चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाको फाइल प्रहरीले पल्टाउन थाल्यो

-सुजन पन्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारवाहीका बारेमा चौतर्फी आलोचना भइरहेको समयमै अपराध तथा आपराधिक गतिविधिविरुद्ध नतिजा देखिने गरी सरकार कम्मर कसेर अघि बढेको प्रतीत हुन थालेको छ । पछिल्लो समय धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ हुनुलाई यसको उदाहरण मान्न सकिन्छ । सभामुख कृष्णबहादुर महरादेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापासम्म प्रहरी फन्दामा परिसकेका छन् ।

नेपालको राजनीतिक इतिहासमा यति ‘पावरफुल’ व्यक्ति कानुनी कारवाहीमा तानिएका उदाहरण विरलै पाइन्छ ।पक्राउ पर्नेहरुमा सांसददेखि नेता पनि छन् । विगतमा आपराधिक क्रियाकलाप गरेर ढाकछोप गर्दै आए पनि स्वयं प्रधानमन्त्री ओलीबाट ‘हरियो झण्डा’ पाएर प्रहरीले सक्रियता बढाएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् ।

विगतमा राजनीतिक आवरणमा आपराधिक क्रियाकलाप गर्दै ढाकछोप गरेर आए पनि अहिले प्रहरीले छोपिएका अपराध खोतल्न थालेपछि अन्य नेताहरु समेत त्रसित भएका छन् ।प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले ‘विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाको फाइल प्रहरीले पल्टाउन थालेको’ बताए ।पछिल्लो समय आपराधिक क्रियाकलाप गरेर राजनीतिको आडमा ढाकछोप गर्दै आइरहेका सांसद, नेता जो कोहीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रवक्ता पोखरेलका अनुसार राजनीतिक आडमा बसेर अपराधिक क्रियाकलाप गर्ने जो कोही पनि पक्राउ पर्नेछन् ।उनले भने, ‘प्रहरी अब चुप लागेर बस्नेवाला छैन । जसले गल्ती गर्छ ऊ कानुनी कठघरामा आउनु पर्छ नै ।’पछिल्लो समय ६ जना उच्च ओहोदाका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हेरौँ कुन व्यक्ति के मुद्दामा पक्राउ परे ?

कृष्णबहादुर महरा, निवर्तमान सभामुख
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले असोज १९ गते नियन्त्रणमा लियो ।प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो ।सभामुख महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी शाहीले १४ गते मंगलबार मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।तर, त्यसको भोलिपल्टै बयान फेर्दै उनले महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् । यद्यपि, उनले महराविरुद्ध असोज १८ गते बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।त्यसो त आफूले महराविरुद्धको जाहेरी प्रहरीको दबाब र करकापमा दिएको भन्दै रोशनीले त्यसका विरुद्ध अदालतमा निवेदन समेत दिइसकेकी छन् ।

नरेश थापा, गृहमन्त्रीका भाइ
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा भदौ २६ गते पक्राउ परे । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते हत्या भएको थियो । घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी उनको हत्या भएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका थिए ।पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । ‘कल डिटेल रेकर्ड’मा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिएको थियो ।नरेश यतिबेला धरौटीमा रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतले नरेशलाई असोज १ गते एक लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो । धरौटी वापत नगदै बुझाएर थापा घर फिरेका हुन् । थापाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको अभियोगमा मुद्दा चलाइएको छ ।

मोहम्मद अफ्ताव आलम, सांसद
नि
वर्तमान सभामुख महरा पक्राउ परेको एक हप्तापछि प्रतिनिधिसभा सदस्य मोहम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परे ।२०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा सांसद आलमलाई असोज २६ गते रौतहट प्रहरी र प्रहरी मुख्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको विस्फोटको घटनामा आलमको प्रत्यक्ष संलग्नता रहेको भन्दै घटनाका पीडितहरु र स्थानीयहरुले समेत यतिबेला मुख खोलेर बोल्न थालेका छन् ।

२०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । निर्वाचनमा आतंक फैलाएर आफ्नो पक्षमा माहोल बनाउन बम बनाउने क्रममा भएको भनिएको उक्त विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना गम्भीर घाइते भएका बताइएको छ ।घटना ढाकछोप गर्न घाइते सबैलाई राजपुरस्थित ईंटाभट्टामा जिउँदै जलाएर बेपत्ता बनाएको आरोप पीडित परिवारका सदस्यले लगाउँदै सांसद आलमसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उक्त घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न २०६९ सालमा सर्वोच्च अदालतले आदेश दिएको थियो । बम विस्फोटको घटनामा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा सांसद आलमको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नंं २ बाट निर्वाचित सांसद हुन् ।

आलमको पक्राउ लगत्तै नेपाली कांग्रेस रौतहटले प्रतिरोधमा सडक संघर्ष थालेको थियो । कतिसम्म भने नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले त आलमविरुद्ध प्रतिशोधपूर्ण कारवाही भएको भन्दै सार्वजनिक रुपमै आलमको समर्थनमा उत्रिएका थिए । उनको त्यो भनाइको सर्वत्र आलोचना भएपछि देउवाले ‘घटनाको निष्पक्ष छानविन हुनुपर्ने र त्यसमा कांग्रेसले सघाउने’ भन्न बाध्य भएका थिए ।

प्रमोदकुमार साह, सांसद
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा असोज २८ गते सांसद प्रमोदकुमार साह पक्राउ परे ।राष्ट्रिय जनता पार्टीका सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो |पक्राउ परेकै दिन सांसद साहलाई जिल्ला अदालत धनुषा पठाइयो । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी गरेको केही घन्टामै साह पक्राउ परेका हुन् । साह काठमाडौंबाट जनकपुर फर्किन लाग्दा पक्राउ परेका थिए ।

सर्लाहीबाट निर्वाचित सांसद साहले असोज २७ गते समयमै जहाज नआएको भन्दै बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनले आक्रोश पोख्नेक्रममा त्यसो गरेका थिए । उक्त घटनापछि मुद्दा खेपेका सांसद साह यतिबेला साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि कात्तिक १ गते साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।

पार्वत गुरुङ, सांसद
ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ कात्तिक ३ गते जिल्ला अदालत काठमाडौंमा हाजिर भए । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुनेबित्तिकै अदालत हाजिर भएका थिए । अदालतले उनको बयान लिएको छ ।
दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
प्रतिवादीहरु फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

दिपेन्द्रकुमार यादव, नेकपा नेता
कीर्ते गरेर ठगी गरेको आरोपमा फरार रहेका नेकपा नेता दिपेन्द्रकुमार यादव (दिपु) असोज २९ गते पक्राउ परे । जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य रहेका यादवलाई जनकपुरधाम–८ बलवा टोलस्थित उनकै निवासबाट धनुषा प्रहरीले पक्राउ गरेको हो ।

यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता नगरेको अभियोग छ ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि उनले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पीडित रौनियारको बर्दिवास स्थित ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ । जिल्ला अदालत धनुषाले गत साउन १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी फरार थिए ।

यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका थिए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

दीपक मनाङ्गे, प्रदेश सांसद
यसअघि प्रहरीले फरार रहेका दीपक मनाङ्गे (राजीव गुरुङ) लाई गत वर्ष वैशाख ६ गते पक्राउ ग-यो । प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूको तीनधारास्थित घरबाट नै गुरुङलाई पक्राउ गरेको हो ।पक्राउ परेका गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको सपथ समेत लिएका छन् ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए ।ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । अदालत बाहिर रहेर मुद्दाको पुनरावेदन गर्न पाउने गरी अदालतले आदेश दिएसँगै उनले प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार