सीसँगको भेटमा प्रचण्डले भने- समृद्ध चीन नेपालका लागि अवसर

काठमाडौं

चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।

आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको प्रचण्डको निजी सचिवालयले बताएको छ।

भेट दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकास‍बारेको छलफलमा केन्द्रित भएको थियो। सो अवसरमा अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।

उनले चीनजस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुस भएको बताए। प्रचण्डले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु।’

अध्यक्ष प्रचण्डले बिआरआईमा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको दाबी गरे।

उनले दुवै देश र जनताको हितका निम्ती समयसीमा निर्धारण गरी आयोजनाहरुको छनोट र तीब्र कार्यान्वयनमा जोड दिनुपर्ने बताए। विकास बिना राजनैतिक स्थायित्व हासिल गर्न नसकिने बताउँदै उनले समृद्ध चीन नेपालका लागि अवसर भएको धारणा राखे।

राष्ट्रपति सी चिनफिङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ राष्ट्रपति सीको भनाइ थियो। उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार