किन भयो रौतहटमै दुई सामूहिक हत्याकाण्ड?

रौतहट सुरक्षाका दृष्टिले निकै संवेदनशील जिल्ला मानिन्छ । त्यहाँ पुग्ने प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुखहरु समेत जिल्लालाई निर्क संवेदनशील मान्छन् ।
संगठित अपराधका घटनाहरु बढी हुने जिल्लामध्ये हो रौतहट । भारतको विहारको मोतिहारी जिल्लासँग जोडिएको रौतहटबाट सीमापार सहज आवतजावत हुन्छ । सीमापार आपराधिक क्रियाकलापका कारण पनि यो जिल्ला संवेदनशील मानिन्छ । दुवैतर्फ हुने आपराधिक क्रियाकलापमा सीमापार सक्रिय आपराधिक गिरोहको संलग्नता देखिएको छ । यसको प्रमाण रौतहटमा घटेका ठूलो आपराधिक घटनामा संलग्नहरुको विवरणबाट जानकारी प्राप्त हुन्छ ।

रौतहटमा २०६३ र २०६३ मा दुईवटा ठूला घटना घटे । दर्जनौंको ज्यान जानेगरी भएका घटनामा सीमापार अपराध गर्नेहरुको संलग्नता देखिएको छ ।
७ चैत २०६३ मा गौर बजारमा भएको हत्याकाण्डमा सीमापारीबाट आएका अपराधीहरु समेत संलग्न भएको अनुसन्धानबाट पत्ता लागेको थियो । वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव त्यतिबेला मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए र उनी मुछिएको घटनामा सीमापार गरी आएका आपराधिक समूह संलग्न भएको तथ्य खुलेको थियो ।

यसैगरी २७ चैत २०६४ मा राजपुरमा भएको सामूहिक हत्याकाण्डमा पनि सीमापार अपराधीहरु संलग्न रहेको तथ्य खुलेको छ । घटनामा बम ल्याउनेमध्ये भारतीय आपराधिक गिरोह थिए । उनीहरुमध्ये कतिपय दुर्घटनाबाट बम बिष्फोट भएपछि हत्या समेत गरिएका थिए । ती आपराधिक गिरोहका सदस्यका परिवार उनीहरुको खोजीकार्यका लागि रौतहट समेत आएका थिए । तर फेला परेन ।
रौतहटमा घटेका दुई घटनाबारे वृस्तृत विवरणः

घटना नम्बर १: गौर नरसंहार
७ चैत २०६३ मा रौतहटको गौर बजारमा नरसंहार भएको थियो । यो नरसंहारमा तत्कालिन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवको निर्देशनमा भएको कतिपय अध्ययनहरुको निष्कर्ष छ । हाल देशको उपप्रधानमन्त्री बनेका यादव संलग्न भएको भनिएको घटनामा माओवादी कार्यकर्ताहरुको विभत्स हत्या भएको थियो ।

उक्त दिन अपरान्ह तत्कालिन मधेशी जनअधिकार फोरम र तत्कालिन नेकपामाओवादी निकट मधेशी राष्ट्रिय मोर्चाका बीच एकै स्थानमा कार्यक्रम गर्ने तय भयो । प्रशासनले सम्भावित झडपलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । कार्यक्रम जुधाएर गरिनुमा खतरनाक नियत लुकेको थियो ।

एउटै समयमा गौरमा कार्यक्रम गर्न लागियो । दुवै दलको मञ्च मात्र ६० मिटर दूरीको फरकमा बनाइएको थियो । फोरमको कार्यक्रमपछि माओवादीको कार्यक्रम गर्ने सहमति भएपनि फोरमका कार्यकर्ताले माओवादी निकट मेधशी राष्ट्रिय मुक्ति मोर्चाको मञ्च तोडफोड गरेका थिए । त्यसपछि फोरमको मञ्च माओवादी कार्यकर्ताले तोडफोड गर्न थाले । त्यसक्रममा हवाइ फायर भयो ।

घटनामा भागदौड मच्चियो । गोली चल्यो । पाँच जना माओवादी कार्यकर्ता घटनास्थलमा मारिए । घाइतेमाथि विभत्स तरिकाले थप आक्रमण गरियो । प्रतिमा खातुनलाई फोरम कार्यकर्ताहरुले जर्बजस्ती गरेर आगो लगाई हत्या गरे । भागेर ज्यान जोगाएका कतियलाई सर्लाहीतर्फ भाग्दै गर्दा नियन्त्रणमा लिई नृशंश तरिकाले हत्या गरियो ।

रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीमाथि जर्बजस्ती गरी विभत्स तरिकाले जिउँदै आगो लगाएर मारियो अनुनय विनय गर्नेहरुलाई आगो लगाएर जिउँदै जलाएर मारियो । घरमा लुकेर बसेकालाई थुतेर विभत्स तरिकाले मारियो । रमाकान्त चौधरीलाई फोरम कार्यकर्ताको एउटा समूहले हत्या गरी फालिदिएका थिए । कतिपयलाई घिसारी घिसारी मारियो ।हत्या गर्दा लाठी, भाटा, भालालगायतका घरेलु धारिलो हतियार प्रयोग भएको थियो । आगो लगाएर जिउँदै जलाउनेहरु पनि भए । सात किलोमिटर सम्म लखेटेर मारियो ।यो घटनामा उपेन्द्र यादव मुख्य योजनाकार रहेको विभिन्न अनुसन्धान र अध्ययनले देखाएको छ । आपराधिक पृष्ठभूमिका बबन सिंहले सहयोगी भूमिका खेले । बबन प्रहरीको खोजीमा थिए । तर, भूमिगत अवस्थामै चुनाव लडेर स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

ललन सिंह, चन्द्रीका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भु शाह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतमाथि आरोप लाग्यो ।यो घटना नियोजित थियो भन्ने निष्कर्ष निकालिएको थियो । यो निकै बर्बर थियो । बलात्कार, महिलाको स्तन काट्ने देखि विभत्स तरिकाले हत्या भयो ।(१५ जना पत्रकारहरुको टोलीले घटनाको स्थलगत अनुगमन गर्नुका साथै प्रत्यक्षदर्शीसँग कुराकानी गरेर तयार पारेको रिपोर्टमा आधारित)

घटना नम्बर २: रौतहट बमकाण्ड
रिपोर्टर्स नेपालले प्राप्त गरेको सूचना अनुसार नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम मुछिएको १२ वर्ष अघिको रौतहट बमकाण्डको प्रमाण एकै रातमा मेटिएको थियो । २७ चैत २०६४ मा बम राखिएको गोठमा घटना घटेपछि रातभरमा प्रमाण नष्ट गर्न लगाइएको थियो ।

घटनास्थल रहेको छाप्रोमा रहेका सबै प्रमाण मेटाइएको थियो । रगतको टाटा सबै छोप्न पोतिएको थियो । घटनापछि न्याय माग्दै काठमाडौं आइपुगेकी रोक्शाना खातुनले विष्फोट भएको गोठ तत्काल मर्मत गरिसकिएको बताएकी थिइन् । २०६५ वैशाखमा रिपोर्टर्स क्लबमा आएर उनले भनेकी थिइन्, छानविन गर्ने हो भने गोठमा पुगेको क्षति छोप्न टालिएको अझै देखिन्छ ।
घटना खुल्ने भयले गोठ नष्ट गरिएन । बरु क्षति टालियो । तर, टालिएको क्षति रौतहटका तत्कालिन सीडिओ र प्रहरी प्रमुखले देखेनन् । उनीहरुले आँखामा पट्टी हाले । घटनापछि प्रहरीमा उजूरी गर्न जांदा प्रहरीले बेवास्ता गरेको थियो । ९ वैशाखमा उजूरी गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको श्रीनारायणले बताएका थिए ।

घाइतेलाई जिउँदै ईँट्टा भट्टामा हालिएको थियो । त्यसपछि त्यहाँ रहेका खरानीहरु सबै पुरिएको थियो । घटनाका प्रत्यक्षदर्शी सराजुल मोहम्मदले घटना लुकाउन गरिएको षड्यन्त्रको सनसनीपूर्ण खुलासा गरेका थिए ।घटनाका प्रत्यक्षदर्शी सराजुलले घाइतेलाई अस्पताल लगौं भन्दा ईंट्टाभट्टामा हाल्ने भनेपछि त्यहाँबाट भागेका थिए । उनले आफ्नो पनि ज्यान जानसक्ने देखेर भागेको बताए ।

राजपुरको फर्दवा गाउँनै धूंवाले ढाकिने गरी भएको बम विष्फोटको घटना लुकाउन खोजिएको थियो । रौतहट क्षेत्र नं २ बाट पहिलो संविधानसभामा निर्वाचित मोहम्मद अफताव आलम स्वयं घटना लुकाउन सक्रिय रहेको पिडितको भनाई थियो । आफ्ना भाई महताफलाई खटाएर उनले पिडितलाई पैसाले किन्न खोजे । मृतक ओसे अख्तरका बाबु जोबेर मियांले रिपोर्टर्स क्लब नेपालमा भनेका थिए,‘हामीलाई तीन लाख रुपियां दिन्छु चुप लाग भनिरहेका छन् ।’

तर, आलम र उनका भाई मोहम्मद सकिल अख्तरले घटना नै नघटेको दाबी गरेका छन् । रौतहटमा त्यस दिन कुनै बम बिष्फोट नभएको दाबी गरे । जबकि त्यस दिनको बिष्फोटले सिंगो रौतहट र आसपासका जिल्लामा समेत आवाज पुगेको थियो । बम बिष्फोटले सिंगो रौतहटवासी त्रसित भएको घटना नै नभएको अख्तरको दाबीले झन् शंका पैदा भएको छ । घटनामा मारिएकाहरुको न सास देखाउन सके न लास । उनीहरुबारे सोध्दा अफताबका भाई सकिलले थाहानभएको दाबी गरे ।

घटनाको सबै प्रमाण मेटेको र राजनीतिक प्रभावले घटनाको अनुसन्धान हुन नदिइएकाले पनि अफताबको परिवार कारबाहीमा नपर्नेमा ढुक्क छ । यसलाई राजनीतिक रंग दिन खोजिएको छ । यसमा २०६४ चैत्रमा बहालवाला प्रहरीहरुको समेत मिलेमतो देखिएको छ । घटनाको ढाकछोप गर्न स्वयं जिम्मेवारी प्रहरी अधिकारीहरु लागेको खुलिसकेको छ ।घटनामा जो जो बोल्छन् उनीहरुलाई पैसाले प्रभावित पार्न खोजियो । श्रीनारायाण सिंहलाई फकाउन प्रहरीमा कार्यरत उनका आफन्तलाई खटाइएको थियो । क्षतिपूर्तिस्वरुप रकम दिने भनिएको थियो । तर पिडित पक्ष पैसाबाट नबिक्ने भन्दै घटनाको दोषीलाई कारबाही गरिछाड्न दृढ थियो ।

बम बिष्फोटपछि घाइते र मारिएका अन्यलाई चिम्नीभित्र हाल्ने समयमा केही गलत प्रवृत्तिका प्रहरी स्वयं संलग्न थियो भन्ने प्रत्यक्षदर्शीको भनाईलाई आधार मान्ने हो भने त्यतिबेला प्रहरीले उल्टै घटना लुकाउन मद्यत गरेको देखिन्छ । त्यतिबेला देशभर संविधान सभा चुनावको चहलपहल भइरहदा रौतहटको पचरुखी गाविसको छतावना गाउ“ शोकाकुल बनाउने घटना लुकाउन खोज्नेहरु उदांगिदै गयो । घटनामा मारिएकाहरुका आफन्त खोज्दै आइरहेपनि घटना लुकाउन खोजियो । यसका लागि प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएको थियो । अहिले घटना उदांगिएको छ । अफताब आलम पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार