काठमाडौं।
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योगको घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।
पीडित महिलाको जाहेरीमा ‘जबरजस्ती करणी उद्योग’ भन्ने व्यहोराको भएकाले सोही बमोजिम प्रहरीले तयार गरेको प्रतिवेदन बुझाएको स्रोतको भनाइ छ ।
अब सरकारी वकिल कार्यालयले महरासँग लिएको बयान र शुक्रबार बुझाइएको प्रतिवेदनका आधारमा महराविरुद्ध अदालतमा मुद्दा लैजाने/नलैजाने निर्णय गर्नेछ अथवा थप अनुसन्धान गर्नुपर्ने भन्ने लागेमा पनि प्रहरीलाई भन्न सक्छ ।
२०७६ असोज १२ गते भएको भनिएको घटना सोही राती प्रहरीमा खबर भएको थियो भने भोलिपल्ट संचारमाध्यममार्फत पीडितले नै सार्वजनिक गरेकी थिइन् ।उनले नै घटनाको ६ दिनपछि किटानी जाहेरी दिएपछि महरालाई पक्राउ नै गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको हो ।
तिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको छ।
तर, महराले भने इन्कारी बयान दिएको प्रहरीले जनाएको छ। पीडकको बयान इन्कारी नै देखिए पनि कसुर स्थापित हुने आधार तयार पारेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरेको छ।
महरा असोज १२ गते बा २०च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेका थिए। त्यसक्रममा महराले जबरजस्ती करणी प्रयास गरेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।