सुरेश जोशी
पोर्चुगल
जिन्दगी भित्रका कयौं हारहरुलाई तिहार जस्तै उल्लासमय बनाउने कयौंन असफल प्रयास गरिरहेकाहरुले तिहारलाई तिहार मात्रै देखे या जिन्दगीका ति हारहरूबारे गहन रुपले घोत्लिए ।मलाई जिन्दगी भित्रका जीतहरु भन्दा हारहरु प्रिय लाग्छन किनकी हारभित्र जिन्दगीको सजिब चित्र भेट्न सकिन्छ । हरेक बर्ष तिहारले दिने उल्लास जस्तै ति हारहरुले जिन्दगीको गहन बुझाईमा बेग्लै उल्लास ल्याउछन । ६० को दशक जन्मेको माटोमा तिहारको उल्लास मनाएको मेरो जिन्दगीले त्यसपछिका बर्षहरुले जिन्दगीका ति हारहरुसँग आत्मियता गास्दै ति हारहरुलाई सहर्ष स्वीकार गर्दै मुस्कुराउन सिकायो ,परको देशमा जिन्दगी भित्रका अनगिन्ती हारहरुमा पौडीन्छ दैनिकी र चेतना ।
यो तिहारको एउटा सुन्दर पाटो पनि हो जिन्दगी भित्र जिन्दगी खोजिरहेकाहरुका लागि कमसेकम आफ्नै जिन्दगीका ति हारहरुलाई क्रमबद्द मनन गर्ने सुनौलो मौका पाईन्छ, आजकाल मान्छेहरु आफ्नो जीतको,बीरताको गाथा सुनाउन माहिर छन् । म भने आफ्ना हारहरुका कथा आफैलाई सुनाउन अभ्यस्त र अती व्यस्त छु , मेरा हारहरु तिहार भन्दा कम्ता रंगीन छैनन्। देशको माटो, पुर्खाको पैतालाको डोब, आफु हुर्केको त्यो परिवेश, देशको ब्यबस्था र अवस्था , आफन्त साथीभाई , नेपाल सरकारले दिएको त्यो नागरिगता, पढे लेखेको दावी गर्ने त्यो डिग्रीको सर्टिफिकेट , त्यो स्कुलिङ्ग यी सबै-सबै हारका कथा हुन् , ईमानको कमाईले जिन्दगी चलाउने सबैभन्दा ठुलो हारको कथा लाग्छ कहिलेकाही र सोच्छु ईमान बेचेर हनुमान बनी ज्युन बाँकी जिन्दगी बिताइदिउ हारको एउटा कथा थपेर , आत्मा मान्दैन ।
यो तिहारले कमसेकम जिन्दगीका अनगिन्ती जीत र हारका कथाहरुलाई गहन रुपले बुझ्ने मौका दिन्छ किनकी ज्यान परको देशमा भएपनि ध्यान घरको देशतिरै रहन्छ । घरदेशमा तिहार मनाउने तरिकाबारे मेरो पूर्ण सहमति छ तर परको देशमा रहेकाहरुले कमसेकम जिन्दगीका कयौन हारका कथामाथि फुर्सदिलो तिहारको समयमा डुबुल्की मारुन भन्ने चाहन्छु
र अन्त्यमा ति-हारको शुभकामना !!