– एजेन्सी
स्पेन|
स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले अप्रत्यासित हार व्यहोरेको छ । लेभान्टेसँग ३–१ ले पराजित हुँदा बार्सिलोना अंक दूरी बढाउने अवसरबाट बञ्चित भएको हो ।
लेभान्टेको घरेलु मैदानमा भएको खेलमा ३८औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेभान्टेका डिफेन्डर जर्ज मिरामोलले बार्सिलोनाका डिफेन्डर निल्सन सेमोडोलाई पेनाल्टी एरियामा फउल गरेपछि बार्सिलोनाले पोनल्टीको अवसर पाएको थियो ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको बार्सिलोनाका लागि खेलको ६० देखि ७०औं मिनेट बीचका समय निकै दुभाग्यपूर्ण रह्यो ।
६१औं मिनेटमा लेभान्टेका जोज क्याम्पानाले गोल गरी खेल बराबरी बनाए । ६३औं मिनेटमा बोर्जा मोयाले गोल गर्दा बार्सिलोना २–१ पछि पर्यो । ६८औं मिनेटमा नेमान्जा राडोजाले गोल गरी बार्सिलोनालाई निराश बनाए । ७ मिनेटमा लगातार नीत गोल खाएपछि खेलमा फर्कन गरेको बार्सिलोनाको प्रयास सफल हुन सकेन। खेल अवधिभर लेभान्टेमाथि दवाव बनाइरहेको बार्सिलोना स्तब्ध बन्यो।
हारपछि पनि ११ खेलबाट २२ अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा कायम छ । शनिबार नै भएको खेलमा बार्सिलोनालाई पछ्याइरहेको रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा पुगेको हो । समान खेलबाट २२ नै अंक रहेको रियल मड्रिड गोलअन्तरमा पछि परी दोस्रो स्थानमा छ।
आफ्नै मैदानमा भएको खेलमा बराबरीमा रोकिँदा जितसँगै तीन अंक जोडी शीर्ष स्थानमा उक्लिने अवसर रियलले गुमायो ।