इन्डोनेशियाको निर्माण र विकासमा सुदूर पश्चिम नेपालका इन्जिनियर टंक पन्त

– दीर्घराज उपाध्याय ।

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक“ महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता मार्फत यो उद्घोष गरेको वर्षौ भयो । उनी बिते । समय बित्यो । तर यसको सान्दर्भिकता र महत्व भने उस्तै छ । धर्तीको मान्छे । उद्देश्य लिनु, त्यो पनि चन्द्र छुने । देवकोटाले त भनिदिए । निराशावादीले प्रश्न गर्छ, यो कसरी संभव छ ? आशावादीको सटिक जवाफ हुन्छ, संभव छ ।

यद्दपि उनको उद्देश्य एक थियो । परिस्थिति यस्तो आयो कि, हिडे अर्कै बाटो । बाटो फरक भए के भयो ? निरन्तर संघर्ष । अविचलित उडानले उनी सफल भए, चन्द्र छुन । उनको सपना डाक्टर बन्ने थियो । बने ईञ्जिनियर । र पुगे, अवसरको खोजीमा टापुहरुको देश ईन्डोनेशिया ।

दुई वटा जेट जहाजको उडानमा सात घण्टाको यात्रापछि पुगिने ईन्डोनेशिया भूकम्पको उच्च जोखिममा छ । त्यही जोखिममा चन्द्र छुने अठोटका साथ कर्ममा तल्लिन रहीरहे, उनी । उनी कहिल्यै पडाङ पुगे । कहिले जाकार्ता खटिए । कहिले सुलोबेशी खटिए । कहिले सुमात्रा पुगे । ठाउ फेरिएपनि कर्म उही ।

त्यही कर्मले उनले सफलता पछाए । पहिचान बन्यो । आफ्नो देशमा हाईड्रो र मेट्रोका गफ कति सुने । सुने । तर गफमा सिमित छ, नेपाली सपना । ईन्डोनेशियाले त तीनै सपनालाई पछ्यायो । र पुरा पनि गर्दैछ । मेट्रोको सपना पुरा भईसक्यो । अव उसले हाईड्रोमा छलाङ मार्दैछ । यी सपनासंग नेपालीको कुनै साईनो छैन । तर साईनो नभएका तीनै सपनासंग जोडिएर उनले काम थालेको पनि ६ वर्ष भईसक्यो ।

विकासमा दु्रततर गतिले फड्को मारिरहेको संसारकै सबैभन्दा बढि मुस्लिम जनसंख्या रहेको ईन्डोनेशियाको त्यो विकासको साक्षी हुन्, ईञ्जिनियर टंक पन्त । र उनी त्यो विकासको एक सहयोगी पनि हुन् । डोटीको जिजौडामाण्डौं– १ उच्चाकोट(हाल शिखरनगरपालिका ) २०२५ साल फागुन २१ गते जन्मिएका उनी बुवा स्व.भोजराज पन्त, आमा लक्ष्मीदेव पन्तका दुई छोरा र दुई छोरी मध्ये तेस्रो सन्तान थिए ।

उनको अक्षराम्भ उच्चाकोटको सीताराम उच्चमाविमा भयो । पाँच वर्षको उमेरमा बुवासंग तराई कैलाली झरे । र गोमती प्राविमा एक कक्षामा भर्ना भए । त्यही वर्ष गोमती प्रावि खारेज भयो । त्यसपछि त्रिनगरमा कक्षा एक मै भर्ना भए । सात कक्षामा पास गरेपछि उनलाई काका डा.चेतराज पन्तले काठमाण्डौं लगे । सिद्धार्थ बनस्थलीमा ८ कक्षामा भर्ना भए । त्यहीबाट उनले दुई वर्षपछि २०४३ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे ।

उनको रुचिको विषय बिज्ञान थियो । उनी अस्कल क्याम्पस भर्ना भए । दुई वर्षमा सक्नु पर्ने पढाई भारतको नाकाबन्दीका कारण एक वर्ष लम्बियो । २०४७ सालमा आईएस्सी पुरा गरेपछि उनको जीवनको लक्ष्य स्पष्ट भयो । खासमा उनको सोच डाक्टर बन्ने थियो । तर आईएस्सीमा अंक राम्रो नआएपछि त्यो सोच पुरा हुन सकेन । उनले ईञ्जिनियरिङ गर्ने निधो गरे ।

त्यतिबेला नेपालमा पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा मात्र ईञ्जिनियरिङ पढाई हुन्थ्यो । उनको एक जना साथी भारतको मद्रासमा ईञ्जिनियरिङ पढ्थ्यो । त्यही साथीलाई पछ्याउदै उनी ईञ्जिनियरिङ कलेजको खोजीमा मद्रास पुगे । त्यसपछि भने उनले त्यही पढ्ने निधो गरे ।

सन १९९१ मा उनले मद्रासको ईन्स्टिच्यूट अफ ईञ्जिनियर्स (गणेश ईन्स्टिच्यूट अफ ईञ्जिनियर्स) ईञ्जिनियरिङको पढाई शुरु गरे ।
१९९५ मा उनले पढाई पुरा गरे । र उनको नामका अगाडि थपियो, ईञ्जिनियर । ईञ्जिनियरिङको पढाई पुरा गर्न एक लाख २५ हजार शुल्क लागेको थियो । मासिक खर्च अलग थियो । जुन रकम उनका काका र दाईले व्यहोरे ।

मासिक खर्च शुरुमा एक हजार पाँच सय रुपैया लाग्थ्यो । पछि खर्च बढ्यो, दुई हजार पाँच सय लाग्न थाल्यो । राष्ट्रिय वाणिज्य बैंक मार्फत डिमाण्ड ड्राफ्टबाट उनलाई रकम आउथ्यो । धनगढीबाट पठाएको रकम उनले आठ दिनमा पाउथे । पढाई पुरा गरेपछि उनी काठमाण्डौं फर्के । त्यहाँबाट उनी जागीरको सिलसिलामा रसुवा पुगे । केही समयपछि काका डा. चेतराज पन्तले उनलाई कामका लागि कञ्चनपुर पठाए ।

जापान र अष्टे«लियन सरकारको सहयोगमा महेन्द्रनगर र टीकापुरमा अनमीको भवन निर्माण भईरहेको थियो । उनको काम त्यसको निर्माणको रेखदेख गर्नु थियो । त्यहाँ उनको मासिक पारिश्रमिक पाँच हजार रुपैया थियो । निर्माण पुरा भएपछि अढाई वर्षपछि उनी १४४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणमा खटिए ।

नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना थियो, त्यो । उनले सन १९९८–२००० सम्म त्यहाँ काम गरे । उनले त्यहाँ पावर हाउस निर्माण र टनेल निर्माणमा काम गरेका थिए । उनी त्यहाँबाट काठमाण्डौं फर्किए । बाहिर जाने सोचमा थिए । तर त्यही बेला उनले ईञ्जिनियर देवेन्द्र श्रेष्ठको डिएस कन्सलटेन्सीमा काम थाले । उनी त्यहाँ बिभिन्न ठूला कम्पनीको प्राबिधिक पक्षको मूल्यांकनकर्ताका रुपमा काम गर्थे ।

अर्थ मन्त्रालय, हेटौडा सिमेण्ट, चिया विकास कम्पनीको पनि उनले काम गरे । उनी द्धन्दकालममा चिया विकास कम्पनीको कामले झापाको चिलिमकोटमा रहेको सोक्तिम चिया कम्पनीमा गएका थिए । कम्पनीका महाप्रबन्धकले कन्सलट्यान्टलाई जोखिम नभएको भनेर त्यहाँ लगेका थिए । तर माओवादीले उनलाई अर्थमन्त्रालयको मान्छे ठानेर झण्डै मारेको थियो । उनी त्यसको जानकारी पाएर खाना खादा खादै त्यहाँबाट भागेर बाँच्न सफल भए । उनी यो घट्ना कहिल्यै बिर्सिदैनन ।

माओवादीले ध्वस्त गरेका संरचनाहरुको क्षतिको सर्भेका लागि उनी त्यहाँ पुगेका थिए । र त्यही क्रममा उनी कञ्चनपुरको दोधरा चाँदनीसम्म पुगेका थिए ।
डिएस कम्पनीका सञ्चालक देवेन्द्र श्रेष्ठ सिमिजु कम्पनीमा आवद्ध थिए । उनले त्रिभुवन बिमानस्थलमा सिमिजु कम्पनीका तर्फबाट काम गरेका थिए । तिनै श्रेष्ठ मार्फत उनी काठमाण्डौबाट ईन्डोनेशियाको पडाङ बिमानस्थलको निर्माणमा जुनियर लेवलमा काम गर्न गए ।

त्यहाँ उनले जनवरी २००४ देखि २००५ देखि जुलाई २००५ सम्म काम गरे । त्यसपछि उनले ब्रिटिस पेट्रोलियम(बीपी) को परियोजना काम गरे । ईन्डोनेशियाकै पपुवाको ताङगु एलएनजी परियोजनामा चार वर्ष कन्ट्रयाक्ट म्यानेजरको पदमा काम गरे । उनी एक अर्को परियोजना पुरा भएपछि अर्को काम पाईहाल्थे । एलएनजीको जिम्मेवारी पुरा गरेपछि उनी पुगे, जकार्ता । जहाँ, उनले सडक, पुलका ठूला परियोजनामा काम गर्ने अवसर पाए । जकार्तापछि उनी सुलावेशीमा डिएसएलएनजी परियोजनामा काम शुरु गरे । जहाँ उनले २१ महिना काम गरे ।

त्यसपछि भने उनले सिमिजु कम्पनीबाट स्थायी नियुक्ति पाए । अस्थायी हुदा उनले परियोजनाका आधारमा एक वर्षका लागि नियुक्ति पाउथे । र त्यो हरेक वर्ष थपिदै जान्थ्यो । सिमिजु कम्पनीले जकार्तामा भूमिगत मेट्रोको ठेक्का पाएपछि उनी मास रपिड ट्रान्जिट(एमआरटी) मा जिम्मेवारी पाए । उनको पद थियो, कन्ट्रयाक्ट म्यानेजर । उनले त्यहाँ प्रशासनिक काम हेर्थे । २०० मिलियन अमेरिकन डलरको यो परियोजनामा ७०० सव कन्ट्रयाक्टर थिए ।

८ वटा परियोजना मार्फत भएको यो परियोजनाको कुल लागत एक दशमलव ६७ बिलियन डलर (२ खर्ब नेपाली रुपैया) थियो ।
नेपालमा मेट्रो रेलको चर्चा शुरु भएसंगै जाकार्तामा निर्माण थालिएको मेट्रोको काम सम्पन्न भएर सञ्चालनमा आईसकेको छ । २०१३ अगष्टमा शुरु भएको यो परियोजना निर्धारित समयभन्दा करीव ६ महिनापछि मार्च २०१९ मा सम्पन्न भयो । जसको उद्घाटन मार्च २४ तारेखमा राष्ट्रपति जोको वीडोडोले गरेका थिए । उनले यहाँको सम्पूर्ण काम सके २६ मार्चमा । २८ मार्चदेखि सिमिजुले उनलाई नयाँ जिम्मेवारी सहित नयाँ ठाउमा खटायो । संसारका १८ वटा देशमा शाखा कार्यालय रहेको सिमिजु २१६ वर्ष लामो ईतिहास भएको विश्वकै प्रतिष्ठित निर्माण कम्पनी हो । त्यही कम्पनीका उनी स्थायी कर्मचारी हुन् ।

उनी यतिबेला उत्तरी सुमात्रा द्धिपमा १७२ वाटको जलविद्युत आयोजना निर्माणमा कन्ट्रयाक्ट म्यानेजरका रुपमा कार्यरत छन् ।
नेपालमा जन्मिए । उच्चाकोट, धनगढी र काठमाण्डौंमा पढे । ईञ्जिनियरिङको पढाई भारतको मद्रासबाट पुरा गरे । उनको कर्मथलो भने ईन्डोनेशिया बन्न पुग्यो । २०५५ सालमा पुनम पन्तसंग मागी बिबाह गरेका पन्तका दुई छोरी छन् । कान्छी छोरी ८ कक्षा पढ्छिन । र जेठी छोरीले प्लस टु सकिन । उनी जहाँ जहाँ खटिन्छन । उनको परिवारको पनि त्यही बसाई सराई हुन्छ ।
जलविद्युत आयोजना र भूमिगत मेट्रो रेल निर्माणमा दख्खल राख्ने ईञ्जिनियर पन्त आफ्नो अनुभव र दक्षतालाई नेपालको विकासमा प्रयोग गर्न चाहन्छन । तर उनको क्षमता र अनुभवलाई नेपालले भने चिन्न सकेको छैन ।

काठमाण्डौंमा भूमिगत मेट्रोको संभावना
काठमाण्डौंमा मेट्रो चलाउने गफ चलिरहदा उनलाई उदेक लाग्छ । जार्कार्तामा भूमिगत मेट्रोको निर्माण सफलतापूर्वक सम्पन्न गरेको अनुभव बोकेका पन्त काठमाण्डौंमा भूमिगत मेट्रोको निर्माण अझै सहज देख्छन् । नेपालमा पनि भूमिगत रेलमार्ग बनाउन संभव छ । एक करोड जनसंख्या रहेको जार्कातामा दुई करोडभन्दा बढि गाडी छन् । र जकार्ताको जाम विश्वमै कुख्यात मानिन्छ । मान्छे गाडीमा भन्दा पैदल यात्रा गरे गन्तव्यमा चाँडो पुग्छन् । मेट्रोको सञ्चालनले जाकार्ताको जाम व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ ।

पहिलो चरणमा सम्पन्न जाकार्ताको मेट्रो रेलको १५ दशमलव ५ किमी लामो हिस्सामा ६ किमी भूमिगत रेलमार्ग छ । भूमिगत रेलमार्गको नक्सांकनदेखि सुरुङ निर्माणसम्म खटिएका उनका नजरमा भूमिगत रेलमार्गको निर्माण कठिन काम थियो । भूकम्पीय उच्च जोखिममा रहेको जाकार्ता पुरानो शहर हो । जमिन मुनी ढल,पाईप र तारहरु थिए । तिनलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । जसकारण निर्माणमा केही ढिलाई पनि भयो । तर उनको टीमले निर्माण कार्य भने पुरा गरी छाडे ।

उनी काठमाण्डौंमा जाकार्ताको तुलनामा भूमिगत रेलमार्ग बनाउन निकै सहज हुने ठान्छन । अझ काठमाण्डौंमा भूमिगत भन्दा जमीन माथि रेल मार्ग निर्माण गरे सस्तो र सजिलो हुने बताउछन् । भूमिगत मेट्रो निर्माणमा प्रति किलो मिटर नौ करोड अमेरिकी डलर खर्च भएको जाकार्तामा जमिनमाथि रेलमार्ग निर्माणमा प्रति किलोमिटर करीव दुई करोड डलर कम लागेको थियो ।

पहिलो चरणमा १५ दशमलव ५ किमी मेट्रोरेल निर्माण गरिएको जाकार्तामा दोस्रो चरणमा ८ किलोमिटर लामो अर्को खण्डको सन २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य छ । दुबैको कुल लागत २.६ अर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

स्व.प्रधानमन्त्री कोईरालाको मेट्रो रेलको सपना
तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला जाकार्तामा कार्यक्रममा सहभागी हुन गएका थिए । त्यहाँ रहेका नेपालीहरु उनलाई भेट्न गए । भेटघाटका क्रममा प्रधानमन्त्री कोईरालाले नेपालीहरुका समस्या सोधे । उनी त्यतिबेला चकित परे । जव उनले कुराकानीकै क्रममा नेपाली ईञ्जिनियरको संलग्नतामा जाकार्तामा मेट्रो रेलको निर्माण भईरहेको जानकारी पाए ।

प्रधानमन्त्री कोईरालाले जिज्ञासा राखे–तपाईहरु सुरुङ कसरी खन्नुहुन्छ ? उनले अर्को प्रश्न गरे–सुरुङलाई कसरी सुरक्षित बनाउनुहुन्छ ? के ले सुरक्षा दिनुहन्छ ? प्रधानमन्त्री कोईरालाको प्रश्न यत्तिमै रोकिएन । उनले अर्को प्रश्न गरे–सुरुङ भित्र ह्युमपाईप कसरी राख्नुहुन्छ ? ईञ्जिनियर पन्तले प्रधानमन्त्रीका सबै प्रश्नको जवाफ चित्त बुझ्ने गरी दिए ।

रेल स्टेशन अर्थात बिसौनी बनाउने ठाउँमा सयदेखि दुई सयमिटर खन्नुपर्ने हुन्छ । अन्य स्थानमा भने सुरुङ खन्ने बोरिङ मेशिनले भित्रभित्रै खन्दै जान्छ । त्यसले बस्तीहरुलाई कुनै असर गर्दैन । जहाँ बिसौनी बनाउने हो, त्यहीबाट सुरुङखन्ने मेशिन छिराईन्छ । र त्यसले भित्रभित्रै सुरुङ खन्दै जान्छ । किराले भित्रभित्रै काठ खाए जस्तै गरी ।

नदी भित्र पनि सुरुङ छ । पन्तले भने्, यो सबै काम मेशिनले गर्ने हो । पन्तको कुरा सुनेपछि प्रधानमन्त्री कोईराला निकै खुशी भए । उनले नेपालमा पनि मेट्रोरेल बनाउने र त्यसका लागि पन्तलाई नेपाल आउन आग्रह गरे । संबिधान बनेपनि निर्माण भएपछि विकासले गति लिने बताएका प्रधानमन्त्री कोईरालाले मुलुकलाई संबिधान त दिए । तर त्यसलगत्तै कोईरालाको मृत्यु भयो । त्यसपछि न पन्तलाई कसैले सम्झे । न उनको नेपाल आउने कुनै बहाना बन्यो ।

मेट्रो रेल र जोको वीडोडो
कुनै बेला ईन्डोनेशियाको सोलो शहर अपराधको राजधानीका नामले कुख्यात थियो । त्यही शहरका मेयर भए, जोको वीडोडो ।
सबैभन्दा ठूलो ईच्छाशक्ति हो । उनको ईच्छाशक्ति र कामले सोलो शहरको परिचय फेरियो । त्यही अपराधको राजधानीलाई उनले सांस्कृतिक शहरमा रुपान्तरण गरिदिए । सन २००८–०९ मै यो शहरको परिचय फेरियो । मेगावती सुकार्नो पुत्री(पीडीआई) ले जो कोलाई जाकार्ताको गभर्नरमा उठाईन । उनले चुनाव जिते ।

चुनाव जितेपछि उनले मेट्रो रेल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरे । २०१२ मा मेट्रो रेल निर्माण गर्ने सम्झौता भयो । मेट्रो रेलको टनेल शुरु गर्दा जो को वीडोडो ईन्डोनेशियाको राष्ट्रपति भईसकेका थिए ।

उनले मेट्रो रेलको भाडा बढि तोकिएको भन्दै ६ महिना निर्माण कार्य रोकिदिए । त्यतिबेला मेट्रो रेलको भाडा ३५००० रुपैया( तीन सय नेपाली रुपैया) निर्धारण गरिएको थियो । पछि भाडा कम गर्ने निर्णय गरियो । र ८००० मा झारियो । त्यसपछि मात्र उनले निर्माण कार्य सुचारु गर्न लगाए । सर्बसाधारणको सुबिधाका लागि बनाउन लागिएको मेट्रो रेलमा त्यो वर्ग चढ्नै नसक्ने गरी भाडा तोक्नु गलत हुने उनको बुझाई थियो ।

रेल निर्माणको मोडेल
ईण्डोनिशयाको एउटा प्रदेश हो, राजधानी जकार्ता । यो प्रदेश अन्तर्गत पाँच वटा नगर छन् । र पाँच वटा मेयर । मेट्रो रेल निर्माण जकार्ता प्रदेशको आफ्नो परियोजना हो । यो परियाजनामा जाकार्ता प्रदेशको ९९ प्रतिशत र १ प्रतिशत पसाका कम्पनीको लगानी छ । बिगतमा १५ किलोमिटर दूरी पार गर्न कम्तिमा दुई घण्टा लाग्ने जाकार्तामा मेट्रो रेल निर्माणले त्यही दूरी २० मिनेटमा तय हुन्छ । महाकवि देवकोटाले भनिदिए, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । यो त नसिकने कुरा हो भनेर पहिले हरेक खानेहरुका लागि सानो काम पनि ठूलो लाग्न सक्छ । असंभव लाग्न सक्छ ।

चन्द्रमा त प्रतिकको पो हो । निरन्तर संघर्षले त मान्छे त्योभन्दा पनि उचाई हासिल गर्छ । चन्द्रमा कति टाढा छ, त्यसले कुनै अर्थ राख्दैन, जव मान्छेको सोच ठूलो हुन्छ । पन्त भने चन्द्र छुने उद्देश्य लिएर निरन्तर कर्म गरिरहेका छन् । गीतामा कृष्णले भनेका छन्, कर्म गर । फलको आशा नगर । यसको अर्थ फलको आशा नगरी कर्म गर भन्न खोजेको होईन, पन्त भन्छन्, कर्म गरेपछि एकदिन त्यसको फल प्राप्त हुन्छ । हुन्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार