चराहरूले छोडेर गएपछि एउटा रुख मेरो देश बन्छ


चराहरूले छोडेर गएपछि एउटा रुख
मेरो देश बन्छ
बसन्तको आगमन हुँदैन
वरिपरि रङ्ग उडेका पहाड उभिन आउँछन्
उड्छ हावा चिहानडाँडाको विरक्ती सुसेल्दै
टुप्पो टुप्पोमा रित्तोपन बस्छ
काँधमा घामका भारी खुट्टाले टेक्छन्
ओढ्दै निराशाको पछ्यौरी
लम्पसार पल्टिदिन्छन् दिनहरू ।

चराहरूले छोडेर गएपछि एउटा रुख
मेरो देश बन्छ
एक्लो एक्लो झोक्रयाइरहन्छ
बर्षात् नरमाइलो सुकसुकाउँदै झर्छ
यहाँ वहाँ सुनसान बगरसित मितेरी गाँस्दै
भित्रभित्रै गहिरो बग्छ पीडाको नदी
हाँगा हाँगामा पतझड आएर झुन्डिन्छ
पात पातमा गीतहरू मर्छन्
कि गीतका कारखानामा रमाउने चराचुरुङ्गी
उडी जान्छन् टाढा टाढाको परदेस ।

चराहरूले छोडेर गएपछि एउटा रुख
मेरो देश बन्छ ।

@चन्द्र गुरुङ
मानामा, बहराईन

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार