अमेरिका : छुट्टाछुट्टै गोलीकाण्डमा आठको मृत्यु !

अमेरिकामा भएका छुट्टाछुट्टै भएका गोली आक्रमणमा आठजनाको मृत्यु भएको छ । सिकागोको एउटा अपार्टमेन्ट र न्युयोर्कको रात्रि क्लबमा भएका गोली प्रहारमा आठजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका छन् ।

सिकागोको उत्तर–पश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चारजनाको मृत्यु भएको र एकजना घाइते भएको प्रहरीले जनाएको छ । विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एकजना ६७ वर्षीय निर्माण मजदुरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए । मारिएकाहरूमा तीनजना पुरुष र एक महिला छन् । आफ्नो कोठामा खाना खाइरहेका वेला ती मजदुर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ । गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।

यस्तै, न्युयोर्कको बरुकलिनस्थित रात्रि क्लबमा शनिबार गोली चल्दा कम्तीमा चारजनाको मृत्यु हुनुका साथै अन्य तीनजना घाइते भएका छन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एकजना महिला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । डेढ महिनाअघि टेक्सासमा भएको गोलीकाण्डमा २० जनाको मृत्यु भएको थियो । त्यस्तै, ६ महिनाअघि फ्लोरिडामा भएको सामूहिक गोली प्रहारमा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार