ्चल अस्पतालमा किन चिकित्सकहरु जान मान्दैनन ? किन त्यहाँ गएका चिकित्सकहरु पनि धेरै समय बस्दैनन ? किन दुई वर्षअघि तयार भएको आईसियु अहिलेसम्म सञ्चालन हुन सकेन ? यस्ता प्रश्नहरुको उत्तरको खोजी गर्न दलहरुसंग फुर्सद छैन । डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल नाम मात्रको उपक्षेत्रीय हुनुको कारण पनि राजनैतिक दल र उसको नेतृत्व नै दोषी हो ।
प्रदेश सरकारले अस्पतालमाथि गरिरहेको खेलवाड बन्द गरोस । अस्पताललाई पार्टीका कार्यकर्ता र भरौटेहरु भर्ना गर्ने अखाडा नबनाओस । आम राजनैतिक दल, सर्वसाधारण र नागरिक समाजले अस्पतालमाथि भईरहेका बेथितिका बिरुद्ध सचेत हुन र त्यसलाई रोक्न खवरदारी गर्न पनि उत्तिकै आवश्यक छ ।
स्वास्थ्य मन्त्री फेरिएसंगै अस्पताल विकास समितिका पदाधिकारी र सदस्य फेरिए । आफ्ना अनुकुलका मान्छे नियुक्त गर्ने बाहेक अस्पतालको अवस्था, सुबिधा सुधार गर्नेमा कुनै मन्त्रीले ध्यान दिएनन । र नियुक्त गर्दा दक्ष, अनुभवी र सम्बन्धित क्षेत्रको ज्ञान भएका नियुक्त गर्नुपर्छ भन्ने हेक्का पनि स्वास्थ्यको ठेक्का लिएकाहरुबाट भएन । हो, जन्मजात कोही अनुभवी र दक्ष नहुन सक्छ, तर नियुक्त गरिएका मान्छेहरु अस्पतालको अवस्था सुधारका लागि ईमान्दार भए पुग्थ्यो । अस्पतालको र यस क्षेत्रका जनताको दुर्भाग्य हो कि, ती कहिले ईमान्दार भएनन । त्यही कारण अस्पतालको अवस्थामा सुधार हुन सकेन ।
हिजोका दिनमा मेसुलाई त्यहाँका राजनैतिक पहूँच र शक्तिका आडमा केही कर्मचारीले चलाउथे । मेसु उनीहरुका अगाडि निरिह हुन्थे । मेसु उनीहरुको दवावमा निर्णय गर्थे । तर डा. पाण्डेय मेसु भएपछि उनीहरुको जोडबल चलेन । वर्षौदेखि सेती प्रादेशिक अस्पतालमा राज गरेकाहरुका लागि डा. पाण्डेय यही कारण टाउको दुखाई भए ।
उनले धेरैको जिम्मेवारी फेरवदल गरे । त्यो पनि कतिपयलाई चित्त बुझेन । कतिपयलाई त्यही निर्णयले असर पनि गरेको थियो । अस्पतालमा सुधार हुन नदिने, राम्रो काम गर्न नदिनेहरु नै डा. पाण्डेयका पछाडि परे । सुदूरपश्चिमको समग्र स्वास्थ्य क्षेत्र र अस्पतालहरुको संरक्षक तथा अभिभावक सामाजिक विकास मन्त्री हुन् ।
स्वास्थ्य क्षेत्रको अवस्था सुधारका लागि कोशिस गर्नुपर्ने र अस्पतालको अवस्था सुधारका लागि कोशिस गर्ने चिकित्सकहरुलाई प्रोत्साहन र संरक्षण गर्नुको साटो सामाजिक विकास मन्त्री र सामाजिक विकास मन्त्रालय नै हतोत्साही गरिरहेको छ । डा. पाण्डेयले गलत काम गरेका छन् वा उनले राम्रो कार्य गर्न सकेका छैनन भने उनलाई जिम्मेवारीबाट हटाउनुपर्छ । यसमा कसैको बिमती हुदैन ।
तर राम्रो काम गरिरहेका र अस्पतालमा सेवा, सुबिधा र व्यवस्थापन सुधारका लागि निरन्तर रुपमा कोशिस गरिरहेका डा. पाण्डेयको तेजोबध गरेर जसरी अस्पताल विकास समिति, सामाजिक विकास मन्त्रालय लागी परेको छ, यो सेती प्रादेशिक अस्पतालका लागि मात्र नभएर समग्र स्वास्थ्य क्षेत्रका लागि दुर्भाग्य हो ।
अझ डा. पाण्डेयमाथि मनगढन्ते आरोप लगाएर जसरी अस्पताल विकास समितिका केही व्यक्ति, सामाजिक विकास मन्त्रालयका केही व्यक्ति र अस्पतालभित्र राजनीति गर्न पल्केकाहरु अख्तियारमा आफै छदम नाममा पत्र पठाउने र त्यही पत्रका आडमा डा. पाण्डेयलाई हतोत्साही गर्ने जुन काम गरिरहेका छन्, त्यो सेती प्रादेशिक अस्पतालको दुर्दशा निम्त्याउन मुख्य कारक बन्ने निश्चित छ ।
डा. पाण्डेयलाई हटाउन लागी परेका सामाजिक विकास मन्त्रालय, अस्पताल विकास समिति र अस्पतालभित्रका केही लोभीपापी र कामचोर कर्मचारीहरुको हर्कत र षडयन्त्रको पर्दाफास भएपछि उनीहरु अत्तालिएनन मात्र । उनीहरुको छटपटाहट बुधवार छताछुल्ल भएको छ, दुई महिनाअघि छद्म नाममा अख्तियारमा हालिएको मनगढन्ते पत्र केही समाचारमाध्यममा बुधवार दिनु त्यही छटपटाहटको उपज हो ।
आज जसरी डा. पाण्डेयलाई हटाउने कोशिस भएको छ । त्यो एकदमै गलत भएको छ । डा. पाण्डेयलाई हटाउदा कसैको राजनैतिक र व्यक्तिगत स्वार्थ त पुरा होला । तर त्यसले सेती अञ्चल अस्पतालमा गलत नजिर बस्नेछ । जसले अस्पताललाई दुरगामी असर गर्नेछ । यसको हेक्का सामाजिक विकास मन्त्री कृष्ण कुमार सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशीले राख्नुपर्छ । उहाँहरु सबै चिकित्सकको अभिभावक हो । संरक्षक हो । उहाँहरुले अभिभावकीय भूमिका निर्बाह गर्नुपर्छ । दुबै जना राजनैतिक दलबाट नियुक्त व्यक्ति पक्कै हुन् । तर अस्पतालको सेवा, सुविधा र विकासका लागि उहाँहरु राजनैतिक सोच र स्वार्थभन्दा माथि उठ्नुहुनेछ, अहिलेलाई यही आशा गर्न सकिन्छ । बाँकी त उहाँहरुले आगामि दिनमा चाल्ने कदमले देखाउनेछ ।