कर्मचारीले तलब नपाउँदा खानेपानी नै बन्द

बागलुङ।

कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ। तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् ।

छिस्तीका ६०० परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दसै‌ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन्। आयोजनामा काम गर्दै आएका पाँच कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमिक र बर्सेनी खाइपाइ आएको दसैं भत्ता पाएका छैनन् ।

गत कात्तिक ४ गतेदेखि आयोजनाका धारामा पानी नआउँदा छिस्तीका ६०० परिवार प्रभावित भएका छन्। दुई सातादेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकमा पनि राजनीतिक विषयले प्राथमिकता पाएपछि खानेपानी आपूर्ति गर्न असहज भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

‘योजना सुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दसैंमा भत्ता आउँथ्यो,’ आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भने, ‘न धेरै छ, अलिअलि भएको तलब पनि चाडबाडमा नपाएपछि हामीले काम छोड्यौँ ।’ कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साबिकको छिस्ती गाविस–५, ६ र ७ का उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । उनीहरुले घण्टौँ यात्रा गरेर कुवा र पोखरीको पानी ल्याउन बाध्य छन् ।

खानेपानी बन्द भएको विषयमा प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले ध्यानाकर्षण भएको जनाएका छन्। छ सय परिवारले प्रयोग गर्दै आएको पानीमा अवरोध हुनु दुःखद् भएको भन्दै उनले पानी खोल्नका लागि पहल थालेको बताए। विसं २०६४ देखि खानेपानीको व्यवस्थापन गरी आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । रासस

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार