सुदूरका ‘सुईना’ र मन्त्रीका गफ

दीर्घराज उपाध्याय ।

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका बन्द बिमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरे । मन्त्रीको यस्तो घोषणाले सुदूरपश्चिमको पर्यटन,उद्योग, व्यवसाय क्षेत्रमा काम गर्ने व्यक्तिलाईहरु त उत्साही बनायो नै हवाई जहाजको पर्खाईमा वर्षौदेखि बिमानस्थल कुरेर बसेका पहाडी जिल्लाका बासिन्दामा पनि आशाको सञ्चार गरायो ।

 

मन्त्री भट्टराई सरकारमा रहेका अरु मन्त्री भन्दा भिन्न छवि बोकेका व्यक्ति हुन् । उनलाई उनकै पार्टीका नेता कार्यकर्ता मात्र नभएर अन्य पार्टीका नेता,कार्यकर्ताले पनि सकारात्मक रुपमा बुझ्छन ।

मन्त्री भट्टराई कम बोलुन । जे सक्छन, त्यो मात्र बोलुन । र बोलेको पुरा गरुन । सस्तो लोकप्रियताका लागि नसकिने र तत्काल पुरा हुन नसकिने कुरा नगरिदिउन । किनकी उनी असफल भए त्यसमाथि कुनै मन्त्रीमाथि जनताको विश्वास रहनेछैन ।

पर्यटन मन्त्रीको जिम्मेवारी पाएपछि लोकेन्द्र बिष्ट मगरले सुदूरपश्चिमका बिमानस्थलमा पाईला टेके । पर्यटनमन्त्री जो परे, जहाँ गए, उनले जहाजै उतारे । र जहाँ जहाँ पाईला टेके,त्यहाँ सधैका लागि जहाजले उडान भर्ने घोषणा पनि गरिदिए ।

आफ्नै निर्वाचन क्षेत्रका जनतासंग बोली फेर्ने नेताले अर्काको निर्वाचन क्षेत्रमा जति गफ लगाए पनि के फरक पथ्र्यो, त्यहाँ आएर चुनाव लड्नु पनि छैन, जनताबाट अनुमोदित हुनु पनि छैन । मन्त्री बिष्टको कुरा सुन्दा यस्तो लाग्थ्यो, अव केही दिनमा सुदूरपश्चिमका सबै बिमानस्थलमा जहाजहरुले उडान भर्ने छन् ।

उपचार नपाएर बाटौमै मृत्युवरण गर्नुपर्ने सुदूर पहाडका जनताको नियति उल्टिनेछ । सामान्य वर्षामा अवरुद्ध हुने सडक र त्यही सडकसंग जोडिएको पहाडी जीवनमा सुखद अनुभूति ल्याउने आस, मन्त्रीका रुमानी गफबाट, पलाउनु स्वाभाविक थियो, त्यहाँका जनतामा । किनकी सम्बन्धित मन्त्रालयको मन्त्रीले भनेपछि त विश्वास पनि गर्नुप¥यो ।

तर विश्वास टुट्न धेरै समय लागेन । बिष्ट मन्त्रीबाट हटेको धेरै वर्ष भयो, तर मन्त्री विष्टका ती मिठा भाषण जनताको मस्तिष्कबाट अझै हट्न सकेका छैन ।

पद्म सुन्दर लावतीले उद्घाटन गरेको कमलबजार बिमानस्थल उद्घाटनसंगै बन्द भएको दुई दशक नाघ्यो । बिमानस्थल उद्घाटनका बेला जन्मेको शिशु लक्का जवान भएर कहाँ पुगिसक्यो, तर कमल बजार बिमानस्थल भने अझै प्रसव पीडा झेलिरहेको छ, यो भन्दा पीडादायी अवस्था के हुन सक्छ ?

मन्त्रीहरु जिस्क्याई रहन्छन, सुदूरका सुईनाहरुलाई । जव शयल गर्ने मन हुन्छ, तव मन्त्रीहरु जहाजमा काठमाण्डौंबाट शयर गर्छन, सुदूरका ती बिमानस्थहरुमा, जसले वर्षौदेखि यहाँका जनतालाई गिज्याईरहेका छन् । र त्यहाँ झर्न नपाउदै तिनका घाटीमा आँखा छोपिने गरी माला लगाउन तयार भएका बसेका हुन्छन, कार्यकर्ताका हातहरु ।

र तिनै हातहरु एकछिनपछि मन्त्रीका रुमानी सपनामा ताली बजाउन सक्रिय हुन्छन । सुदूर पहाडका जनताका हातहरु नेतालाई माला हाल्न र ताली बजाउन अभ्यस्त भईसकेका छन् ।

र मन्त्रीहरु सुदूरका सुईनामाथि राजनीति गर्न अब्बल भईसकेका छन् । सेती र कालीमा पानी होईन, सुदूरका सुईना बग्छन ।
योगेश भट्टराई सुदूर पूर्वको पहाडमा जन्मिए । उनले ताप्लेजुङको अभाव, बिकटता र सडक सञ्जालसंग नजोड्निुको पीडा भोगे । उनी जन्मेको भूगोल र सुदूर पहाडमा गतिलो बाटो र स्वास्थ्य चौकीसम्म पुग्ने कुनै छरितो माध्यम नभएका कारण ज्यान गुमाउनेको कुनै हिसाव छैन ।

फाँटेको भोटो लगाएर स्कुल जान बाध्य छोरा । उसलाई एक जोर भोटो जोड्ने बुवाको सपना । बुवा हुनुको बोझ । छोरा हुनुको कर्तव्य । पति हुनुको धर्म । त्यही पुरा गर्न खाडी पसेको एउटा ठिटो । खाडीमा पसिना बेचेर कमाएको अलिकति पैसा । त्यही पैसाले जहानको नाकमा फुली । र बृद्ध आमाको आङमा एउटा चोलो जोहो गर्ने एउटा सपना । त्यही सपना पालेको परिवारको भरोसा छोरा÷पति÷अभिभावक कफिन भित्र फर्किदा । त्यो कफिनसंगै जलेका आमा र जहानका निम्छरा सपनाहरु । ती सपनाहरुले चुकाउनु परेको मूल्य । र सदियौ देखि यही नियति भोग्दै आएका सुदूर पहाडका वस्तीहरु । सायद यसबाट अनबीज्ञ छैनन, मन्त्री भट्टराई ।

त्यसैले पनि उनीसंग निम्छरा जनताका आशा जोडिएका छन् । अवसरको खोजीमा पलायन हुदै गरेका युवाहरुको भविश्यसंग जोडिएका छन्, उनी । त्यसैले उनीसंग रुमानी गफ होईन, परिणामको आशा गर्नेहरुको जमात ठूलो छ । उनले यो कुरा मन्त्री पदसंगै नबिर्सिदिउन ।

उनी कसैको उक्साहटमा संयमता नगुमाउन । हनुमानहरुको अन्धभक्ति र स्तुती गानले उनमा दम्भ नपलाओस । भीड देखेर उनी न बहकिउन । ताली खाने रहर उनमा नजागोस । र गालीले उनी नआत्तिउन । बस्,सत्कर्म गरुन । ईमान्दारीपूवर्क ।
सुदूरपश्चिममा आउदा यहाँका जनताको मनोभावना अनुसार बोल्ने । पूर्वमा जादा त्यहाँका जनताको चाहना अनुसार बोल्ने । उनले यसो नगरुन । जे वास्तविकता हो, त्यही बोलुन ।

उनलाई मन्त्री नबनाएको भन्दै उनकै पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी ओलीमाथि चर्को दवाव परिरहेको थियो । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन नभएको भए, उनी मन्त्री बन्न पाउथे कि पाउदैनथे । थाह छैन । तर अधिकारीको मृत्युपछि रिक्त भएको त्यही पदमा उनलाई प्रधानमन्त्री ओलीले नियुक्त गरे । विकास र समृद्धिका सपना बोकेका नेपालीका लागि यो एउटा सुखद समाचार थियो ।

तर उनी मन्त्री भएपछि पहिले देखि हेपिएको, पछाडि पारिएको सुदूर पूर्व र सुदूर पश्चिमको पहाडले अझ बढि आशा गर्नु स्वाभाविक थियो ।

तर उनले पनि त्यही काठमाण्डौं र त्यसकै सेरोफेरालाई खुशी पार्ने गरी काम गरिरहेका त होईनन, भन्ने आशंका बलियो हुदै गएको छ । आशा गरौ,त्यो आशंकालाई उनले आफ्नो कार्यले गलत सावित गरुन ।

रविन्द्र अधिकारीको मृत्युपछि उनले बाराको निजगढ बिमानस्थललाई जसरी पनि बनाउछु भन्न थालेका छन् । उनी त्यसका लागि २५ लाख रुख काट्न आरामा धार लगाएर पहिल्यै देखि बसिरहेको भान हुन्छ, उनको बोली सुन्दा ।

यद्दपि उनले सुदूर पूर्व विराटनगर, झापा वा सुदूर पश्चिममा अन्तर्राष्ट्रिय बिमानस्थल जसरी पनि बनाउछु, मेरो पालामा बनाउन सकेन भने पनि त्यसको शुरुवात गर्छु भनेर भन्ने छन्, भनेर हामीले आशा गर्नु कदापि गलत होईन ।

तर उनको ध्यान किन काठमाण्डौं, बारा, पोखरा, लुम्बिनी भन्दा बाहिर निस्किन सकेको छैन ? यो देशमा काठमाण्डौंमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल थियो । अर्को अन्तर्राष्ट्रिय बिमानस्थल लुम्बिनीमा बनिरहेको छ, र त्यसको निर्माण दु्रत गतिमा भईरहेको छ । तेस्रो अन्तर्राष्ट्रिय बिमानस्थल पोखरामा बनिरहेको छ । र बाराको निजगढमा संसारकै चौथौ ठूलो अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन सरकार उधुमसंग लागेको छ ।

काठमाण्डौंबाट पोखरा बढिमा २५ मिनेटको हवाई दूरीमा पर्छ । काठमाण्डौंबाट भैरहवा ३५ मिनेट भन्दा बढि लाग्दैन । र काठमाण्डौंबाट निजगढमा बिमानस्थल निर्माण भए यो सबैभन्दा कम दूरीको अन्तर्राष्ट्रिय बिमानस्थल हुनेछ । जहाँको यात्रा तय गर्न काठमाण्डौंबाट १० मिनेट पनि लाग्ने छैन ।

यति नजिकमा चार वटा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन लगानी गर्न पैसा हुने ? सरकारसंग सुदूर पूर्व वा सुदूर पश्चिममा अन्तर्राष्ट्रिय स्तरको बिमानस्थल बनाउन किन पैसा नहुने ? किन त्यसका लागि जागर नहुने ?

काठमाण्डौं पसेपछि किन काठमाण्डौं जस्तै हुन्छन, हाम्रा नेताहरु ? किन उनीहरुलाई आफू जन्मेको भूगोल र आफ्नो भूगोलजस्तै उपेक्षा भोगेका क्षेत्र याद आउदैनन ?

बिमानस्थल चलाउने असफल मोडेल

सरकारको सहयोग बिना कुनै पनि बिमानस्थल संचालन गर्न संभव छैन । र हवाई उडानको निरन्तरताका लागि निजी क्षेत्रको सहयोग र सरकारको सक्रियता आवश्यकता छ ।

पछिल्लो पटक बागलुङमा बिमानस्थल सञ्चालनका लागि स्थानीय नगरपालिकाले अग्रसरता लियो । १२ सिटभन्दा कम यात्रु भए त्यसको भाडा नगरपालिकाले तिर्ने प्रतिबद्धता जनायो । र निजी हवाई कम्पनीले उडान शुरु ग¥यो ।

बिमानले उडान भरेको महिना बित्यो । दुई महिना बिते । महिनौ बिते । तर यात्रु बढेनन । र त्यसको सम्पूर्ण घाटा नगरपालिकाले व्यहोर्नु प¥यो । त्यही भाडा तिर्न नसक्दा नगरपालिकाको यतिबेला बेहाल भएको छ ।
राज बिराजमा पनि यही मोडेल लागु गर्न खोजियो ।

दाङमा पनि यही मोडेल लागु भयो । घाटा भए नगरपालिकाले व्यहोर्ने । फाईदा जति बिमान कम्पनीको । अहिलेसम्म त ठिकै छ । तर भोलि घाटा हुदै गए, त्यहाँ पनि बिमान सेवा बन्द हुनेछ ।

बुझ्न धेरै टाढा जान पर्दैन । जोमसोम र लुक्लामा मात्र किन बिमान कम्पनीहरु ओईरिन्छन ? किन साँफेमा उडान नियमित गर्छु भन्ने समीट फर्केन ?

स्थानीय सरकारले चासो दिनु । सक्रियता देखाउनु । राम्रो कुरा हो । तर सामान्य घाटामा थला पर्ने स्थानीय तहले यस्तो जोखिम उठाउनु घातक हो ।

अहिले कतिपय ठाउँका जनताको दवावमा स्थानीय सरकारले त्यही असफल मोडेल लागु गर्न खोजिरहेका छन् । यसो गर्नु दुर्भाग्य हुनेछ ।

बिमानस्थल निर्माण हुदैमा जनताले हवाई सेवा पाउछन भन्ने हुदैन । नेपाल जस्तो मुलुकमा त यो संभव पनि छैन । सरकारको स्वामित्वमा रहेको नेपाल बायु सेवाले उडान शुरु गरेका धेरै ठाउँबाट फिर्ता हुनु परेको छ । उडान गरिरहेका ठाउँमा पनि तालिका अनुसार उडान छैन । मन लागे उडाउने । मन नलागे नउडाउने ।

नेपाल बायु सेवा निगमसंग साना जहाजहरु पनि छैनन । निजी बिमान कम्पनीसंग साना जहाज त छन् । तर तिनले सुदूरका पहाडमा किन उडाउछन ? जहाँ फाईदा, त्यहाँ उडाउने, यो त निजी बिमान कम्पनीको नियम नै हो । घाटामा निजी बिमान कम्पनीले समाजसेवा गर्दैनन ।

बिमानस्थल यात्रुले चलाउने हो । यात्रु भए बिमान चल्ने हो । बिमानस्थल बनाउदैमा बिमान सेवा न सञ्चालन हुन सक्छ । न त्यसले निरन्तरता पाउन सक्छ ।
सरकारले बिमानस्थल बनाउने हो । र ती बिमानस्थलमा उडान भर्न निजी बिमान कम्पनीलाई प्रोत्साहित गर्ने उसको जिम्मेवारी हो ।

जस्तो कि भारतमा दिल्ली, मुम्बई जस्ता शहरमा उडान भर्ने जहाज कम्पनीलाई त्यहाँको सरकारले दुर्गम भागमा पनि उडान गर्न अनिवार्य गरेको छ ।
जनताको सुबिधा र सजिलोका लागि बिकट ठाउँमा उडान भर्ने निजी बिमान कम्पनीहरुलाई कतिपय देशले सहुलियत दिने गरेका छन् ।

सुदूरका पहाडमा बिमानस्थल बनाएर मात्र हुदैन । त्यहाँ उडान भर्न सरकारले निजी कम्पनीलाई उडान भर्न प्रोत्साहन गर्नैपर्छ । तव मात्र बिमानस्थलमा लगानी गर्नुको सार्थकता हुन्छ ।

नेपालमा कति बिमानस्थल सञ्चालनमा छन् ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा कुल ५५ बिमानस्थल छन् । जसमध्ये २८÷२९ बिमानस्थल सञ्चालनमा छन् ।

सुदूरपश्चिमका नौ वटा जिल्ला मध्ये कैलाली र अछामममा दुई÷दुई वटा बिमानस्थल छन् । डडेल्धुरामा बिमानस्थल नै छैन । अन्य ६ जिल्लामा १÷१ बिमानस्थल छन् । अर्थात नौ वटा जिल्लामा १० वटा बिमानस्थल छन् । जसमध्ये हाल सञ्चालनमा धनगढी बिमानस्थल छ ।

जसमध्ये हाल धनगढी बिमानस्थल मात्र सञ्चालनमा छ । साँफे बिमानस्थलको गत वर्ष स्तरोन्नती भयो । समीट एयरले साप्ताहिक रुपमा उडान शुरु गर्ने घोषणा गर्दै दुई वटा उडान पनि भ¥यो । तर त्यसपछि फर्केर समीट आएन ।

सुदूर पहाडमा जन्मिने धेरैले यो जुनीमा जहाज नै देख्न पाएनन । अझै कति पुस्ताको जहाज नदेखी ईहलिला समाप्त हुने हो, थाह छैन । तर मन्त्रीहरु त सुदूर पहाडका जनताका सपनामाथि ठट्टा मात्र गर्छन । सरकार पानी जहाज र रेलका सपना देखाउछन । सुदूरका सुईनासंग सरकारको समृद्धिको सपनाको कुनै तालमेल छैन । यो कुरा सरकारलाई कसले भनिदेओस ? कहिले बुझिदेओस ?

बैतडीमा बिमानस्थल कालोपत्रेका लागि सरकारले ११ करोड खर्च गरिरहेको छ । बझाङमा बिमानस्थल कालोपत्रेका लागि ७ करोड खर्च गरिरहेको छ । केही समयभित्र कालोपत्रे हुनेछ । सरकारले डोटी बिमानस्थल कालोपत्रेका लागि ६ करोड खर्च गरिरहेको छ ।

अछामको साँफे बगर बिमानस्थलको स्तरोन्नती र कालोपत्रेमा सरकारले ७ करोड लगानी ग¥यो ।
धनगढी बिमानस्थलको स्तरोन्नती र रात्रीकालीन उडानका लागि २० करोड खर्च भएको छ । चालु आर्थिक वर्षमा दार्चुलाको गोकुलेश्वर र अछामको कमल बजार बिमानस्थल निर्माणका लागि सरकारले बजेट छुट्याएको छ ।

स्थानीय जागेपछि महेन्द्रनगर बिमानस्थलका लागि सरकार सोच्न थालेको छ । जनता नजागे नदेखिने सरकारको पुरानै रोग हो ।
पर्यटन भ्रमण वर्ष र सुदूरको नियति

सन २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने तयारीमा जोडताडका साथ जुटेको सरकारले त्यसका लागि मेरो सरकार मेरै मर्जीको शैलीमा समिति बनाएर, आफ्ना अनुकूलका मान्छेलाई त्यसमा राखिसकेको छ । थाहछैन, कुन क्षमता, योग्यता, अनुभव, योगदान र मापदण्डमा त्यसका सदस्यहरु चयन भए ?

यद्दपि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी लक्ष्य छ । यो राम्रो कुरा हो । तर नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य भित्र सुदूर पूर्व र सुदूर पश्चिम अटाउछ कि अटाउदैन ? हाम्रा लागि यो महत्वपूर्ण विषय हो । अन्यथा पर्यटन भ्रमण वर्ष सुदूर पूर्व र सुदूर पश्चिमलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात हुनेछ ।

नेपालले वार्षिक रुपमा गणना गर्ने पर्यटकहरुमा कतिले सुदूर पूर्व र सुदूर पश्चिममा पाईला टेक्छन । सरकारसंग न यसको हिसाव छ । न भ्रमण वर्षमा कतिले पाईला टेके ? भ्रमण वर्षले सुदूरलाई कति छोयो ? यसको समीक्षा नै गर्न सरकारले उचित ठान्ने छ । हो, सरकारका केही ठेकेदारहरु कार्यक्रमको भातको ठेक्का पाउनेछन । यातायातको ठेक्का पाउनेछन् ।

आशा छ, यी र यस्ता आशंकालाई मन्त्री भट्टराईले गलत सावित गरिदिनेछन् । यो पटक भ्रमण वर्षले साच्चिकै सुदूर पश्चिमलाई छुनेछ ।

उनी बिगतका मन्त्रीहरुले गरेका कामभन्दा पृथक ढंगले काम गर्न खोजिरहेका छन् । त्यसको महशुस पनि गराएका छन् । तर उनी कहिले भावनामा बग्छन । यथार्थता बिर्सिन्छन । उनले निजी एयरलाईन्ससंग छलफल नै नगरी जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिलाउने घोषणा त गरिदिए । तर कुन भाडामा ५० प्रतिशत दिलाउने हुन्, त्यसतर्फ ध्यानै दिएनन । पुरा भाडामा ५० प्रतिशत रकम छुट हुने हो भने अहिले मिलिरहेकोे सस्तो टिकट भन्दा त्यो सहुलियत टिकट महंगो पर्ने निश्चित छ । सहुलियत दरको टिकटमा सहुलियत दिने हो भने त्यो दिगो हुन सक्ने अवस्था छैन ।

उनले त बरु बिदेशीलाई निजी एयरलाईन्सले लगाउदै आएको चर्को भाडामा छुट गराउनु पथ्र्यो । हवाई क्षेत्रमा कहि नभएको जात्रा नेपालमा भएको छ । उनले बिदेशीलाई निजी बिमान कम्पनीले लगाएको चर्को भाडा दरमा छुट गराउन सके,विदेशी पर्यटकहरु सुदूर पूर्व र सुदूर पश्चिम जाने थिए । यसो हुन सके, उनीहरुको गन्तव्य काठमाण्डौं, अन्नपूर्ण सर्किट, पोखरा, लुम्बिनी वा सौराहा मात्र हुदैनथ्यो ।

शुक्लाफाँटा, कर्णाली, खप्तड, रारा, अपि,सैपाल पनि विदेशी पर्यटकको रोजाई बन्न नसक्नुमा निजी बिमान कम्पनीको चर्को भाडा प्रमुख कारण हो । त्यसपछि अर्को कारण हो, सरकारको प्राथमिकतामा यी क्षेत्र नपर्नु । सरकारले त झारो टार्न मात्र सुदूरका फोटोहरुलाई कहिल्यै काही प्रचार स्टलमा राख्छ । उसले गरेको भनेकै त्यत्ति हो । कामना गरौ, अव यो कर्मकाण्ड मन्त्री भट्टराईले बन्द गराउनेछन् ।

सुदूरपश्चिमको विकास र समृद्धिका लागि यहाँको पर्यटनको विकास हुन जरुरी छ । जलस्रोतको विकासका लागि वर्षौ लाग्न सक्छ । तर पर्यटन प्रबद्र्धनका लागि धेरै समय लाग्दैन ।

चीन र भारत जोड्ने उत्तर–दक्षिण सडक सञ्जालको विकास र विस्तारसंगै धनगढी–बझाङ हवाई सेवा, बझाङ–हिल्सा हेलिकोप्टर सुबिधा हुने हो भने मानसरोवर जाने भारतीय तिर्थालुका लागि सुदूरपश्चिम पहिलो मार्ग हुनेछ ।

त्योसंगै धनगढी बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा विस्तार गरेर धनगढी–दिल्ली उडान शुरु गरे सुदूरपश्चिमको विकास र समृद्धिका लागि धेरै समय पर्खिनु पर्ने छैन । सरकारका लागि यी कुरा असंभव पनि छैनन । यो देशमा चार वटा अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन गर्न सक्ने दृढ अठोट भएको सरकारले सुदूर पश्चिमवासीको धनगढी बिमानस्थललाई अन्तर्राष्ट्रिय भएको हेर्ने सपना बुझिदिई पुग्छ ।

सुदूरका ‘सुईना’ बुझ्ने क्षमता मन्त्री भट्टराईले राख्छन । उनका ‘गफ’ ले सुदूरका सुईनालाई नजिस्क्याउन ।

योगेश भट्टराई सफल हुनुपर्छ । उनलाई असफल हुने छुट छैन । किनकी उनी सुदूरका ‘सुईना’संग जोडिएका छन्, यतिबेला । तमाम युवाका ‘सुईना’संग जोडिएका छन् । उनी असफल हुदा सुदूरका ‘सुईना’ टुट्नेछन्, फेरि अर्को पटक । धेरै युवाका सपना टुट्नेछन् । आशलाग्दा धेरै कम नेता मध्ये उनी पनि एक हुन् । त्यसैले उनी आफ्नो बोली, व्यबहार र कर्मले जनताको भरोसालाई टु्टन दिने छैनन, अहिलेलाई यही कामना गरौ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार