भानुभक्त आचार्य
पत्रकारिता पढ्ने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो, ‘आवाजविहीनहरूको आवाज’ । यसको मतलब हो, पत्रकारिता आवाजविहीनहरूको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन्, जो सीमान्तकृत छन्, जसलाई राज्यका विभिन्न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न सकिन्छ ? कसैले आफ्नो अधिकार हनन ग¥यो भने न्याय खोज्न कहाँ जाने भन्ने थाहा छैन, ती मानिसहरू आवाजविहीन हुन् । पत्रकारिताको विद्यार्थीले आफू पत्रकार भएपछि सीमान्तकृत व्यक्तिका आवाजको प्रतिनिधि भएर काम गर्छु भन्ने कबुल गर्छ ।
पत्रकारिताको विद्यार्थीलाई पढाइको सुरुतिरै पत्रकारिताका कार्यहरू पनि पढाइन्छ, जसमा पहिलो काम सूचित गर्ने, दोस्रो काम सचेत बनाउने र तेस्रो काम अभिप्रेरित गर्ने पर्छन् । यसैलाई अंग्रेजीमा ‘इन्फर्म, एजुकेट र इन्सपायर’ भनिन्छ । पत्रकारिताका यी कामहरू पनि समाजमा भएका आवाजविहीनहरूलाई सशक्तिकरण गर्नतर्फ लक्षित छन् । पत्रकारिताको अर्को महŒवपूर्ण काम भनेको राज्यका निकायलाई सर्वसाधारण जनताप्रति उत्तरदायी र जवाफदही बनाउने पनि हो । उत्तरदायी भनेको सर्वसाधारणले गरेका प्रश्नहरूको उचित जवाफ दिने र गुनासोहरूलाई सम्बोधन गर्ने । जवाफदेही भनेको राज्यका निकायले गलत गरेको रहेछ भने त्यस्तो काम गर्ने कर्मचारीलाई कारबाही गर्ने, गल्ती सच्याउने र सुध्रिएर अगाडि बढ्ने ।
यसरी पत्रकारले एकातिर सर्वसाधारणलाई सुसूचित, सचेत र उत्प्रेरित गर्ने अर्कातिर राज्यका निकायहरूलाई जनताको हितमा काम गर्न दबाब दिने अपेक्षा गरिन्छ । हरेक पत्रकार यी दुई भूमिकामा अब्बल साबित हुन सकेमा मात्रै पत्रकारिताले राज्यको चौथो अंग (सरकार, संसद् र न्यायपालिका पछिको महŒवपूर्ण निकाय) को भूमिका निर्वाह गर्न सक्छ ।
तर हाम्रो पत्रकारिता हामीले सोचेजस्तो वा अन्तर्राष्ट्रिय सिद्धान्तहरूले विवेचना गरेजस्तो छैन । यसका विविध कारणहरू होलान्, तर पहिलो कारण पत्रकारको ‘चाकरी प्रवृति’ हो । पढ्ने बेलामा आवाजविहीनहरूको आवाजलाई प्राथमिकता दिनु पर्ने कुरा पढेका भए पनि कतिपय पत्रकारको दैनन्दिन व्यवहारमा त्यस्तो देखिँदैन । कुनै पत्रकार फूलको गुच्छा र खादा बोकेर नेतालाई एयरपोर्टमै स्वागत गर्न पुग्छ, नेतालाई सञ्चो भए पनि, विसञ्चो भए पनि, बोलाए पनि, नबोलाए पनि पत्रकार बनेर उनीहरूका अघिपछि रहन रुचाउँछ, आफूले चिनेको कुनै नेता सानोतिनो पदमा पुग्यो भने पनि राष्ट्रसंघकै महासचिव भएजस्तो गरेर सार्वजनिकरूपमै स्तुति र प्रशंसा गाउँछ वा आफूले काम गर्ने अखबारमै फोटोसहित शुभकामना र स्वागतका शब्दहरू चढाउँछ भने उसले पत्रकारिता होइन, चाकरी गरिरहेको छ । हामी नेताले बोलेका, नबोलेका, व्यक्तिगत वा सार्वजनिक, उसको विगत र भविष्य आदि सबै समाचारमूलक हुन्छ भन्ठान्छौं । अर्थात् हामी विषयवस्तुलाई कम र नेतालाई बढी महŒव दिन्छौं । कुनै कार्यक्रम राम्रैसँग सम्पन्न भएको छ तर कुनै नेताले आफ्नो मर्यादा कम भएको गुनासो ग¥यो भने त्यसैलाई मुख्य समाचार बनाइदिन्छौं । यसको मतलब हामी नेतामुखी पत्रकार हौं । जसरी राणाकालमा राणाजीहरूका सबै गतिविधि समाचार बन्थे, जसरी पञ्चायतकालमा राजाका हरेक गतिविधिहरू समाचार बन्थे, अहिले हामीले त्यो ठाउँमा नेता राखेका छौं ।
दोस्रो कारण हो, नेतालाई समाचारीय मूल्यअर्थात् ‘न्युज भ्याल्यू’ मान्नु । आवाजविहीनको आवाज हुनु पर्ने हाम्रो पत्रकारिता अचेल अचाक्ली नेतामुखी भएको छ । कुनै अखबारको १५ दिनका समाचार रिपोर्टहरू भेला पार्नुहोस् । राजनीतिक गतिविधि र बाँकीलाई तुलना गर्नुहोस् । ५० प्रतिशत त नेताकै गतिविधि समाचार बनिरहेको हुन्छ । अझ गतिविधि पनि होइन, तिनका भाषण, प्रेस विज्ञप्ति, सामाजिक सञ्जालका प्रतिक्रिया आदि इत्यादि । हाम्रा अखबारमा सर्वसाधारणले बोलेका गतिलै समस्या भए पनि नेताले बोले मात्रै समाचार बन्ने परम्परा छ । हुन त कुनै पनि कार्यक्रम आयोजकहरूले नेता होइन, पत्रकार खोजेका हुन्छन् किनकि उनीहरू आफ्नो मुद्दालाई बहसको विषय बनाउन चाहन्छन् । यदि त्यसो भयो भने सरोकारवालाबीच पर्याप्त छलफल गरेर आवश्यक नीति निर्माण गरेर समस्याको समाधान गर्न सकिन्छ । तर कार्यक्रम आयोजकहरूलाई पनि राजनीतिक नेता आए मात्रै पत्रकार कार्यक्रममा आउँछन् भन्ने बुझेका छन् । हाम्रो पत्रकारिता कति नेतामुखी छ भने कुनै ठूलो नेता आउने पक्का भएमात्रै पत्रकार कार्यक्रममा गइदिन्छ ।
राष्ट्रिय टेलिभिजनहरूलाई बोलाउनु प¥यो भने, रेडियोका राष्ट्रिय नेटवर्कहरूमा प्राथमिकताका साथ समाचार प्रसारण गर्नु प¥यो भने, काठमाडौंबाट प्रकाशित हुने चौडा अखबारहरूमा समाचारलाई छपाउने हो भने आयोजकले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा त्यहीँ स्तरको भिआइपी नबोलाई सुख छैन । समाचारमा नेतालाई प्राथमिकता दिने कुरा नेपाली पत्रकारितामा देखिएको एक प्रकारको सामन्तवाद हो । दुखी गरिबको कुरा उसैले बोल्दा समाचार नहुने, नेताले बोल्दा हुने । यो विडम्बना होइन ? नेता ल्याएपछि, नेतालाई आफ्ना दुःख पीडा सुनाएपछि त्यो कार्यक्रममा हामीले बोलेको मुद्दा पनि समाचारमा आउँछ, अनि राज्यले त्यसलाई प्राथमिकताका साथ सम्बोधन गर्ला भन्ने अपेक्षा हुन्छ । तर दुर्भाग्य, कतिओटा समाचारमा नेताले बोलेको कुराबाहेक अरु केही आउँदैन ।
तेस्रो कारण हो, पत्रकारको राजनीति । ‘विचार नभएको पत्रकार हुँदैन’ भन्दै केही राजनीतिक दलका भ्रातृसंगठनमा लागेर आफूलाई ‘पत्रकार’ भनाइरहेका छन् । उनीहरूको काम आफू सम्बद्ध राजनीतिक दल वा नेताहरूको प्रचारप्रसार गर्नु हो । त्यस्तो पत्रकारले आफू संलग्न राजनीतिक दलका नेताको सार्वजनिक छविको प्रचारप्रसार हुने किसिमका समाचार लेख्छ । उनीहरूले गरेका गल्तीमा आँचा चिम्लिन्छ । बरु उनीहरूले आफूइतर पार्टीको भने जमेरै आलोचना गर्छन् तर त्यस्तो आलोचना तथ्यपरकभन्दा पनि प्रायोजित र रणनीतिक हुन्छ । अझ चुनावका बेला यस्ता पत्रकारले सर्वसाधारणको विवेक र चेतना ध्वस्त पार्छ ।
एक हिसाबले यस्ता गतिविधिलाई पार्टीकारिता भन्न पनि सकिएला तर यसले पार्टीभित्रका असंगत गतिविधिहरूलाई तटस्थ आलोचना गर्ने र पार्टीको गुणात्मक विकास गर्ने हैसियत राख्दैन । यो त एक किसिमको वफादारकारिता मात्रै हो । यस्ता वफादार पत्रकारलाई आफ्नो पार्टीको सरकार आएपछि प्रेस काउन्सिल, सञ्चारमन्त्रालय, सूचना विभाग वा सरकारी सञ्चार संस्थाहरूको प्रवन्धक आदि इत्यादि ठाउँमा पुग्ने आश्वासन दिइएको हुन्छ । यस्तो पत्रकारले अन्तर्वार्ता लिँदा पनि आफूले चिनेजानेको वा आफूले समर्थन गर्ने राजनीतिक दलको नेता रहेछ भने सतही प्रश्न गर्छ । औपचारिकता निभाउँछ । उसलाई जोगाउन खोज्छ । अझ कतिपय त त्यस्ता नेता कार्यकर्ताको बचाउमा निवस्त्रै भएर मैदानमा उत्रिन्छन् । उनीहरूसँग तथ्यांक र तर्क हुँदैन, मिथ्यांक र कुतर्क गर्छन् । जसरी राजनीतिक गर्ने शिक्षकले शिक्षाको गुणस्तर धुलिसात् पारेका छन्, जसरी राजनीति गर्ने न्यायाधीशले न्याय मारेका छन्, जसरी राजनीति गर्ने प्रहरीले आफ्नो पदीय दायित्व निर्वाह गर्न सक्दैनन्, त्यसैगरी राजनीति गर्ने पत्रकारले पनि तटस्थ पत्रकारिता गर्न सक्दैन । राजनीतिक साँठगाँठबाट पत्रकार चौथो अंगको भूमिकामा फिर्ता नआउञ्जेल उसले गर्ने पत्रकारिता प्रोपगन्डा हो । राजनीतिक पूर्वाग्रहले ग्रसित पत्रकारले न आवाजविहीनहरूको आवाज स्पष्टसँग उठाउन सक्छ, न जवाफदेही हुनु पर्ने निकायलाई जवाफदेही बनाउन सक्छ ।
चौथो कारण हो दोहोरो भूमिका । पत्रकारिताको सिद्धान्त, मर्यादा र आचारसंहितामा बाँझिने कुनै पनि पेसा व्यवसायमा पत्रकार संलग्न हुनुहुँदैन । पत्रकारको राजनीतिक संलग्नता र पूर्वाग्रह त झन् हुनै हुँदैन । कुनै पत्रकार एउटा सञ्चार संस्थामा काम गरिटोपल्छ । त्यहाँको परिचयपत्र र आपतकालमा लगाउने ज्याकेट प्रयोग गर्छन् । सञ्चार संस्थाको परिचयपत्रका आधारमा सूचना विभागबाट दिइने ‘पत्रकार परिचयपत्र’ लिन्छ । तर, गोप्य वा सार्वजनिकरूपमा विभिन्न राजनीतिक समूह, नेता वा कार्यकर्ताको तलबी प्रेस सल्लाहकार बस्छ । त्यस्तो व्यक्तिले पत्रकारिता होइन, प्रोपगन्डा मात्रै गर्न सक्छ । उसको काम आफूले लाभ प्राप्त गर्ने संस्थाका कमजोरीहरूलाई लुकाउने र व्यक्ति वा संस्थाका बारेमा बढाइचढाइ गरेर उनीहरूको सार्वजनिक व्यक्तित्व निर्माण गर्ने हो । यस्तो भूमिकामा रहेका व्यक्तिहरू पेसेवर सञ्चारकर्मी त हुन् तर पत्रकार होइनन् । यदि उनीहरू पत्रकारकै रूपमा तिनै राजनीतिक दल वा व्यक्तिका समाचार/रिपोर्ट/अन्तर्वार्ता ल्याइरहेका छन् भने त्यो तटस्थ हुँदैन । पूर्वाग्रही हुन्छ । उनीहरूको काम अरु सञ्चारमाध्यममा पनि त्यस्तो समाचार प्रकाशन/प्रसारण नगर्न दबाब दिन्छन् । अर्थात् पत्रकार भएको मान्छेले वास्तविक पत्रकारितालाई गर्भमै तुहाउँछ । यो झन खतरनाक प्रवृति हो ।
उल्लेखित कारणहरूले गर्दा पत्रकार भनिएको व्यक्ति कुनै नेता–कार्यकर्ताको वा कुनै उच्चपदस्थ कर्मचारी वा पदाधिकारीको जनसम्पर्क अधिकृत जस्तो भएको छ । उनीहरूका आलोचना र त्रुटिहरूलाई लुकाउने र राम्रो छविको बजारिकरण गर्ने । त्यस्तो व्यक्तिले स्थानीय तहका वास्तविक आवाजविहीनहरूलाई चिन्दैन । अर्थात् आवाजविहीनको प्रतिनिधि हुन पत्रकार बनेको त्यस्तो व्यक्ति पत्रकार भएकै दिनदेखि नै सर्वसाधारणसँग दूरी बढाउँछ । उनीहरूसँग बोल्न नभ्याउने र उनीहरूका सरोकारहरूमा समय दिन नसक्ने हुन्छ ।
अस्ती मात्रै निकै अनुभवी पत्रकारहरू रहेको सेतोपाटी अनलाइनमा ‘प्रचण्डले फुकाले दाँत’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । यो नेतामुखी पत्रकारकै निरन्तरता हो । नेताका अनेक गतिविधि समाचारमा छाइरहन्छन् । अब समीक्षा गरौं–के हाम्रो पत्रकारिता आवाजविहीनहरूको आवाज भइरहेको छ ? के हाम्रो पत्रकारिताले सर्वसाधारणको आवश्यकताअनुसारको सूचना दिएको छ ? हाम्रो पत्रकारिताले सर्वसाधारणलाई सचेत र उत्प्रेरित गराएको छ ? हाम्रो पत्रकारिताले राजनीतिक नेता, कार्यकर्ता वा राजनीतिक संस्थाहरूलाई जवाफदेही बनाउन सकेको छ ? के हामी जनमुखी पत्रकारिताको अपेक्षा गर्न सक्छौं ?
लेखक – ओटावा युनिभर्सिटी क्यानाडामा पी यच डी अध्ययनरत हुनुहुन्छ
साभार कर्णालीपत्र