पुडासैनी आत्महत्या प्रकरण : अदालतले उठाएको ४ प्रश्न

काठमाडौं ।

पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटे । अर्का अभियुक्त युवराज कँडेल ३ लाख र अस्मिता भनिने रुकु कार्की साधारण तारेखमा छुटे । तर, मुद्दा अझै टुंगिएको छैन । धरौटीमा छुटेका रवि ‘धन्यवाद सभा’ तिर लागेका छन् ।

जिल्ला अदालत चितवनको १४ पृष्ठको आदेशले यो प्रकरणमा केही प्रश्न उब्जाएको मात्र छैन, आत्महत्या दुरुत्साहनबारे नयाँ बहसको सुरुवात गरेको छ ।

१. आत्महत्या दुरुत्साहन के हो ?

फैसला अनुसार आत्महत्या वा कर्तव्य के हो भन्नेबारे सर्वोच्च अदालतबाट नजिरहरु स्थापित भएका छन् । तर, मुलुकी अपराध संहिताको दफा १८५ ले व्यवस्था गरेको आत्महत्या गर्न दुरुत्साहन दिने कार्य पनि अपराध मानिने नयाँ व्यवस्थापछि यस्ता मुद्दामा सर्वोच्चबाट कुनै नजिर स्थापित भएको छैन ।

त्यसैले अदालतको आदेशमा भारत, बेलायत, अमेरिका लगायतका देशको न्यायिक अभ्यासको चर्चा गरिएको छ । र, भनिएको छ, अरु कसैका कारण वा व्यवहारले कुनै व्यक्तिको जीवनमा बाँच्ने सबै सम्भावनाहरु सकिएको महसुस गरी आत्महत्या गर्ने अन्तिम निर्णयमा पुगेको अवस्थामा त्यस्तो व्यक्ति मर्नुभन्दा लगतै पहिले व्यक्त गरेको मृत्युसम्बन्धी भनाइ मात्र ‘सत्यका लागि कुनै अदालतमा सप लिएर बोलिएको सत्य कथन कम सत्य हुँदैन भन्ने मान्यता’का आधारमा dying declaration (मृत्युकालीन घोषणा) भन्ने विश्वासका रुपमा प्रमाण मान्न सकिने बताएको छ ।

२. पुडासैनीको भिडियो मृत्युकालीन घोषणा हो कि हैन ?

पुडासैनी प्रकरणमा प्रहरीले मुख्य प्रमाणका रुपमा उनको मोबाइलमा भेटिएको भिडियोलाई प्रस्तुत गरेको छ, जसमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पोलिएको थियो ।

तर, अदालत अहिले नै यो भिडियो पुडासैनीको dying declaration हो भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।

भिडियो रेकर्ड गर्दा पुडासैनी भित्री वस्त्रमा देखिएका थिए भने पाइन्ट शर्ट लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसैले भिडियोमा व्यक्त गरेको भनाइ नै Words before death of dying person थियो कि थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरेको समय र आत्महत्या गरी देहत्याग गरेको समय थाहा हुनुपर्ने भन्दै जिल्ला अदालतको आदेशमा भनिएको छ, जुन अनुसन्धानका क्रममा गरिएको शव परीक्षणको प्रतिवेदनमा उल्लेख भएको देखिँदैन ।’

यति मात्र होइन, अदालतले भिडियो अरु कसैले खिचेको हुन सक्ने अनुमानसमेत गरेको छ । पुडासैनीले भिडियोको अन्त्यमा दुबै हात जोडेर नमस्कार गरेकाले आफैंले सेल्फी खिचेको होइन भन्ने यकिन भएको र घटनास्थलको मुचुल्कामा मोबाइल कोठाको उपयुक्त उचाइको स्थानमा रेकर्ड मोडमा राखेर खिचेको भन्ने उल्लेख नभएको भन्दै आदेशमा भनिएको छ, यो भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा रेकर्ड गरेको अवस्था देखिन्छ ।’

साथै भिडियो रेकर्ड गर्ने व्यक्तिले पुडासैनीलाई आत्महत्याबाट रोक्न प्रयास गरेको नदेखिएको भन्दै अदालतले भिडियो रेकर्ड लगतै आत्महत्या गरेको नदेखिएको बताएको छ । त्यसैले कुन समयमा भिडियो रेकर्ड भएको हो र कति पछि झुण्डिएर आत्महत्या गरेका हुन् भन्ने यकिन नभई भिडियो मृत्युकालीन घोषणा हो वा होइन भनेर यकिन गर्न नसकिने आदेशमा उल्लेख छ ।

पुडासैनीको मृत्युकालीन घोषणा हो कि होइन भनेर जान्नका लागि अब भिडियो एकमात्र प्रमाण नमानिने र अन्य प्रमाणहरु पनि हेर्नुपर्ने मान्यता अदालतले अगाडि सारेको देखिन्छ ।

अदालतले भिडियो फरेन्सिक परीक्षण गर्ने विशेषज्ञ र शव परीक्षण गर्ने विज्ञलाई विशेषज्ञ प्रमाणको रुपमा थप परीक्षण गर्ने भएको छ । यसका लागि पुडासैनीको शव परीक्षण गर्ने शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. मणि महर्जन र डा. विभूति शर्मालाई बकपत्र गराइने भएको छ ।

यस्तै भिडियोको फोरेन्सिक परीक्षण गर्ने नेपाल प्रहरीको केन्द्रीय परीक्षण प्रयोगशालाका विशेषज्ञलाई पनि वकपत्र गराइनेछ । यसपछि मात्र पुडासैनीको भिडियो मृत्युकालीन घोषणा हो वो होइन भनेर अदालतले यकीन गर्नेछ ।

३. दबाव र तनावको कारण हो त ?

भिडियोमा पुडासैनीले तीनैजनामाथि आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदा तलब नदिएकादेखि आफूलाई मानसिक यातना दिएको पनि दाबी गरेका थिए । प्रहरीले मृतक र आरोपितहरुबीच पटक–पटक फोन सम्वाद भएको देखिएको तर्क पनि गरेको थियो ।

तर, अदालतले लामिछाने, कँडेल र मृतक पुडासैनी एउटै टेलिभिजनमा काम गरेको र कार्की प्रेम सम्बन्धमा रहेकाले उनीहरुबीच पटक पटक फोन सम्पर्क हुनुलाई स्वभाविक मानेको छ ।

फोनमा सम्वाद हुँदा कुनै धम्की वा दबाव दिएको भ्वाइस रेकर्ड वपन नभएकाले अबान्छित सम्वाद भएको र त्यही कारण पुडासैनीले आत्महत्या गरेको होला भन्ने अनुमान गर्न अस्वीकार गरेको छ ।

जहाँसम्म न्यूनतम तलब लगायतको विषय छ, पुडासैनीले दुई महिनादेखि अलग्गै काम गर्न थालेको र पुरानो पारिश्रमिक दिनुपर्ने बाँकी नदेखिएकाले आर्थिक निर्भरता र त्यसको तनाव लामिछाने, कँडेल र कार्कीसँग सम्बन्धित नभएको अदालतको ठहर छ ।

४. उसोभए धरौटी किन लिइयो ?

यदि पुडासैनीको भिडियो मृत्युकालीन घोषणा हो भन्ने यकीन भइसकेको छैन र धम्की वा दबाव दिएको कुनै प्रमाण छैन भने अदालतले लामिछाने र कँडेललाई किन साधारण तारेखमा छाडेन वा किन धरौटी लियो त ? यो प्रश्न धेरैको छ ।

यसमा अदालतले कुनै समय सँगै काम गरेका पुडासैनीले अलग भएर अर्को टेलिभिजनमा कार्यक्रम सुरु गरेकाले लामिछाने र कँडेलले पूर्वाग्रह वा प्रतिसोध वा अस्वस्थ प्रतिस्पर्धा थिएन भन्ने मान्न अस्वीकार गरेको छ । साथै मृतक र अस्मिता कार्कीको विवाहेत्तर सम्बन्धलाई दिएर कार्यक्रम सार्वजनिक गर्ने धम्की वा त्रास देखाएनन् र धम्की दिएको भए पनि त्यो आत्महत्या गर्न दुस्प्रेरित गर्ने तहसम्म थिएन भन्ने निष्कर्षमा पुग्न अस्वीकार गरेको छ ।

साथै पुडासैनीको भिडियो बाह्य व्यक्तिको पहुँचमा पुगेर बाहिरिएकाले त्यसको विश्वसनीयतिामा शंका उठ्नु स्वभाविक भएकाले थप विशेषज्ञ परीक्षण गर्नुपर्ने अदालतको ठहर छ ।

यो सबै हेर्दा अदालत अहिले नै पुडासैनीको आत्महत्यामा अभियुक्तहरुको भूमिका थियो वा थिएन भन्ने कुनै निर्णयमा पुग्नु अगाडि थप प्रष्ट हुन चाहेको देखिन्छ ।

अनुसन्धान अधिकृतको तर्क

भिडियो र यससँग जोडिएका विषयमा अदालतले उठाएका तीन वटा प्रश्नमा अनुसन्धान अधिकृत भने सार्वजनिक रुपमा टिप्पणी गर्न चाहँदैनन् ।

तर नाम उल्लेख नगर्ने सर्तमा एक अनुसन्धान अधिृकतले बताएअनुसार तीनैवटा प्रश्नको जवाफ अनुसन्धान प्रतिवेदनमै उल्लेख छ । उनले भने, ‘हाम्रो अनुसन्धान प्रतिवेदन ४/५ सय पृष्ठको छ, सायद सबै अध्ययन नभएकाले पनि हुन सक्छ ।’

पहिलो : भिडियो खिचिएको समय र देहत्यागको समय । पुडासैनीले आत्महत्या गर्नुभन्दा ३० देखि ३५ मिनेटअघि भिडियो खिचेको हुन सक्ने अनुसन्धानबाट खुलेको छ ।

दोस्रो : भिडियो कसले खिच्यो ? अदालतले पुडासैनीको भिडियो अरु कसैले खिचेको हुन सक्ने निष्कर्ष निकालेको छ । तर अनुसन्धान अधिकृतहरुले भने त्यसलाई अस्वीकार गरे । ‘त्यो भिडियो अरुले खिचेका होइनन्, कोठामा भएको टेबलमा मोबाइल राखेर पुडासैनी आफैंले खिचेको हाम्रो मिसिलमा उल्लेख गरिएको छ’ एक अनुसन्धान अधिकृत भन्छन् ।

तेस्रो : पुडासैनीको शरीरमा देखिएको घाउचोट । अदालतले आदेशमा पुडासैनीको शवमा घाउचोट देखिएको तर त्यसको कारण प्रष्ट नभएको बताएको छ ।

तर, मिसिलमा भने मृतकका परिवारको वयानमा नै केही समय पहिले सवारी दुर्घटनामा पर्दा घाउ लागेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतका अनुसार १६ माघमा पुडासैनी दुर्घटनामा परेका थिए ।

त्यसबेला उनले फेसबुकमा अपलोड गरेको विषय पनि मिसिलमा संलग्न गरिएको थियो । ‘हामीले डिजिटल फरेन्सिक ल्याब (डीएफएल) बाट प्राप्त रिपोर्ट पनि संलग्न गराएका थियौं’, उनले भने ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार