मंगल मुर्ति भगवान गणेशले सबैको कल्याण गरुन,आश्विन २१ गते मङ्गलबार\अक्टोबर ०८ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०८ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : विजया दशमी, नवरात्रअन्तर्गत अपराजिता भगवतीको पूजा आराधना गर्ने दिन, दशैंको टीका, देवी विसर्जन, शमी दर्शन, खड्गयात्रा, चाँल, आजको मूहुर्त : कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) दशमी तिथि, साँझ ०४:१९ बजेसम्म, त्यसपछि एकादशी तिथि, श्रवण नक्षत्र, बेलुका १०:३४ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), धृति योग, मध्यरात्रीपछि ०३:५९ बजेसम्म, त्यसपछि शूल योग, सुरुमा गर करण साँझ ०४:१९ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०५:०८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५९ बजे, सूर्यास्त : साँझ ०५:४१ बजे, दिनमान : २९ घडी १४ पला (११ घण्टा ४२ मिनेट, रात्रीमान : ३० घडी ४६ पला (१२ घण्टा १८ मिनेट)

nesh

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०२:४६ देखि ०४:१३ सम्म, यमघण्ट : बिहान ०८:५५ देखि १०:२३ सम्म, गुलिक काल : दिउँसो ११:५० देखि ०१:१८ सम्म, काल वारवेला : दिउँसो ०१:१८ देखि ०२:४६ सम्म, रोग वारवेला : बिहान ०५:५९ देखि ०७:२७ सम्म र साँझ ०४:१३ देखि ०७:१३ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२३ देखि ११:५० सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा, असँचाल, हुलाक दिवस, धनिष्ठा पञ्चक प्रारम्भ दिनको ११ बजेर ४० मिनेटपछि, भोलिको मुहूर्त : अग्निवास(होमादि), डेरा सर्ने, दीक्षाग्रहण, कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । मान्यजनको सेवासुश्रुषा र चाकरीमा समय दिनुपर्ने छ । धनागमका बाटाहरू खुल्ला रहने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आतिथ्य ग्रहण गर्ने, सम्मानित हुने वा मेजमानीको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अष्टमस्थ चन्द्रमाका कारण त्यत्ति सरल दिन छैन । आँटेका काम बन्ने सङ्केत छैन । चन्द्रमा अशुभ गृहमा छ । परिस्थिति अप्ठ्यारो छ । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन । व्यावसायिक काममा खर्च बढ्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ । चोटपटकको सम्भावना र धनमाल हराउने योग छ । सवारीमा सावधानी अपनाउनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुनेछ । सोचविचार नगरी हुन्छहुन्छ भन्नु हुँदैन, बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । परिस्थिति आफ्नो पक्षमा ल्याउन आत्मबल र संयमता गुमाउनु हुँदैन । आफ्ना समस्या प्रष्टसँग राख्नसक्दा सहयोग जुटाउन पनि सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । साँझमा परिवारजनका बीचमा आत्मीय भाव बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् वा दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मुखमा बसेको चन्द्रमा कमजोर छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता आइपर्ने छ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य सफलता आर्जन गर्न सकिने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ । बढी आशावादी बन्नु हुँदैन, तर आफैंले आत्मबल र हिम्मतले काम लिन सकेमा पछि परिने छैन । योजना बनाएर दीर्घकालिक लगानी गरेमा काम बन्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ । तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन् । भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुनसक्छ । लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ । अवसर आउने छ, सचेत रहँदा राम्रो लाभ लिन सकिने दिन छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्छ । सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार