के हो एनआरएन युके विवाद ? किन बढ्यो एनआरएन युके दुई बन्ने संभावना ?

– खेमराज रानाभाट, लन्डन।

एनआरएनए युके निर्वाचनमा धाँदलीको सुनाई नगरी एकपक्षीय रुपमा मत गणना शुरु गरेपछि यो निर्वाचन पूर्ण रुपमा अवैध हुने बाटोमा प्रवेश गरेको छ । यस लेखमा विवादका विषय के के हुन चर्चा गर्न गई रहेको छु।

मतदान शुरु भई सकेको पछिको पहिलो विवाद हो एनआरएनए युकेको वर्तमान कार्यसमितिका अध्यक्ष योगकुमार फगामी र अध्यक्षका प्रत्याशी पुनम गुरुङको गृह शहर बेजिंगस्टक मतदान केन्द्रमा मतदान धाँदली पूर्ण भयो भन्ने । धाँदली कसरी भई रहेको छ भनि मतदान चलि रहेको बेला दिउसो १२ बजे प्रमाण सहित अध्यक्षका प्रत्याशी शेर सुनार पक्षले उजुरी गरेको थियो । त्यसैगरि दोस्रो विवादको विषय हो अध्यक्षका अर्का प्रत्याशी पुनम गुरुङ पक्षले अल्डरशर्ट र ह्यारो मनदान केन्द्रमा अनियमितता भएको छ भनि निर्वाचन समितिसंग गरेका उजुरी । तेस्रो गम्भीर विषय भनेको शेर सुनार पक्षको मतदाता हो भनि चिनिएका करिब चार सय व्यक्तिहरुको नाम मतदान केन्द्रमा पठाईएको अन्तिम मतदाता नामावलीबाट हटाइएको पाईएको छ। यो अधिवेशनमा भएको चौथो गम्भीर विवाद भनेको बेलायत पुलिस प्रयोग गरी एनआरएन निर्वाचनको लोगो र हस्ताक्षर विहिन मतपेटिकाहरु ल्याई मतपेटिका जम्मा गरिएको हलको पछाडिको ढोकाबाट छि-याई मिसाइएको छ। पाँचौं विवाद वर्तमान अध्यक्ष योगकुमार फगामीले निर्वाचनमा उम्मेदवार नहुने भनि निर्वाचन समितिमा बसी अन्तिम समयमा सदस्यहरुको सम्पूर्ण रेकर्ड लिएर एउटा पक्षमा लागि उम्मेदवार हुनु साथै फगामीले आफ्नो छोरी ज्वाईंलाई सदस्यता कम्प्युटरमा दर्ता गर्ने कार्यमा संलग्न गराउनु हो । त्यसैगरि छैटौं विवाद निर्वाचन समिति गठनकै दिनबाट एक पक्षतिर सबैले महशुस गर्ने गरि ढल्केर काम अगाडी बढाउनु थियो ।

विवाद भएको मतदान केन्द्रमा सम्बन्धित पक्षका उम्मेदवारका प्रतिनिधिहरुले मतदान समय सकिएपछि उठाइएको मुचुल्कामा हस्ताक्षर गरेका छैनन् । यसरी विवादै विवादका बीच निर्वाचन समितिले कुनै हस्तक्षेप नगरी मतदान समय सकिएको देखिन्छ ।

सर्वप्रथम त निर्वाचन समितिको संयोजक उपसंयोजक लगायतका व्यक्तिहरुको गतिविधि शंकास्पद र एकपक्षीय हुँदा हुँदै पनि निर्वाचनमा होमिनु शेर सुनार पक्षको ठुलो कमजोरी देखिन्छ।

अहिले आएर मतगणनामा दुवै पक्षबाट सहयोग नगरे पुन: निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचन समितिले सर्वसम्मत निर्णय गरि सामुहिक रुपमा राजिनामा दिने घोषणा गरेका छन । निर्वाचन भएको १४ सेप्टेम्बरको राती ३ बजे निर्वाचन समितिले एक पत्रकार सम्मेलन गरि निर्णय माइनुट नै गरि १५ सेप्टेम्बर बिहान १० बजेबाट लागु हुने गरि सामुहिक राजिनामा दिएको निर्णय सुनाएका थिए ।

यसै बीचमा शेर सुनार पक्षले हिजो दिउसो २ बजेतिर पत्रकार सम्मेलन मार्फत निर्वाचन समितिका सदस्यहरुले सामुहिक रुपमा राजिनामा दिएको हुँदा दुवै पक्षको उजुरी बमोजिम तीन मतदान केन्द्रमा पुन: मतदान प्रक्रिया अगाडि बढाउन र बाँकी १० मतदान केन्द्रमा खसेको मतको संरक्षण गर्न एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले तुरुन्त हस्तक्षेप गरि विवाद सल्टाउन अघि बढोस भनि अनुरोध गरेको छ । तर दुवै पक्षबाट उजुरी परेको तीन मतदान केन्द्रको विवादलाई कुनै सम्बोधन नगरी निर्वाचन समितिले पुनम गुरुङ पक्षलाई मात्र साथ लिई हिजो साँझ करिब ६ तिर आफ्नै घोषणाको विपरित मत गणना प्रक्रिया अघि बढाउने निर्णय सुनाए पछि एनआरएनए युके गम्भीर विवादमा फसेको छ।

यहि स्थितिमा राजिनामा दिई सकेको निर्वाचन समितिले एक पक्षलाई मात्र सामेल गरि मत गणना जारी राखी नयाँ समिति घोषणा गरेमा युकेमा दुई वटा एनआरएन हुने निश्चित देखिन्छ। त्यसै गरि यो निर्वाचन समितिले अपनाएको प्रक्रिया प्रति असहमति जनाउदै नर्दन आयरल्याण्डबाट एनआरएन युकेका लागि निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले पद त्यागको घोषणा गरेका छन्।

यस अवस्थामा एनआरएनए केन्द्रले तुरुन्त हस्तक्षेप गरि विवाद नभएका दश मतदान केन्द्रको मत पेटिकाको संरक्षण र बाँकी तीनमा पुन: निर्वाचन गराउने वातावरण नै अहिलेको उत्तम समाधान हो । यस तर्फ एनआरएनए केन्द्रले ढिलो नगरी समस्या समाधानमा पहलकदमी लिओस ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार