काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको कप्तान पदमा बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मल्ललाई नियुक्त गरेको हो ।
सन् २००९ मा पारस खड्का कप्तान भएपछि उपकप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्रले अन्ततः कप्तानको जिम्मेवारी पाएका छन् । त्यसो त उनले यसअघि पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी गरिसकेका छन् ।यू–१५ क्रिकेटदेखि सुरु भएको क्रिकेट करिअरमा मल्लले लामो समय नेपाली क्रिकेटमा बिताइसकेका छन् । यू–१५, यू–१७ हुँदै यू–१९ टोलीमा स्थान बनाएका मल्ल २००६ मा नेपालले यू–१९ विश्वकप खेल्दा टोलीको महत्वपूर्ण सदस्य थिए ।
त्यसबेला विश्वकपमा उनले ६ इनिङ्समा १ सय ४५ रन बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा उनले बनाएको ४५ रन सर्वाधिक चर्चामा रहेको थियो ।दायाँ हाते ब्याट्सम्यान मल्लले त्यसपछि २००८ मा भएको यू–१९ विश्वकपमा नेपाली यू–१९ क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी पाएका थिए । यू–१९ टोलीको उपकप्तान हुँदै मल्ल २००९ मा राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान बने ।
त्यसयता निरन्तर १० वर्ष उपकप्तानको जिम्मेवारीमा रहे उनी । ज्ञानेन्द्रले नेपालका लागि ४३ लिस्ट ए खेलेका छन् । लिस्ट ए मा १ हजार ४७ रन बनाएका मल्लको सर्वाधिक उच्च रन ९१ छ । एकदिवसीय मान्यतापछि नेपालले एकदिवसीय सिरिज खेल्दा ज्ञानेन्द्रले ६ खेल खेलेका छन् । ६ खेलमा १ सय ४३ रन बनाएका मल्लले अर्धशतक प्रहार गरेका छन् ।
यस्तै २१ टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ३४ रन बनाएका छन् । टि–ट्वान्टी क्रिकेटमा पनि मल्लले अर्धशतक बनाएका थिए । २९ वर्षिय मल्लले नेपालको डिभिजन पाँचदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासम्मको यात्रामा महत्वपूर्ण योगदान दिएका छन् ।
पारस कप्तान बन्दादेखि उपकप्तान बनेका ज्ञानेन्द्रले विभिन्न समयमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए ।
सन् २०१७ मा भएको एसीसी इमर्जिङ टिम कपमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले दुई महिनाअघि आईसीसी टि–ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते भएपछि मलेसियाविरुद्ध कप्तानी गरेका थिए । उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत बनाएका थिए । घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले नियमित रुपमा विभिन्न टोलीको कप्तानी गर्दै आएका छन् ।
अघिल्लो महिना नेपाली क्रिकेट टोलीले ओमानमा पाँच राष्ट्र सम्मिलीत टि–ट्वान्टी सिरिज र सिंगापुरमा त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दा ज्ञानेन्द्र अनुपस्थित थिए । पारिवारिक कारण ज्ञानेन्द्रले उक्त प्रतियोगिता नखेल्ने घोषणा गरेका थिए ।