बंगलादेशमा छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्ड

काठमाडौं ।


बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ ।१९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो । उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत गरिएको थियो ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् ।

बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ ।नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चार/पाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो ।

शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो।बंगलादेशलाई नै स्तब्ध बनाएको नुसरतको मृत्युपछि उनलाई न्यायको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए । (एजेन्सी)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार